माघे सङ्क्रान्ति पर्वले सबैमा चेतना जगावस् !

विक्रम सम्वत् २०८२ माघ १ गते – ने.सं. ११४६ पाेेहेलागाक द्वादशी तिथि बिहिबार – जनवरी १५, २०२६ ।
विशेष सम्पादकीयः
आज माघे सङ्क्रान्ति। यो पर्व मगर समुदायमा ‘सकराटी’, नेवार समुदायमा ‘घ्यः चाकु संल्हू’, किरात समुदायमा ‘येले संवत् नयाँ वर्ष’, र थारू समुदायमा ‘माघी’का रूपमा मनाइन्छ। नाम फरक, शैली फरक, तर उद्देश्य एउटै छ, -प्राणी जगतको कल्याण र धरतीको संरक्षण।

तर राजनीति भने यस सांस्कृतिक चेतनाबाट टाढा देखिन्छ। नेताहरूले पर्वलाई केवल अनुष्ठानिक रूपमा मनाउने तर त्यसमा निहित पुस्तान्तरण, सामूहिकता र साझा ज्ञानलाई आत्मसात् नगर्ने प्रवृत्ति बढ्दै गएको छ। राजनीति चाडपर्व जस्तै सामूहिक सहभागिता र पुस्तान्तरणमा आधारित हुनुपर्ने हो, तर नेताहरू ‘एक्ला पुजारी’ जस्तै आफ्नै घेराभित्र सीमित रहन चाहन्छन्।

यसले नयाँ पुस्तालाई परम्पराको ज्ञान हासिल गर्ने अवसरबाट वञ्चित बनाउँछ, र संस्कृतिको निरन्तरता क्रमशः क्षीण हुँदै जान्छ। पर्वहरूले जस्तै राजनीति पनि सामूहिकता, विविधता र साझा उद्देश्यमा आधारित हुनुपर्छ। यसलाई आत्मसात् नगर्ने नेतृत्वले अन्ततः समाजलाई नै कमजोर बनाउँछ।
निष्कर्षमा, माघे सङ्क्रान्तिले हामीलाई देखाएको बाटो स्पष्ट छ- ”विविधता स्वीकार्ने, पुस्तान्तरणलाई सुनिश्चित गर्ने, र साझा उद्देश्यलाई नीतिगत सिद्धान्तमा उतार्ने। यही बाटोले मात्र राजनीति जनमुखी, समावेशी र दीर्घकालीन बन्न सक्छ।”
तस्बिर साैजन्यः गुगल संसार