
टोपीदिवसको सेराेफेराेः
आजको दिन टोपी दिवस । नेपाली पहिचान र गौरवसँग गहिरो सम्बन्ध बोकेको दिन। टोपीलाइ केवल नेपाली राष्ट्रिय पोशाकको एक अंश मात्र नभई राष्ट्रियता र धार्मिक प्रतीक पनि हाे ।
राष्ट्रिय पाेशाकको रूपमा पुरुष वस्त्रमा खाँडीकाे दाैरा, सुरुवाल, पटुकी, कालाे काेट र टोपीलाई मानिन्थ्याे भने नारी वस्त्रकाे रूपमा फरिया, गुन्यू चाेली र पटुकीलाई मानिन्थ्याे । तर देशमा गणतन्त्र र लाेकतन्त्र भित्रिइपछि जातीय समुदायकाे व्याख्यात्मक तरिकाले हरेक समुदायमा फरकखालकाे वस्त्रकाे पहिचानसँग जाेडेर राष्ट्रियता भन्दा पनि बहुल जातिकाे व्याख्यामा दाैरा सुरुवालमामात्र सीमित रहेन फलस्वरूप हट्दै गएकाे छ ।
नेपालकाे पहिचानसँग नजिक गाँसिएकाे टाेपी सगरमाथाको उचाइ र गौरवसँग जोडिन्छ। विश्वमाझ नेपाललाई चिनाउने सगरमाथाको आकृति टोपीकै आकारमा संकेत गरिएको छ। यसले नेपालीपनलाई गर्विलो ढङ्गले प्रस्तुत गर्छ। यसाे गर्नु देशप्रेमकाे द्याेतक पनि हाे ।
अब टाेपीलाई देशकाे प्राकृतिक सम्पत्तिसँग मात्र हाेइन कि धार्मिक प्रतीकको रूपमा पनि जाेड्न सकिन्छ । नेपाली टाेपी पाल्पाली ढाका टाेपी हाेस् या भादगाउँले कालाे टोपी हाेस् यस टाेपीकाे आकार र प्रकार दाेलखाकाे साक्षात् भीमसेनको शिरसँग तुलना गर्न सकिन्छ ।
दाेलखा भीमसेनको प्रतिमूर्ति सम्पूर्ण अङ्गरूपी मूर्ति नभई एक शीलाकाे रूपमा प्रकट भएकाे शिरमा मात्र पूजा गरिन्छ, जसको आकृति भादगाउँले टोपीसँग मेल खान्छ। जब हामीले टाेपी लगाउँछाैँ यसकाे दायाँतिर केही खुम्च्याएर बायाँतिर अग्ल्याएर सुहाउँदाे ढंगले शिरमा राखेर लगाउँछाैँ । यस टोपीकाे भावनात्मक सम्बन्ध साक्षात् भीमसेनकाे अध्यात्म शक्तिभित्र सञ्चित बुद्धि, विवेक, चेतना र ज्ञानको प्रतिमूर्ति समेटिएकाे पाउँछाैँ । साथै यस टाेपीले नेपाली जनमानसमा विशेषतः नेवार समुदायमा व्यापार–व्यवसायको मार्गदर्शकको रूपमा अर्थ दिन्छ। जसकाे ज्वलन्त उदाहरण परम्परागत कपडा बुन्ने तान, चर्खा, उइँटा, धनु र धागाे उनिने सुइराे नेवार समुदायकाे टाेल घरमा पाइनु हाे ।
दाेलखा भीमेश्वरकाे मन्दिरमा भीमसेनकाे दर्शन ढाेगभेट गर्दा टाेपी खाेलेर शिर निहुर्याएर ढाेग्दछाैँ । त्याे खाेलिएकाे टाेपी भगवानकै प्रतीक भएकाे कारण प्रत्यक्ष ढाेग गर्दा टाेपी साक्षी बनेकाे हुन्छ जुन अघिपछि आफ्नाे शिरमा रहिरहन्छ । यसैले केही गरी टाेपी हराएमा अपशकुन वा भवितव्यताकाे त्रास फैलिन थाल्छ । कारण हाे भगवान भीमसेनलाई बेवास्ता गरेर कतै छाडिनु हाे । नेपाली जनमानस भित्रका धेरै समुदायमा टाेपीकाे महत्व हुन्छ । प्रत्यक्ष अप्रत्यक्ष टाेपीकाे सम्मान गरेकै हुन्छ जुन शरीरकाे शीराेभागमा रहन्छ । त्यसैले यस टाेपी दिवसकाे दिनमा दाेलखा भीमसेनकाे प्रारूपकाे सम्मान र श्रद्धा अर्पण गर्न जरुरी देखिन्छ ।