स्वस्थानी व्रत कथाः साँखु शालिनदी र दाेलखा नगरीको सांस्कृतिक–धार्मिक महिमा

केही पत्यारिला केही अपत्यारिला तथ्य-बिम्बमा अल्झिएकाे स्वस्थानी व्रत कथा
भाेलिबाट लावण्य देश, शंखरापुर साँखुमा श्रीस्वस्थानी व्रत कथाकाे महिमा अनुसार शालीनदी मेला लाग्दैछ । भाेलिकाे प्रमरम्भिक चरणमा स्वस्थानी तथा शालीनदी व्यवस्थापन समितिद्वारा हेलिकाेप्टरबाट पुष्पवृष्टिका साथ स्वस्थानी व्रतकथाकाे साथमा शालीनदी मेलाकाे शुभारम्भ हुन गइरहेकाे जानकारी स्थानीय पत्रकारले दिएकाे छ ।
नेपालको धार्मिक जीवनमा स्वस्थानी व्रत कथाको स्थान अद्वितीय छ। यो व्रत केवल धार्मिक अनुष्ठान मात्र होइन, सामाजिक जीवन, सांस्कृतिक निरन्तरता र सामूहिक चेतनाको प्रतिबिम्ब हो। पाैष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म चल्ने यो व्रत देशका विभिन्न स्थानमा मनाइन्छ। तर यसको प्रमुख केन्द्र काठमाडौं उपत्यकाको साँखु शालिनदी र मध्यपूर्वी पहाडी जिल्ला दाेलखा नगरी हुन्। यी दुई स्थानमा व्रतको अभ्यास फरक–फरक शैलीमा भए पनि श्रद्धा, अनुशासन र सामूहिक भक्ति समान गहिराइमा प्रकट हुन्छ।
‘स्वस्थान’ अर्थात् आफू बसेको स्थानको देवी। आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो। उत्तरायण पछिको समय ध्यान–योग साधनाका लागि उपयुक्त मानिन्छ। त्यसैले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको समयलाई आत्म–सम्पर्कको अभ्यासका लागि उत्तम मानिन्छ।

स्कन्द पुराणमा स्वस्थानी देवीकाे स्वरूपलाई सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा आसन जमाएकी, चार हात भएकी देवी भनिएको छ। पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी स्वस्थानी हुन्। विधिपूर्वक व्रत गर्दा विछोड भएका जोडी पुनः मिल्छन्, रोग–ब्याध निवारण हुन्छ, इच्छाअनुसार पति वा पत्नी प्राप्त हुन्छ भन्ने विश्वास छ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेवलाई पति पाउन स्वस्थानी व्रत गरेको कथा, विछोडमा परेका नाग–नागिनीको पुनः मिलन, गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको र छोरा नवराज लावण्य साँखु क्षेत्रको राजा भएको कथा- यी कथाहरूले स्वस्थानी व्रतलाई धार्मिक मात्र नभई सामाजिक पुनर्मिलन र जीवन–आशाको प्रतीक बनाएकाे पाइन्छ ।
साँखु शालिनदीको व्रतः-
साँखु शालिनदी स्वस्थानी व्रतको केन्द्र हो। यहाँको अभ्यास कठोर अनुशासन, सामूहिक स्नान, नगर परिक्रमा र तीर्थयात्रासहित सम्पन्न हुन्छ। व्रतको प्रारम्भमा भक्तजनले शालिनदीको एक खण्डमा पानी रोकेर बनाइएको तलाउमा पालैपालो स्नान गर्छन्। यसलाई आत्मशुद्धि र व्रतको आरम्भिक संस्कार मानिन्छ।
यस परम्परामा रजस्वला महिलाको पनि सहभागिता रहेकाे हुन्छ अन्य व्रतमा निषेध भए पनि यहाँ महिलाले व्रत बस्न सक्छन्, तर मन्दिरभित्र बस्न निषेध छ। यसले स्वस्थानी व्रतको समावेशी स्वरूपलाई देखाउँछ।
सप्तमीकाे दिनमा अनुष्ठान अनुरुप पुरुष व्रतालु धोतीको भरमा शहरभरि लड्दै पल्टिँदै जान्छन्, महिलाहरू ‘माधव नारायण’ भन्दै जल छर्किँदै पछि लाग्छन्। यो श्रद्धा र अनुशासनको अद्वितीय प्रदर्शन हो। अन्य दिन व्रतालुहरू नाइके–नाइकेनीको नेतृत्वमा देवी–देवलहरूमा शिर निहुराउँदै माधव नारायणको नाम जप्दै नगर परिक्रमा गर्छन्।
भीम एकादशीकाे दिन भने यात्रा शहर नजिकैकाे शालिनदीबाट वज्रयोगिनी मन्दिरसम्म व्रतालुहरू माधव नारायणको नाम जप्दै यात्रा गर्छन्। स्वस्थानीसंग सम्बद्ध धार्मिक स्थलहरूकाे रूपमा शालिनदीमा स्वस्थानी धर्मग्रन्थमा वर्णित गाेमाको कुटी, चन्द्रावती लडेर कुष्ठ रोग लागेको ठाउँ, डोलेहरू पुल भत्केर लडेको ठाउँ आदि अंकित छन्। यी स्थानहरूले कथालाई भौगोलिक–ऐतिहासिक रूपले जीवित राख्छन्।
दाेलखा नगरीमा स्वस्थानी व्रतकथाकाे परम्पराः
बागमती प्रदेशकाे दाेलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. २स्थित दाेलखामा स्वस्थानी देविकाे व्रतको परम्परागत अभ्यास साँखु भन्दा फरक छ। यहाँ साँखुमा जस्तै महिनाभरि नै कठोर उपवास बस्ने चलन पछिल्ला वर्षमा घट्दै गएकाे छ । यहाँ माधव नारायणकाे नाम जप्दै सामूहिक भजनसहितकाेदेवी देवीस्थल परिक्रमा गर्ने परम्परा यथावत् रहेकाे छ । माघ शुक्ल पूर्णिमाकाे दिन सहधारा बोकेर बाजागाजा भजनकीर्तनका साथ देवी–देवालय परिक्रमा गर्ने परम्परा भने अब्बल रहेकाे छ।
माधव नारायणकाे भजन परम्परा अत्नर्गत दाेलखा शहरकाे पश्चिमी दिशामा रहेकाे गणेश मन्दिरमा एका बिहानै भेला भई माधव भजन गाउने, अनि भीमेश्वर मन्दिरमा पुगेर समापन गर्ने गरिन्छ।साँखुमा जस्तै सामुहिक भेला भएर पुराेहित या पुजारीद्वारा कथा भन्ने श्रवण गर्ने चलन नभए पनि घरघरमा कथा भन्ने र परिवारजनले सुन्ने परम्परा दाेलखामा हरेक साँझ स्वस्थानी कथाकाे अभ्यास अझै जीवित छ। पछिल्ला दशकमा जनसंख्या घट्दै जाँदा सामूहिक कथा श्रवण सीमित हुँदै गएको छ।
माघ शुक्ल पूर्णिमा अर्थात् समापनकाे दिन दाेलखाकाे त्रिपुरासुन्दरी भगवतीकाे मन्दिर नजिकै रहेकाे रानीवनस्थित बनारसी तीर्थस्थलबाट विधिपूर्वक पूजाआजा गरी सामूहिक रूपमा सहधारा (सहस्रधारा) बोकेर नगरका सबै देवी–देवालय परिक्रमा गर्ने परम्परा दाेलखाको धार्मिक जीवनमा विशेष महत्व राख्छ। दाेलखाकाे धार्मिक गतिविधिमा प्रचलित त्रिपुरासुन्दरी भगवती, महादेवले ध्वस्त पारेकाे त्रिपुर अर्थात् तीन शहर अनि यहाँस्थित बनारसी तीर्थस्थल (वाराणसी जहाँ सतिदेवीकाे शिरकाे अंग पतन भएकाे कथन छ, जस्काे पुष्टि गर्न जरुरी रहेकाे ) बीचमा निकट सम्बन्ध रहेकाे स्वस्थानीमा उल्लेख भए अनुसारकाे इतिहास खाेज्न जरुरी छ ।
साँखुमा स्वस्थानी व्रत कठोर उपवास, स्नान र तीर्थयात्रासहित अनुशासनमा केन्द्रित छ भने दाेलखामा सामूहिक भजन, नगर परिक्रमा र सहधारा बोकेर देवी–देवालय परिक्रमा गर्ने परम्पराले स्वस्थानीकाे महिमा उजागर गरेकाे छ। दुवै स्थानमा स्वस्थानी कथा श्रवण जीवित छ, जसले धार्मिक शिक्षा र संस्कारलाई निरन्तरता दिएको छ।
स्वस्थानी व्रत कथन केवल धार्मिक अनुष्ठान होइन, यो नेपाली समाजको सामूहिक चेतना र सांस्कृतिक निरन्तरताको आधार हो। साँखु र दाेलखामा यसको अभ्यासले देखाउँछ, धार्मिक परम्परा केवल पूजा वा कथा मात्र होइन, सामूहिक जीवनलाई एकताबद्ध गर्ने माध्यम हो। आजको समयमा जब जनसंख्या सहरतिर केन्द्रित हुँदैछ, गाउँमा कथा श्रवण सीमित हुँदै गएको छ, तब स्वस्थानी व्रतले हामीलाई स्मरण गराउँछ, धार्मिक परम्परा केवल आस्था होइन, सामाजिक जीवनको मेरुदण्ड हो।
साँखुमा कठोर अनुशासन र तीर्थयात्रा होस् वा दाेलखामा सामूहिक भजन र नगर परिक्रमा- दुवै अभ्यासले नेपाली समाजलाई एकताबद्ध गर्ने शक्ति बोकेको छ। स्वस्थानी देवीको पुराणीय महिमा र शाब्दिक अर्थले यस व्रतलाई आत्म–सम्पर्क, श्रद्धा र पुनर्मिलनको प्रतीक बनाएको छ। यसैले, स्वस्थानी व्रत कथनलाई केवल धार्मिक अनुष्ठानको रूपमा होइन, सामाजिक जीवनको आधार र सांस्कृतिक निरन्तरताको प्रतीकको रूपमा बुझ्न आवश्यक छ।
अन्तमा स्वस्थानी व्रतकथामा उल्लेखित केही अपत्यारिला कुराहरू मानव विर्य मुखमा हालेर गर्भाधान हुनु, जुन प्रसङ्ग महादेव र पार्वतीकाे सहवास भइरहँदा परेवारूपी एक ऋषिले देखेपछि महादेव स्वयमले स्वविर्य हातमा राखेर परेवालाई दिंदा साे विर्य निल्दा गर्भ रहेकाे र वनमा गएर अाेकलेपछि अग्नीधारण गरी बलेकाे र साे अग्नी ताप्न पुगेका सप्तऋषिका ६ पत्नी गर्भवती भएकाे प्रसङ्ग असान्दर्भिक लाग्छ । देवताहरू स्वयम् साैम्य र सुन्दर शक्तिशाली भएकै कथन छ । तर पनि परस्त्रीकाे सुन्दरतामा माेहित भएकाे सन्दर्भहरू पढ्दा श्राेताहरूमा ज्ञान प्राप्त हुने कि अज्ञानले वास लिने कुरामा लेखककाे मनाे वैज्ञानिक भाव याे युगले कसरी अनुमान गर्लान् ?
पत्याउनै पर्ने कुरा चाहिँ विश्वमा अहिले आणविक युग चलेकाे छ । आणविक शस्त्रअस्त्रकाे हाेडबाजीमा अणुबम, परमाणुबम, नाइट्रेटबमहरूकाे उत्पादन भइरहँदा त्याे युगमा चलेका इन्द्रास्त्र, ब्रम्हास्त्र, दिव्यास्त्रकाे वर्णन सुन्दा देवताकाे युगमा पनि वैज्ञानिकहरू रहेछन् भनेर बुझ्न सकिन्छ ।
(तस्बिर गुगल संकलन, भिडियाे गुगल अनलाइनबाट साभार)