
विक्रम सम्वत् २०१५ सालमा खोटाङ जिल्लाको खार्पा भन्ने गाउँमा जन्मेका गिरिराजमणि पोखरेल एक कुशल नेपाली राजनीतिज्ञ र पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री हुन् । पोखरेल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का उप-महासचिव थिए । हाल उनी सोही दलका केन्द्रीय सचिवालयका सदस्य रहेका छन् ।

२०६४ सालमा जनमोर्चा नेपालले उनलाई स्वास्थ्यमन्त्रीमा मनोनीत गरेको थियो । विसं २०६४ वैशाखमा भएको संविधानसभा निर्वाचनमा जनमोर्चा नेपालका तर्फबाट महोत्तरी क्षेत्र नं १ बाट विजयी भएका थिए । संविधानसभाको निर्वाचनमा सबैभन्दा बढी सिट जितेपछि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा बनेको सरकारमा उनले दोस्रो कार्यकाल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रूपमा काम गरे ।
नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको शताब्दी वर्षको अवसरमा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले कर्माचार्यको लोक भावनासंग सम्बन्धित विचार व्यक्त गर्ने क्रममा प्रमुख अतिथिको रूपमा सहभागी जनाएको अवसरमा तीनधारा मिडियाका पत्रकार बालकृष्ण श्रेष्ठसँगको भेटघाटको अवसर मिलेको थियो ।
देशमा जेनजी पुस्ता अर्थात् समयकालीन शब्दमा ‘इन्टरनेट पुस्ता’ वा ‘डिजिटल नेटिभ’ जे भने पनि यो पुस्ताले सूचना प्रविधि, इन्टरनेट र सामाजिक सञ्जालमा हुर्किएको पुस्ताले आफ्नो अभिव्यक्ति स्वतनत्रता खोसेर तत्कालीन सत्ताधारी सरकारले बहुमतीय सांसदहरू भएको आडमा मनपरीतन्त्रले शासन चलाउँदै भ्रष्टाचार र बेथितिको वृद्धिलाई नियन्त्रण नगरी मन परेकोलाई मनोमानी नियुक्ति विपक्षी जस्तो लाग्यो कि बर्खास्त गर्ने परिपाटी बढ्दै गएपछि ती युवाहरूले खबरदारी जनाउन प्रदर्शन गरेका थिए । तर तत्कालीन सरकारले शान्तिपूर्ण प्रदर्शनमा अराजक फैलाउँदै गोली चलाएर दमन गरेपछि परिस्थिति उल्टाइ दिएको थियो । यिनै प्रसङ्गमा देशको समसामयिक विषयमा पूर्वमन्त्री पोखरेलसंगको संवादको संक्षिप्त सन्दर्भः–

तीनधारा– नमस्कार गिरिराज पोखरेलजी, यहाँलाई हाम्रो मिडियामा स्वागत छ ।
गिरिराजः– नमस्कार, धन्यवाद यहाँको मिडियालाई ।
तीनधाराः– नेपालको राजनीतिक मोडमा एकाएक जेन–जी नामक युवा पुस्ताको आगमनले देशको अवस्था र व्यवस्थालाई नै उथलपुथल बनाई दिए खास यो जेन–जी भनेको चाहिँ के रहेछ र नेपालमा कसरी शुरुवात भएको हो केही बताइदिनु न,
गिरिराजः– “जेनजी पुस्ता” भन्नाले सन् १९९७ देखि २०१२ (वि.सं. २०५४–२०६९) को बीचमा जन्मिएका मानिसहरूको युवा पुस्ता हो । यो पुस्ता वाई पुस्तापछि र अल्फा पुस्ताअघि रहेको एक जनसङ्ख्यात्मक वर्ग हो । यस ‘जेनजी पुस्ता’लाई ‘जेनेरेसन जी’ वा ‘जेनजी’ पनि भन्ने गरिन्छ । यो कसरी कहाँबाट भन्दा पनि खासमा समयलेनै उत्पादन गरेको भन्दा फरक नपर्ला । हुन त यही समूह शुरुवातमा इण्डोनेशिया, फिलिपिन्स, श्रीलंकाको साथै बङ्गलादेशबाट प्रारम्भ भएको मानिन्छ । जहाँ यही समूहका युवाहरूकाे आवाजसंगै ती देशहरूमा अवस्था र व्यवस्था परिवर्तन भएकाे प्रत्यक्ष उदाहरण हामी सबैले देखेका छाैँ नि हाेइन र ?
तीनधाराः– यस खालको समूह नेपालमा पहिलेदेखि सक्रिय थियो कि ? यहाँको विचारमा पछि अन्य देशबाट प्रेरित भएको हो कि ? यहाँको विचारमा के छ ?
गिरिराजः– नेपालमा यो उमेर समूहका युवाका सोचमा देशमा रहेका र भएका शासन प्रणालीबारे सोच्न सक्ने शक्तिको विकास भइसकेको थियो तापनि राज्य शासन सुव्यवस्थित होस्, भ्रष्टाचार नहोस्, बेरोजगारी वेथिति नहोस् भन्ने चाहना हुँदा हुँदै यहाँ दलीयवाद, नातावाद भित्र रुमल्लिएर भ्रष्टाचार बढेको बढ्यै, रोजगारी अभावमा लाखौं युवा लाइन लागेर विदेश लागेको लाग्यै भएको देखेपछि अब युवा जाग्नुपर्यो र राज्य सत्ता चलाउनेलाई खबरदारी गरेका हुन् तर नतिजा उल्टो निस्क्यो र देशमा जनधनकाे अकल्पनीय क्षति भए ।
तीनधाराः– त पोखरेल सर, जेनजी युवाहरूले शान्पिूर्ण प्रदर्शन गरेर तत्कालीन सरकारलाई खबरदारी गर्ने भनिएको जुलुशमाथि एक्कासी सरकारी हस्तक्षेप र गोली नै हान्नुपर्ने अवस्था त थिएन तर किन यस्तो भयो होला ?
गिरिराजः– ती युवाहरूलाई उक्साउने र राज्यद्वारा खटाइएका सुरक्षाकर्मीलाई भड्काउने खालका गतिविधिको सृजना आन्दोलनमा सरिक भएको बहानामा घुसपैठ गरिएको कारण पनि हुनसक्छ र अर्को कुरा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले स्थिति नियन्त्रणका लागि उचित निर्देशन नदिइकन अत्तालिएर ठाडो आक्रमणको इसारा गरेकाले नै ती कलिला विद्यार्थी सहितका युवाहरूले ज्यान गुमाउनु परेको हो ।
तीनधाराः– अहिले प्रहरी प्रशासनले त्यो आन्दोलनताका मृत्युवरण गरेका ३ प्रहरीको हत्यामा संलग्नका साथै प्रहरी कार्यालय तोडफोड आगजनीमा संलग्नलाई पक्राउ गरिरहँदा स्कुले पोशाकमै रहेका विद्यार्थी सहितको ७६ युवाहरू जो गोलीको शिकार बने गोली हान्ने र हान्न आदेश दिनेलाई चाहिँ कोही कसैलाई पनि कार्वाही गर्न अघि नबढ्नुको कारण के होला ?
गिरिराजः– यो त वर्तमान राज्य सरकारले सोच्नुपर्ने कुरा हो, अन्तरिम सरकारका प्रधानमन्त्री, गृहमन्त्रीले कडा कदम चाल्नुपर्ने हो, किन मौन भएका हुन् भन्ने विषयमा हाम्रो र्पाटीले पनि प्रश्न उठाइरहेको अवस्था छ । राज्यको तर्फबाट गहिरो अनुसन्धान गरेर छानबीन सहितबाट निष्कर्ष निकालेर दोषीलाई कार्वाही गर्न जरुरी छ । गराउनु पर्छ ।
तीनधाराः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डजीले जेन–जी आन्दोलनको स्वरूपको एजेण्डा र पृष्ठभूमि हामीले सोचे जस्तै भएको हो हामीले पनि देशमा शान्ति सुव्यव्स्था कायम गर्न र भ्रष्टाचार बेथितिको अन्त गर्न खोजेका थियौँ अहिले जेनजीले त्यही गरेका हुन् भन्ने अभिव्यक्ति आएको छ नि, यसमा यहाँको धारणा…
गिरिराजः मध्यक्रममा नेकपा माओवादीले बारम्बार यही आवाज उठाइरहेको साँचो हो । भ्रष्टाचार तीव्र भयो, बेथिति बढ्यो, जनता निरास भए भन्दै गर्दा तत्कालीन सरकार सामाजिक सञ्जाल बन्द गर्नेतिर, सरुुवा र बढुवा गर्ने तिरमात्र केन्द्रित हुनेतिर लागेपछि नै यिनै युवाहरू सडकमा निस्केका हुुन् । युवा र नागरिक अनि जनताको चाहना बुझेर परिस्थिति सल्टाउनको साटो उल्टाएपछि देशले नराम्ररी क्षति बेहोर्नुपर्यो । यही कुराकाे सन्दर्भमा हाम्रा संयाेजक ‘प्रचण्ड‘जीले भन्नुभएकाे हाे । यसकाे मतलब जुन कुराकाे थालनी माओवादीबाट भएकाे थियाे सत्तापक्षले बेवास्ता गररहेकाे थिए त्यही मूल तथ्य युवाहरूबाट भए र अहिले परिणति बाहिर पुगेकाे छ ।
तीनधाराः हवस् त पोखरेलजी समय र संवादको लागि धेरै धेरै धन्यवाद !
गिरिराजः– यहाँलाई पनि ।