
नेपाली काँग्रेस एकता कता ? निर्वाचन आयोग ? सर्वाेच्च अदालत ? या जनमत ??
काठमाडाैं – नेपाली कांग्रेसभित्र चुलिएको नेतृत्वको वैधानिकता विवाद संस्थापन पक्ष र विशेष महाधिवेशन पक्ष हुँदै आज नयाँ मोडमा पुगेको छ।
शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनको वैधानिकतालाई चुनौती दिँदै ८८५ जना महाधिवेशन प्रतिनिधिले आफ्नो हस्ताक्षर फिर्ता लिएको प्रमाण निर्वाचन आयोगमा पेश गरेको छ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली निर्वाचन आयोग पुगेको थियो। टोलीले प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई भेटी हस्ताक्षर फिर्ता गरिएको निवेदनसहित प्रमाण बुझाएको हो।
देउवा पक्षकाे यस कदमसँगै विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन भएको दाबी गर्ने गगन थापा पक्ष कानुनी र नैतिक दबाबमा परेको विश्लेषण गरिएको छ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन गरी नयाँ कार्यसमिति गठन गरिएको थियो। तर देउवा समूहले उक्त महाधिवेशन विधानसम्मत नभएको भन्दै निर्वाचन आयोगमा उजुरी दर्ता गरेको हो।
विशेष महाधिवेशनको प्रमाण नपुग्ने आधारमा हस्ताक्षर फिर्ताका प्रमाण आयोगमा बुझाएको कार्यवाहक सभापति खड्काले जानकारी दिएका छन्। अब के हुन्छ त ? कतै ‘भाइ फुटे गँवार लुटे‘ त हुने हाेइन ? याे प्रश्नले काँग्रेसी शुभचिन्तकहरू अन्याेलमा रहेका छन् ।