Headlineसमाचारसंस्कृति पर्व

शतबीज छर्ने दिन बाला चतुर्दशी दिवंगत आत्मा शान्तिकाे कामना सहित सम्पन्न

आज बाला चतुर्दशी पर्व अथर्थात् शतबीज छर्ने दिन । हरेक एक वर्षमा पर्ने मंसिर महिनाकाे कृष्णपक्षकाे त्रियाेदशीकाे दिनमा याे पर्व मनाइन्छ । जस अनुसार २०८२ सालकाे मंसिर ३ गते अर्थात् नेपाल सम्वत् ११४७ कछलागा चह्रे बुधबार परेकाे याे विशेष पर्वमा हिन्दु धर्म मान्नेहरूले आफ्ना दिवङ्गत पुर्खाहरूको मुक्तिको लागि शतबीज छर्ने गर्छन् । कुनै पनि दुर्घटना वा अकालमा मृत्यु भएकाहरूलाई स्वर्गमा बास रहाेस् भनेर शतबीज छर्ने गरिएको परम्परा छ ।

मङ्सिर कृष्णपक्ष त्रयोदशीका रातमा जाग्राम बसेर मृतात्माको नाममा दीप प्रज्वलन गर्नाले पितृ दोषबाट मुक्ति मिल्ने विश्वासमा हिन्दु धर्मावलम्बीमा रहेको छ । जस अनुसार श्रद्धालुहरू आफ्ना बासस्थान नजिकै रहेकाे शिव मन्दिर, शिवालय, देवालयमा भेला भएर रातभरी दीप प्रज्वलन गरी चतुर्दशीकाे दिन बिहानैदेखि शिव पिठहरू परिक्रमा गरी शतबीज छर्ने गरिन्छ ।

यही परम्पराकाे अनुसरण गर्दै नेपालकाे काठमाडाैंमा रहेकाे पशुपति, गुह्येश्वरी, मृगस्थलिमा रहेका हरेक शिवलिङ्ग स्थापित मन्दिरहरूमा याे शतबीज छर्ने कार्य सम्पन्न भएकाे छ । यस लगायत काठमाडाैंका यसको छेउछाउका किँरातेश्वर महादेव, गौरी घाट, गुह्येश्वरी, आर्यघाट, श्लेष्मान्तक वन, विभिन्न पिठका साथै डाेलेश्वर भक्तपुर भीमेश्वर दाेलखा, पशुपति मन्दिर चरिकाेट, पशुपति हेटाैडा लगायत नेपालभरि नै रहेकाे शिव मन्दिरहरूमा अपार भीड लागेकाे छ ।

दाेलखामा बाला चतुर्दशीः प्राचीन इतिहासकाे माैलिकता बाेकेकाे नेवार सभ्यताकाे प्रारम्भिक स्थलकाे रूपमा कहलाइएकाे दाेलखामा पिङ्गल टाेल र माथिल्लाे टाेलकाे स्वयम्भू स्तपाकाे प्राङ्गणमा भेला भएर बाजागाजा र भजन कीर्तनका साथ नगर भित्रका सबै देवालय र शिवालय परिक्रमा गरी मञ्जेश्वरी मन्दिरमा पुगेर शतबीज जाताेमा हालेर पिँधेर देवताकाे स्मरण गर्दै दिवंगत स्वजनकाे चीरशान्तिकाे कामना गर्दै बाँकी सबै मन्दिर परिक्रमा गरी समापन गर्ने चलन छ ।

शतबीजमा प्रयोग गरिने अन्नहरू के के हुन् ?
शतबीजमा ७ अन्नको प्रयोग गरिन्छ । धान, गहुँ, मास, मुँगी, कागुन र सामाको बिउ मात्र होइन, कुनै कुनै ठाउँमा कागती, निबुवा, सुन्तला, स्याउ, उखु, अम्बा, अमला, केरासहित तिल, चना, मकै पनि शत बीजमा प्रयोग गर्ने गरिन्छ ।

शतबीज छर्ने किंवदन्तीः
शतबीज छर्ने यो दिनको सुरुवात भएको विषयमा चल्ने एउटा किंवदन्ती अनुसार बाला खासमा एक असुरको नाम हो । उनका ब्रिसलाई राजाले बाला मार्नका लागि पठाएका थिए । बालाले आर्यघाटमा जलाउनका लागि ल्याइएका शवहरू खाइदिने, मृतकका आफन्तलाई तर्साउने र दुःख दिने गरेपछि मानिसहरूले राजालाई यसबारे गुनासो गर्न पुगेका हुन्छन् ।

राजाले ब्रिसलाई बोलाएर बालालाई मार्न निर्देशन दिन्छन् । तर, ब्रिस र बाला साथी हुन् । आफ्नो साथी बालाको हत्या गर्न ब्रिसले सक्दैनन् । एकातिर राजाको आदेश, अर्कोतिर आफ्नो साथीको हत्या । बढो फसादमा पर्छन् ब्रिस । उनले श्लेष्मान्तक वनमा गएर शिवको तपस्या गर्छन् । उनको तपस्याबाट प्रसन्न भएका भगवान् शिवले बालाको असुर प्रवृत्तिलाई मुक्त गरिदिन्छन् । अनि बालालाई पापबाट मुक्त गराउन ब्रिसलाई शतबीज छर्न आदेश दिन्छन् । यही दिनदेखि शतबीज छर्ने प्रचलन सुरु भएको मानिन्छ ।

बाला चतुर्दशीकाे याे पर्वले साथी बालाको हत्या नगरी उनलाई सहज रूपमा बाहिर ल्याउन सकेकाले आजको दिनलाई कसै कसैले मित्रताको उदाहरणको दिनका रूपमा पनि लिन्छन् । आजको यो विशेष दिन हाम्रो पात्रो परिवार पनि मृतात्माहरूको शान्तिका साथ स्वर्गमा बास होस् भन्ने कामना गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button