Headlineराजनितिविचार

भरतपुरको भरोसा मानिएकी रेणु दाहालले केन्द्र ताक्नु उचित कि अनुचित ?

भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल आज नगरवासीका लागि केवल निर्वाचित प्रतिनिधि मात्र होइनन्, उनी स्थायी विकास नेतृको प्रतीकका रूपमा स्थापित भएकी छन्। उनको इमान्दारी र पारदर्शिताबारे चर्चा नगरवासी मात्र होइन, उनका पिता प्रचण्डले समेत गर्व व्यक्त गरेका छन्। तर यही अभिव्यक्ति विपक्षीका लागि असहज बन्न सक्छ। अब प्रश्न उठ्छ—के रेणुलाई केन्द्रमा उम्मेदवार बनाउने रणनीति उपयुक्त हुन्छ? स्थानीय निकायमा जनतासँग प्रत्यक्ष सम्पर्क र निश्चित कार्यकाल हुन्छ, तर केन्द्रमा अस्थिरता हावी हुन्छ। अधुरा काम छाडेर केन्द्रमा जाने निर्णयले जनतामा निराशा ल्याउन सक्छ। त्यसैले, रेणु दाहाललाई नगरकै ‘स्थायी विकास नेतृ’को रूपमा देख्ने जनताको चाहना अझै बलियो छ।

फागुन २१ आउन मात्र ४७ दिन बाँकी छ । उम्मेदवार मनाेनयनकाे टुंगाे लाउन यही माघ ६ गतेसम्मकाे समयावधि निर्वाचन आयाेगले ताेकेकाे छ । जुन अब मात्र ६० घण्टा बाँकी रहेकाे छ । यही चुनावकाे सिलसिलामा पूर्वका पश्चिमतिर र दक्षिणका उत्तरतिर हानिंदै उम्मेदवार दर्ता गर्ने र खाइपाइरहेका पदकाे तिलाञ्जलि दिंदै राजिनामा दिने लहड चलिरहेकाे छ ।

यतिबेला चुनावमा भाग लिएर विगतमा डाँवाडाेल भएका व्यवस्थापिकालाई उकास्न बहुमत बनाउने रस्साकस्सीमा नयाँ र पुराना राजनीतिक दलहरू तँछाड्मछाड् गरिरहेका छन् । अझ काेही काेही त मनैदेखि रिस उठ्ने, मा नपर्नेलाई हराउन शकुनीकाे पासा फ्याँक्दै नक्कली काैरव खडा गर्दैछन् भने काेही कलियुगकाे कृष्ण जन्माउँदै अलिकति बचेकाे लाज छाेप्न अग्रसर भइरहेका छन् । यस्ताे बेलामा स्थानीयस्तरमा लाेकप्रिय भइरहेका व्यक्ति पनि चुनावी मैदानमा उत्रिंदैछन् र उतारिंदैछन् । जसकाे परिणामले कुन गति लिने हुन् त्याे भने हेर्न बाँकी छ ।

आजकाे चर्चामा भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालः रेणु दाहाल आज भरतपुरका नगरवासीका लागि केवल एक निर्वाचित प्रतिनिधि मात्र होइनन्, उनी स्थायी विकास नेतृको प्रतीकका रूपमा स्थापित भएकी छन् जसकाे गुनासाे भन्दा बढी श्याबासी नै पाएकाे देखिन्छ । भरतपुरका नगरवासीले उनलाई पटक–पटक भारी मत दिएर विजयी गराउनु, स्थानीय स्तरमा उनको लोकप्रियता र विश्वासको प्रमाण हो।

उनको इमान्दारी र पारदर्शिताबारे चर्चा नगरवासी मात्र होइन, उनका पिता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत सार्वजनिक रूपमा गर्व व्यक्त गरेका छन्। प्रचण्डले एक पत्रकारकाे प्रश्नकाे जवाफ दिंदै भनेका थिए- “रेणुले कसरी इमान्दारीपूर्वक काम गरेकी होलिन्, कतै केही हिसाबमा हिनामिना गरेको सुन्न नपाउँदा म त छक्क परेको छु।” यस अभिव्यक्तिले छोरीप्रति गर्व मात्र होइन, अप्रत्यक्ष रूपमा आफ्नै राजनीतिक जीवनसँग तुलना गर्ने संकेत पनि दिन्छ। तर उनकाे भनाइ स्वपक्षका लागि सकारात्मक भएपनि विपक्षीका लागि भने अँध्याराेमा हानिएकाे तीर जस्तै हुनसक्छ । जुन तीरले कुन दिशामा कसकाे केमा लाग्ने हाे हेक्का राख्न सायद मुश्किल नै हाेला । अर्थात् प्रचण्डकाे भनाइले उनी स्वयंमा छाेरीकाे जत्ति पनि इमान्दारी छवि रहेनछ भनेर मूल्यांकन गर्नेहरू अलग्गै हाेलान् ।

अब प्रश्न उठ्छ- के रेणुलाई केन्द्रमा उम्मेदवार बनाउने रणनीति उपयुक्त हुन्छ ? स्थानीय निकायमा जनतासँग प्रत्यक्ष सम्पर्क हुन्छ, कार्यकाल निश्चित हुन्छ, र विकासका कामहरू देखिने हुन्छन्। केन्द्रीय राजनीति भने अस्थिर हुन्छ, किनकि संसदीय प्रणालीमा यदि साेच अनुरूपकाे बहुमत भएन भने सरकार आज टिक्छ, भोलि ढल्छ। यस्तो अवस्थामा नगरमा गरिरहेका र भइरहेका अधुरा काम छाडेर केन्द्रमा जाने निर्णयले जनतामा निराशा ल्याउन सक्छ।

तत्कालीन नेकपा माओवादीबाट विभिन्न कम्युनिष्ट घटकहरूकाे समन्वयमा स्थापित नेपाली कम्यूनिष्ट पार्टीका संयाेजक प्रचण्डकी छाेरी रेणु दाहालको बहालवाला लोकप्रियता प्रयोग गरेर पार्टीले मत त ल्याउन सक्ला, तर भरतपुरका जनताले अझै अधुरा विकास पूरा गर्ने अपेक्षा राखेका छन्। जुन कुरा सिङ्गाे निर्वाचन क्षेत्रका जनताले त्यसैगरी पत्याउलान् भन्ने के निश्चित छ र ! उनको राजनीतिक भविष्य स्थानीय विकासमा निरन्तरता दिने नेतृको रूपमा जति बलियो देखिन्छ त्यति सायद केन्द्रमा नहुन पनि सक्छ, पदकाे तह बढ्नुमा उनकाे सक्षमताकाे तारिफ त हाेला तर नगरमा पाएकाे हाैसला र उत्साह केन्द्रमा सम्भव नदेखिन पनि सक्छ ।

भरतपुरका जनताले रेणु दाहाललाई नगरकै “स्थायी विकास नेतृ”को रूपमा देख्न चाहेका छन् जस्ताे लाग्छ। अधुरा काम पूरा गर्ने अपेक्षा अझै बाँकी छ। त्यसैले, उनको स्थान केन्द्रमा भन्दा भरतपुरमै अझै अर्थपूर्ण र प्रभावकारी देखिन्छ। त्यसैले नेपाली कम्युनिष्ट पार्टीमा रेणु जत्तिकाे इमान्दार कर्तव्यनिष्ठ उम्मेदवार त्याे क्षेत्रमा अन्य कुनै छैनन् र !? भन्ने प्रश्न उठ्नु अस्वभाविक हाेइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button