सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेल राजनीतिक दौडधुपमा तीव्र
देउवा पछि ओलीलाई भेट्न गुण्डुमा
काठमाडौं पुस -११ – फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण सहज बनाउन सरकारले राजनीतिक दौडधुप तीव्र पारेको छ ।
यसै सिलसिलामा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका छन् ।
चुनावी वातावरण निर्माण गर्न र ठूला दलहरूसँगको चिसिएको सम्बन्ध सुधार गर्न सरकारले उच्चस्तरीय समिति नै बनाएर संवाद थालेकाले यस भेटघाटलाई राजनीतिक वृत्तमा निकै महत्वका साथ हेरिएको छ।
निर्वाचनको सुनिश्चितताका लागि प्रमुख दलहरूको साझा सहमति जुटाउने प्रयासस्वरूप मन्त्री खरेलले शीर्ष नेताहरूसँगको छलफललाई तीब्र पारेका छन् ।
गुण्डुमा ओली र खरेलबीच भइरहेको संवाद विशेषगरी प्रमुख प्रतिपक्षी दलको चुनावी तयारी र सरकारसँगको सहकार्यमा केन्द्रित रहेको बुझिएको छ। यसअघि आजै बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटेर फर्किएका मन्त्री खरेलले लगत्तै एमाले अध्यक्षसँग संवाद अघि बढाएका हुन् ।
सरकारले निर्वाचनका लागि आवश्यक राजनीतिक सहमति जुटाउने जिम्मेवारी मन्त्री खरेललाई सुम्पिएको देखिएको छ। सोही योजनाअनुसार खरेलले आजै एमाले अध्यक्षसँगको भेटघाट लगत्तै नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि संवाद गर्ने तालिका रहेको छ।
प्रमुख तीन दलका शीर्ष नेताहरूलाई विश्वासमा लिएर फागुनको निर्वाचनलाई निर्विवाद रूपमा सम्पन्न गराउने सरकारको रणनीतिअनुसार यी शृंखलाबद्ध भेटघाटहरू भइरहेका छन् ।