Headlineबिशेषसमाज

आज हरिबोधिनी एकादशी, नारायण मन्दिरहरूमा भक्तजनहरूको विशेष भीड

चन्द्रमास पञ्चाङ्ग पात्रमा उल्लेख भए अनुसार चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हरिबोधिनी हो । यसलाई ठूलो एकादशी पनि भनिन्छ ।

हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । हिन्दू धर्मका अनुसार भगवान् विष्णु आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नहुन्छ र आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ ।

दैलेखमा रहेकाे नारायणकाे मूर्ति

धार्मिक विश्वासः
विष्णु भगवान् क्षीरसागरका सुतेका कारण यसबेला कुनै माङ्गलिक कार्य गर्नु हुँदैन भन्ने मान्यता अनुसार चतुर्मास भरि विवाह, व्रतबन्ध, गृहप्रवेश आदि कार्य गरिदैँन अर्थात् यी कार्य गर्न ज्योतिषीय मान्यता अनुसार शुभ साइत निस्कँदैन । चतुर्मासको अन्त्यपछि भने माङ्गलिक कार्यहरूका लागि शुभ साइत निकालिन्छ । कार्तिक शुक्ल एकादशीदेखि पूणिर्मासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ । भीष्मपञ्चक भरि भगवान् विष्णुको आराधना गर्नाले इच्छित फल पाइने विश्वासका साथ उपत्यकाका चार नारायण (चाँगु, विशङ्खु, इचङ्गु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्दछ । (गुगल संकलन)
चार महिना अघि अर्थात् आषाढशुक्ल एकादशीको दिन (चतुर्मासको आरम्भ)मा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई आज विशेष पूजा गरी पीपलसँग विवाह गरिदिने परम्परा रहिआएको छ । भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न)को हवन गरी चतुर्मास भरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको विसर्जन गरिन्छ ।

हरिबोधनी अर्थात ठूलो एकादशी पर्वमा हिन्दू धर्मावलम्बीहरूले ब्रत बसी भगवान नारायणको पूजाअर्चना गरी मनाउँछन् । यस अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल बराहक्षेत्रमा मेला लाग्दछ । बूढानीलकण्ठ लगायत उपत्यकाका चार दिशामा रहेका चार नारायणका मन्दिरमा ठूलो मेला लाग्छ । हरिबोधनीमा उपवास बसिसक्नेले करिब १८ कोसको दुरीमा रहेको चार नारायण र नसक्नेले कम्तीमा एक नारायणको दर्शन र पूजाअर्चना गरेमा सम्पूर्ण पाप नाश भई अन्त्यमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।

हरिबोधनीका दिन विशेषगरी सक्खरखण्ड, पिंडालु आदि कन्दमुल र फलफूल भगवान नारायणलाई चढाई ब्रतालुहरू प्रसादका रूपमा फलाहार गर्ने गर्छन् । हिन्दूहरू तुलसी, पिपल, दुबो र शालिग्रामलाई भगवान विष्णुको प्रतीकका रूपमा मान्छन् । हरिशयनी एकादशी (निर्जला एकादशी) देखि क्षीर सागरमा शयन गरेका भगवान विष्णु कात्तिक शुक्ल एकादशीका दिन ब्युँझनु हुने भन्ने धार्मिक मान्यता अनुसार यस एकादशीलाई हरिबोधनी एकादशी र यो चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा शुभारम्भ गरिएका सम्पूर्ण यज्ञ, अनुष्ठान त्यसैदिन समापन गरिन्छ ।

नेपालमा काठमाडौं उपत्यकाको चार नारायण थान चाँगु नारायण भक्तपुर , विशङ्खु नारायण ललितपुर गोदावरी, इचङ्गु नारायण स्वयम्भू र शेष नारायण फर्पिङको साथमा पश्चिम नेपालको दैलेखको नारायण मन्दिरमा भक्तजनहरूको अपार भीड लाग्दछ ।

तुलसी वनस्पति देवताको प्रारुपः
तुलसी एक बहुउपयोगी वनस्पति हो, यसले आयुर्वेद विज्ञानमा पनि विशिष्ट स्थान ओगटेको छ । चिकित्सकहरूका अनुसार तुलसीमा ८९ रोग निको गर्ने क्षमता छ । यसमा पात, हाँगा, फूल, जरा, बीउ सबै उत्तिकै महत्त्वका छन् । यसले भोक जगाउने, रुचि जगाउने तथा पाचन क्रिया बढाउनुका साथै झाडा–वान्ता पनि रोक्ने कार्य गर्दछ । मानिस मृत्यु शय्यामा हुँदा प्राण त्याग्नु अघि तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी शास्त्रमा वर्णन गरिएको छ । तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई तुलसीले सुगन्धले शुद्ध पार्छ ।

तस्बिर साभारः सञ्जाल संसार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button