सिन्धुलीको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरामध्ये चालकसहित ५जना पक्राउ अन्य केही फरार

सिन्धुली – बागमती प्रदेशकाे सिन्धुली जिल्लास्थित घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न केही लुटेरालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको छ । लुटेराहरूकाे वास्तविक पहिचानबारे बताइएकाे छैन ।
सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा मंगलबार साँझ करिब ७:४५ बजेतिर लुटराहरूले बैंकका कर्मचारीलाई बाँधेर, सुरक्षा गार्डको हात काटिदिएर करोडौं रकम लुटेर भागेका थिए ।

बैक लुटिएको खबर पाउनासाथ स्थानीयले चारैतर्फबाट घेरा हालेर सोही गाउँपालिकाको वडा नम्बर १, सुकाचुरीबाट ४ जनालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । साे लुटपाटमा ३ करोड ११ लाख रुपैयाँ लुटपाट भएको बताइएकाे छ ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाए अनुसार लुटिएको तीन करोड १० लाख ९५ हजार २ सय ८३ मध्ये एक करोड ८० लाख १० हजार ५०० प्रहरीले बरामद गरेको बताएको छ । लुटपाटमा प्रयोग गरिएको गाडीसहित चालकलाई नियन्त्रणमा लिइएको भए पनि अन्य केहि लुटेरा अझै फरार रहेका छन् ।
जिल्ला प्रहरी सिन्धुलीले फरार लुटेराहरूको खोजीमा तीव्र बनाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।