Headlineबिशेषसमाजसंस्कृति पर्व

संरक्षणकाे बाटाे हेर्दै दाेलखाकाे बालकुमारी ‘काेबीदेउ‘ मन्दिर

बागमती प्रदेश दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वडा नं.२ अन्तर्गतको ऐतिहासिक, सांस्कृतिक र धार्मिक शहर दोलखामा हरेक वर्षको गाईजात्राको भोलिपल्ट अर्थात् ‘गुन्लागाक’ (कृष्णपक्ष) द्वितीयाको रातदेखि षष्ठी तिथिको रातसम्म हरेक ५ रात करिब ७ घण्टासम्म निकालिने भैरव कुमारी जात्रा अर्थात् ‘बालकुमारी देवी नाच’ निकाल्ने परम्पराबारेमा सर्वविदितै छ ।

बालकुमारी नाचमा एक जना तान्त्रिक गुरुभाजु (गुभाजु) वज्राचार्य बाहेक अन्य १३ जना गणमा शिवभक्ति परिवारका हुन्छन् । जसमा मुख्य पात्र बालकुमारी भए पनि भैरवको उपस्थिति बिना बालकुमारी बाहिर निस्कन नहुने परम्परा रहेको छ । यही बालकुमारीको छुट्टै मन्दिर दोलखा शहरबाट दक्षिणी भागमा रहेको छ । यसमा गणेशको स्थापित पूजाआजा गरिए पनि बालकुमारी नै प्रमुख देवीको महिमालाई आधार मानेर दीक्षाकर्म जान्ने पुजारी र शिवभक्ति गणका मूल पूजारी बाहेक अन्य कोही पनि त्यस मन्दिरभित्र प्रवेश गर्न नहुने धार्मिक र तान्त्रिक मान्यता छ । तर शिवभक्ति खलक भने पुरुष जाति भित्र प्रवेश गर्न हुने महिला भने प्रवेशद्वार परिसरसम्म जानुहुने मान्यता रहेको छ । यस बालकुमारीको स्वभाव र प्रवृत्ति केही भयभित र आतंकित पार्ने खालको भएकोले यहाँ हम्मेसी कोही जाँदैनन् ।

बालकुमारी मन्दिर परिसरबाट देखिने फुलपा गाउँ र दिलढुंगा । जहाँ कार्तिक पूर्णिमाकाे बेला ठूलाे मेला लाग्दछ ।

जुन देवीलाई स्थापनाकालीन समयमा नामूद विद्वान तान्त्रिकले तन्त्रमन्त्रको वशमा पारेर फलामे साङलोले बाँधेर जमीन मुनि खाल्डो खनेर झुण्ड्याएर माथिबाट ठूलो चारपाटे ढुंगाले छोपिएको अवस्थामा राखिएको कथन छ । उनै देवीलाई तान्त्रिकले मनुष्य तथा अन्य प्राणीमाथि केही हानी नोक्सानी नगरीदिन अनुरोध सहितको वाचा गराई वर्षको ५ रात (पहिले ३ रात) बजारमा घुमाउने शर्तमा त्यहाँ राखिएको पुरानाे उक्ति छ ।

जुन स्थल दोलखाको दुङ्गल टोलको ठीक दक्षिणमा रहेको छ । जहाँ चारैतिर पखाल लगाइएको सानो मन्दिर आकारको घर छ । पश्चिमपट्टि करिब ५ फिट अग्लो ढोका छ । दक्षिणपट्टि एउटा झ्याल छ । पूर्वपट्टि पनि सानो आकारको झ्याल राखिएको छ । तर कुनैपनि झ्याल ढोकामा खापा भने राखिएको छैन ।

यहाँ हरेक चाडबाडमा सामान्य पूजाआजा गरिए पनि अन्य देवीदेवताका मन्दिरमा जस्तो दैनिक दर्शन गर्न जाने चलन छैन । शिवभक्ति परिवारले भने यस देवीलाई कुल देवीको रूपमा पुज्दै आएको भएपनि मन्दिरलाई सजसजाउ गर्ने, सरसफाइ गर्नसमेत आवतजावत छैन । हाम्रो टोली त्यो स्थानमा पुग्दा चारैतिर जङ्गल झाडी घाँसपातले बाटो नै ढाकिएको अवस्थामा रहेको छ ।

मन्दिरको पर्खाल पनि असमान्य मजबुत नदेखिएको, वरिपरि खाली जग्गा पनि व्यवस्थित नहुँदा बालकुमारी मन्दिर अपेक्षित अवस्थामा देखिन्छ । कमसेकम सरोकारवाला र सम्बन्धित पक्ष र स्थानीय समाजसेवी, बुद्धिजीवी र स्थानीय निकायले पर्खाल मजबुत बनाउन लगाएर प्रवेशद्वारभन्दा बाहिरपट्टि फलफूल या अन्य वनस्पति उत्पादन हुनेगरी व्यवस्था गरिंदा केही महत्व बढ्थ्यो कि ? अनि मुख्य मन्दिरबाट अलिक माथि उत्तरतिर एउटा आकर्षक प्रवेशद्वार बनाएर आगन्तुकहरूलाई पहिचान दिलाउने हिसाबले ढोकैमा पूजा गर्न लगाइएमा सो बालकुमारी देवीको महत्व र जात्राको महिमा अझ उजागर हुने थियो कि ?

हाल यही मन्दिर रहेकाे देवस्थल परिसरमै छुवाएर नागदह, दिलढुंगा, नेगल, स्वाक्लाे, गगरस, चक्पा जाने सडक मार्ग बनेकाे छ । यही सडक मार्गमा जाने यात्रु तथा आगन्तुक अतिथिहरूलाई देवीकाे महिमा र भैरवकुमारी जात्राकाे तथ्य र रहस्य बुझाउन पहल गरिएमा दाेलखाकाे साँस्कृतिक र धार्मिक गरिमा बढ्नुका साथै आर्थिक स्राेत जुटाउने मार्ग खुल्नेछ कि भन्ने हाम्राे मनाेभाव हाे । जय बालकुमारी ! जय भैरव !! जय भीमसेन !!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button