दिन एक पर्व अनेक मंसिर पूर्णिमाः

कतै ‘यःमरी पुन्हि’, कतै ‘ठिला पुन्हिस्’ र कतै उधौली पर्व !
सिधा अर्थमा आज मंसिर शुक्ल पूर्णिमाको दिन हो । यही पूर्णिमाको दिनमा मूलतः नेवार समुदायहरूले काठमाडौं उपत्यका लगायत मोफसलमा रहेका नेवारहरूले ‘यःमरी पुन्हि’को रूपमा मनाए भने नेवारहरूको उद्गम् स्थल मानिएको पुरानो शहर दोलखामा भने यस दिनको पर्वलाई ‘ठीला पुन्हिस्’को नामबाट मनाउने गर्दछन् । यस दिन बनाइने चामलको पिठोको रोटीको परिकारलाई उपत्यकामा ‘यःमरी’ भन्दछन् भने दोलखामा ‘देउचा मारी’ भन्ने प्रचलन रहेको छ ।

नेवार समुदायहरूले आजको दिनमा उपत्यकामा ‘यःमरी पुन्हि’को रूपमा नयाँ उत्पादित धानको चामलको पिठो मुछेर गजुर आकारको बनाइ पिंधबाट गोलाकार दुलो पारेर त्यस भित्र चाकु वा खुवा राखेर बन्द गरी बाफमा पकाएर खाने र खुवाउने गरी मनाए । जुन कार्य दोलखामा पनि निरन्तर रहेको छ ।

नेवार समुदायकै ‘ज्यापू’ समूहले ज्यापू दिवसको रूपमा उपत्यकामा रहेका अधिकांश टोलबाट संयुक्त रूपमा भेला भइ हर्षोल्लासले मनाए । यसवर्षको ज्यापू दिवस काठमाडौं महानगरपालिकाको हाँडीगाउँको तरकारी बजार चोकमा जम्मा भएर मालीगाउँ दोबाटो, गहना पोखरी, नक्शाल भगवती, नागपोखरी, नारायण हिटी दक्षिणी सडकमार्ग, ठमेल, ज्याठा, कमलाक्षी असन, इन्द्रचोक, भेडासिं, काल भैरव हनुमानढोका, कुमारीछेँ (घर) हुँदै बसन्तपुर डबली पुगेर सभामा परिणत भएर ज्यापू दिवस मनाए ।

त्यसैगरी आजकै दिन किरात वंशका सन्तानहरूले उधौली पर्व हर्षोल्लास पूर्वक मनाएका छन् । प्रायः पूर्वी पहाडी भेकमा रहेका राई, दनुवार र सुनवारले मनाउने यो पर्वलाई दक्षिणायन मार्ग प्रवेशको रूपमा मनाउने गरिन्छ ।
तस्बिर साैजन्यः इलिना प्रधान हाडा दाेलखा, माेहनकृष्ण महर्जन क्षेत्रपाटी र मल्टिमिडिया