
विक्रम सम्वत् २०८२ मंसिर २०, नेपाल सम्वत् ११४६ थिंलागाक द्वितीया तिथि शनिबार – २६ डिसेम्बर २०२५
काठमाडाैं – किरातकालिन सभ्यतादेखि नै निरन्तर वंश थाम्दै आएका थामी समुदाय (जाति)को एक मुख्य चाड उधौली पर्व (भुम्या पूजा) मार्ग शुक्ल पूर्णिमाकाे दिन अर्थात् गत मंसिर १८ गते भव्य रूपमा सम्पन्न भएको छ।
भूमिप्रतिकाे श्रद्धा र विश्वास, किरातकालीन धर्म र संस्कृति अनि स्वजातीय पहिचानको रक्षा तथा विकास गर्ने उद्देश्यका साथ नेपाल थामी समाज केन्द्रीय कार्यसमितिद्वारा आयोजित यो कार्यक्रम २०८२ मंसिर १८ गते गोकर्णेश्वर सामुदायिक वन परिसर, गोकर्ण–काठमाडौँमा उत्साहपूर्वक सम्पन्न गरेका छन् ।

नेपाल थामी समाजसँग सम्बद्ध रणबहादुर थामीका अनुसार कार्यक्रममा थामी समुदायका पूजारी, ज्येष्ठ नागरिक, युवा, महिला तथा समाजसेवीहरूको उल्लेखनीय ३०० जनाभन्दा माथि उपस्थिति रहेको थियो। पूजामा सरिक सामुदायिक सहभागिता, परम्परागत भेषभूषा, सांस्कृतिक रीतिरिवाज, भुम्या देवताप्रतिको श्रद्धा तथा प्रकृति संरक्षणको सन्देशले कार्यक्रम अझ अर्थपूर्ण बनेको उनकाे भनाइ रहेकाे छ ।
हरेक वर्षकाे साेही दिन गरिने भुम्या पूजाका धार्मिक विधि अनुसार चामल, अन्डा , फलफूल , भाले , पूजा सामग्रीसहित पुजा सम्पन्न हुने गर्दछ । साे पूजा पश्चात् सामूहिक शुभकामना आदान–प्रदान, सांस्कृतिक गीत–नृत्य तथा सामुदायिक भोजको व्यवस्थाले उपस्थित सबैमा हार्दिकता र एकताको भावना जागृत बनाउँदछ ।
नेपाल थामी समाज केन्द्रीय कार्यसमितिले उक्त कार्यक्रमका लागि सक्रिय सहयोग गर्ने स्वयंसेवक, स्थानीय समुदाय, आर्थिक र सामग्री सहयोगी, सञ्चारकर्मी तथा सहभागी महानुभावहरूलाई विशेष धन्यवाद ज्ञापन गरेको जनाएकाे छ।
कार्यक्रमले थामी समुदायको सांस्कृतिक पहिचान, एकता र संरक्षणको अभियानलाई अझ सशक्त बनाउनुका साथै परम्परालाई निरन्तरता दिनका लागि भावी पुस्ताहरूलाई सभ्यता, संस्कृतिबारे ज्ञान र सीप सिकाउने उद्देश्यका साथ हरेक ठाउँमा विभिन्न कार्यक्रम राखेको बताइएकाे छ।

स्मरण रहाेस्, थामी समुदायकाे उद्गमस्थल दाेलखाकाे राङराङथली, सुस्पा, क्षमावती, कात्तिके, लेप्टुङ, लापिलाङ, बाबरे आदि स्थान भएपनि जीविकाेपार्जनकाे क्रममा त्यहाँबाट छरिंदै सिन्धुपाल्चाेक, काभ्रे, सिन्धुली हुँदै टिष्टापारिकाे दार्जिलिङ, सिक्किम सबैतिर पुगेका छन् । विगतमा सामान्य जीवन जिउनका लागि गाउँघरमै ससाना घरेलु उद्याेग स्वरूपकाे डाेकाे, डालाे, थुन्से, नाम्लाे हलाे बनाएर गाउँ शहर घुम्ने यी समुदायका सन्तानहरू अहिले विद्यावारिधि हासिल गरेर नयाँ इतिहासका खाकाहरू तैयार गर्न अग्रसर भएका छन् ।
थामी समुदायका पुजारीहरूकाे धारणा अनुसार मानव लगायत सबै प्राणीहरू भू-धरातलमा नै जन्मेर यही भू-भागमा जीवनकाे अन्त हुने हुँदा भू अर्थात् ‘जमिन‘लाई सर्वव्यापी मानेर पुज्ने गर्दछन् ।