गुरुङ्ग समुदायको महान चाड ‘तमु ल्हाेसार‘ आज मनाइँदै

पुस १५ काठमाडाैं – संघीय राजधानी काठमाडाैंकाे टुँडिखेलमा गुरुङ्ग समुदायको नयाँ वर्ष तोला अर्थात् ‘तमु ल्होसार‘ महान चाड आज मनाइँदै छ ।
बिकम सम्बत पात्रोको पुस महिनाको १५ गते मनाइने तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ साल सुरु भएको सङ्केत गर्दछ। प्राचीन तमु प्यो शास्त्र अनुसार तमु ल्होसारको दिनमा तमुहरूका प्रथम महापुरुषको उत्त्पती भएको मानिन्छ।

कसरी मनाइन्छ त तमु ल्हाेसार ?- ल्होसारको दिन शुरु हुनुभन्दा अघिल्लो साँझदेखि नै गुरुङ्ग समुदायमा यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरेर मध्यरातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ।
ल्होसारको दिन बिहानदेखि नै आफन्तजन इष्टमित्रहरूसँग ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर (स्योकै) भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरू आफ्नै मौलिक भेषभुषामा सजिन्छन्। शिरवन्दी, पिरुमाला, मखमली चोली, घलेक, निलो पटुकी, कालो टिकिस, छिट्को गुन्यु र बुट्टेकर्मु (मजेत्रो) महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, आङमा भोटो, आस्कोट, भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पाखी, पटुकी बाँध्छन्।

गुरूङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर गुरुङ समुदायमा प्रचलित मौलिक चुड्का नाच नाचेर आफ्ना परिवार, ङोलो ङोल्स्यो साथीभाइहरूसँग रमाइलो गर्छन्। गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र देशका अन्य ठुला व्यक्तित्वहरूद्वारा ल्होसारको शुभकामना आदानप्रदान पनि गर्ने गरिन्छ।
कहाँकहाँ मनाउँछन् त तमु ल्हाेसार ? गुरुङ्ग जाति देश विदेशको विभिन्न ठाउँमा छरिएर बसेका छन् । कास्की, स्याङ्जा, गाेरखा, लमजुङ, तनहुँ, चितवन, रुपन्देही, दैलेख, बाँके, सुर्खेत, मनाङ, रूम्जाटार, खाेटाङ र विशेषगरी काठमाडाैं केन्द्रीत मनाइने गरिन्छ । त्यसैगरी नेपाली गुरूङ्ग जातिको बसोवास रहेको बेलायत, अमेरिका, अष्ट्रेलिया, हङकङ, ब्रुनाई, जर्मनी र भारत लगायत अन्य देशहरूमा पनि मनाउने गरिन्छ ।
तमु पात्रोमा १२ वटा वर्गहरूको नाम विभिन्न जनावरहरूको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेषता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ। यी वर्ग हरेक बाह्र वर्षमा दोहोरिरन्छन्।
जस्ताे कि (१) च्यु-ल्हो (मुसा बर्ग), (२) तो-ल्हो (बाघ वर्ग) (३) हि-ल्हो (बिरालो वर्ग) (४) मुप्री-ल्हो (गरुड वर्ग) (५) सप्री-ल्हो (सर्प वर्ग) (६) त-ल्हो (घोडा वर्ग) (७) प्र-ल्हो (बाँदर वर्ग) (८) फो-ल्हो(मृग वर्ग) (९) च्हया-ल्हो (चरा वर्ग) (१०)खि-ल्हो (कुकुर वर्ग) (११) खि-ल्हो (कुकुर वर्ग) र (१२) फो-ल्हो (मृग वर्ग) रहेका छन् ।