
पुस १६ काठमाडौं । नेपाल राष्ट्र बैंकले अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
एक वर्ष अवधिका लागि ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ‘ख’ उपकरण निष्कासन गर्न लागेको बताउँदे राष्ट्र बैंकद्वारा बोलकबोल बुधबार मध्याह्न २ बजेसम्म अनलाइन प्रणालिमार्फत हुने बताइएको छ ।
राष्ट्र बैंकका अनुसार यसको ब्याजदर पनि बोलकबोल प्रक्रियाबाटै निर्धारण हुने र जसको सावाँ आगामी २०८३ पुस १६ गते हुनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुने बताइएको छ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने बोलकबोल प्रक्रियामा बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम पाँच करोड र अधिकतम पाँच करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।
यसअघि राष्ट्र बैंकले पुस १४ मा पनि एकवर्षे अवधिको २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘क’ निष्कासन गरेको थियो ।