इरानमा सरकारविरुद्ध प्रदर्शन १३औं दिनमा जारी

तेहरान/एजेन्सी- पाैष २६
इरानमा बिग्रँदो अर्थतन्त्र र बढ्दो मुद्रास्फीतिका बीचमा खामेनी प्रशासनविरुद्ध जारी आन्दोलन शनिबार १३औं दिनमा प्रवेश गरेको छ। विरोध प्रदर्शन अब देशका सबै ३१ प्रान्तमा फैलिएको छ।
टाइम पत्रिकाले उद्धृत गरेको एक इरानी डाक्टरका अनुसार राजधानीका छ वटा अस्पतालमा कम्तिमा २१७ प्रदर्शनकारीको मृत्यु भएको रिपोर्ट गरिएको छ। मृत्यु हुनेमध्ये धेरैजसो सुरक्षा बलको गोलीबारीमा परेका थिए।
स्थानीय एक अस्पतालका डाक्टरले नाम नखुलाउने सर्तमा तथ्याङ्क सार्वजनिक गरेका भए पनि पत्रिकाले यी विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गरेको छैन।
आन्दोलनलाई दबाउन सरकारले कडा रवैया अपनाएको विश्लेषण भइरहेका बेला यस्तो आँकडा बाहिर आएको हो। यसैबीच, देशभर इन्टरनेट र फोन सेवाहरू लगभग पूर्ण रूपमा बन्द गरिएको छ। नेटब्लक्सका अनुसार राष्ट्रव्यापी इन्टरनेट बन्द २४ घण्टासम्म प्रभावकारी छ र कनेक्टिभिटी सामान्य स्तरको १ प्रतिशतमा सीमित छ।