डोटीमा बोलेरो जिप दुर्घटना हुँदा १२ जना यात्रु घाइते

डोटी मंसिर १४ – डाेटीकाे दिपायलबाट आदर्श गाउँपालिकाको गोरेली तर्फ जाँदै गरेको सु.प.प्र. ०२ ००१ च ११३५ नम्बरको बोलेरो जिप आदर्श गाउँपालिका-४ ल्वारेगडामा दुर्घटना हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
दुर्घटनामा परेकाे जिप बेलुकी करिब ७ बजे कच्ची सडकमा अनियन्त्रित भइ सडकबाट करिब सय मिटर तल खसेको प्रहरीले बताएको छ। सबै घाइतेहरू सामान्य रहेको बताइएको छ। घाइतेको स्थानीय काँणीस्याउलेस्थित जिडी पोलिक्लिनिकमा उपचार भइरहेको स्थानीय स्राेतले जनाएकाे छ।
घाइते हुनेहरूमा आदर्श गाउँपालिका-४, देहीमाडौंका २१ वर्षीय भगवती बिक, उनको १ वर्षीय छोरा राजन बिक, वर्ष ५ की रीतिका बिक, ३८ वर्षका टीका बिक, १९ वर्षका शेर बिक, वर्ष १८ की सरस्वाती ओझा, वर्ष २५ का दिल्ली राज ओझा, वर्ष २३ की बिष्ना ओझा, वर्ष ४ का दीपेश ओझा, सोही वडाको भुवा बस्ने जिप चालक वर्ष २८ का मोहन बिष्ट, वर्ष ३५ का लाल बहादुर बिष्ट, वर्ष २२ का सन्तोष बिष्ट रहेका छन्।
घाइतेको उद्धारका लागि प्रहरी निरीक्षक पदम राज पन्तको कमान्डमा नौ सदस्यीय प्रहरी टोली खटिएको थियो।