Headlineबिशेषराजनिति

राप्रपाको काठमाडौँ क्षेत्र नम्बर–१ मा उम्मेदवार चयन विवाद

युवा मोर्चा दोलखाले दियाे विद्रोहको चेतावनी

काठमाडाैं – निर्वाचन आयाेगले दिएकाे उम्मेदवार दर्ताकाे समय लगभग सकिने अवस्था आइपुग्दा पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र उम्मेदवार चयन प्रक्रियामा देखिएको विवाद झन्झन् चुलिंदै गएकाे छ ।

गत एक महिना पहिले नै काठमाडौँ क्षेत्र नम्बर–१ को क्षेत्रीय निर्वाचन समितिले पशुपति शम्शेर राणालाई पहिलो र शोभित उप्रेतीलाई दोस्रो नम्बरमा प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको थियो। तर राणाले उम्मेदवार नबन्ने घोषणा गरेपछि स्वतः उप्रेती उम्मेदवार बन्नुपर्ने धारणा स्थानीय बुद्धिजीवी, सामाजिक र राजनीतिक विश्लेषकहरूको रहेकाे छ।

तर अस्तिकाे (माघ २ गते) शुक्रबार बसेको राप्रपा संसदीय समितिको बैठकले बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई उम्मेदवार बनाउने निर्णय गरेपछि असन्तोष चुलिएको छ। यसै निर्णयप्रति असन्तुष्ट जनाउँदै युवा मोर्चा दोलखाका अध्यक्ष एवम् राप्रपा दोलखाको शैलुङ गाउँपालिका कमिटी अध्यक्ष नवराज खड्का (राजाभाइ)ले विद्रोहको चेतावनी दिएका छन्।

के भन्छन् नवराज खड्का- “बरिष्ठ उपाध्यक्ष मिश्रले आफुखुशी बैठक राखेर आफ्नो नाम सिफारिस गरेका छन्, जुन आधिकारिक होइन। त्यसैले क्षेत्रीय निर्वाचन समितिले आधिकारिक रूपमा सिफारिस गरेको सह–कोषाध्यक्ष शोभित उप्रेतीलाई उम्मेदवार बनाउनुपर्छ।”

राप्रपा दोलखाको शैलुङ गाउँपालिका कमिटी अध्यक्ष नवराज खड्का (राजाभाइ)

खड्काले थपे, “यदि आइतवार हुने भनिएको बैठकले उप्रेतीलाई उम्मेदवार बनाउने निर्णय नगरे, दोलखा मात्र होइन, देशका धेरै जिल्लाबाट पार्टी र युवा मोर्चाका नेताहरू विद्रोहमा उत्रिनेछन्।”

युवा मोर्चा दोलखाले स्पष्ट रूपमा पार्टी नेतृत्वलाई चेतावनी दिएको छ कि स्थानीय समितिको सिफारिसलाई बेवास्ता गरिए विद्रोह अपरिहार्य हुनेछ। खड्काले उप्रेतीलाई उम्मेदवार बनाउनुपर्ने मागलाई जनभावनासँग जोडिएको भन्दै, पार्टी नेतृत्वले जनताको आवाजलाई सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

आइतवारको बैठकलाई निर्णायक मानिएको छ। यस बैठकमा उप्रेतीलाई उम्मेदवार घोषणा नगरे विद्रोह औपचारिक रूपमा सुरु हुने संकेत खड्काले दिएका छन्। उनकाे धारणामा शोभित उप्रेतीको पहुँच सीमित समाजमा मात्र नभएर सिङ्गाे जिल्लाकाे हितका लागि सदैव तत्पर रहने हुँदा दोलखा–सिन्धुपाल्चोकका मतदातामाझ उनको नाम बढी स्वीकार्य देखिन्छ। उप्रेतीले धार्मिक, सामाजिक, सांस्कृतिक गतिविधिमा सक्रियता देखाएका छन्। वैदेशिक सम्बन्धमार्फत गाउँठाउँमा सहयोग पुर्‍याउने उनको शैलीले स्थानीय बासिन्दामाझ विश्वास र लोकप्रियता बढाएको छ।

रविन्द्र मिश्रकाे पृष्ठभूमि हेएदा विगतमा दुई पटक निर्वाचनमा पराजय भोगिसकेका कारण मतदातामाझ विश्वासको संकट छ भन्ने क्षेत्र नं. १ बासिन्दाहरूकाे रहेकाे छ । उनी एकजमानामा अर्को पार्टीमा रहेर पछि राप्रपामा प्रवेश गरेका कारण पनि कतिपय मतदाताकाे पार्टीभित्र र बाहिर दुवैमा सन्देह र असन्तोष बढाएको देखिन्छ।

यसरी राप्रपाभित्र उम्मेदवार चयन प्रक्रियामा देखिएको विवादले पार्टीको आन्तरिक लोकतन्त्र र संगठनात्मक एकतालाई गम्भीर चुनौती दिएको छ। दोलखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा शोभित उप्रेतीको लोकप्रियता र पहुँचलाई आधार मानेर स्थानीय नेताहरूले उनलाई उम्मेदवार बनाउनुपर्ने माग गर्दैछन्। अब आइतवारको बैठकले के निर्णय गर्छ भन्ने कुराले राप्रपाको भविष्यको दिशा तय गर्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button