
बागमती प्रदेश दोलखा जिल्ला अन्तर्गतको भीमेश्वर नगरपालिका वडा नं. २ दोलखा नगरको पाखलती बजारमा लोप भइसकेको हाटबजार ब्यूँतिएको छ ।
२०८२ सालको तिहारको संघारमा र नेपाल सम्वत् ११४६ को शुभागमनको अवसर पारेर सदरमुकाम चरिकोटसम्म धाएर तरकारी, फलफूल तथा आवश्यक सरसामग्री खरिद गर्नुपर्ने बाध्यतालाई सहजीकरण गर्दै दोलखामै हाटबजार सञ्चालनको परिकल्पना गरेर कार्तिक १ गते शनिबारको दिनबाट शुभारम्भ गरिएको जानकारी योजनाकार जागरुक युवा अजय प्रधानले बताएका छन् ।

भीमेश्वर साप्ताहिक हाटबजार सञ्चालनका लागि ठाउँको तैयारी स्वरूपको व्यवस्था मिलाउन असोज ३१ गते सफल सहयात्री महिला समूहले बजार क्षेत्रमा सरसफाइ अभियान चलाएको जानकारी पनि प्रधानले दिएका छन् ।
आजैबाट सञ्चालन भएको सो हाटबजारको व्यवस्थापनका लागि स्थानीय वडा पालिकाले केही सहयोग दिने वचन व्यक्त गरेपनि समन्वयात्मक भूमिकामा अग्रसर नदेखिएको हाम्रा स्थानीय सम्वाददाताले जनाएका छन् । स्थानीय उपभोग्य वस्तुहरू थरीथरीका हाटबजारमा देखिन्थ्यो । बिक्रेताहरूको पंक्तिमा खरिदकर्ताहरू उत्साहित भए पनि उपभोग गर्ने जनस्रोतको कमी देखिएकोमा पहिलो पटक भएकोले सामान्य रहेको हुनसक्ने जनाएका छन् ।

यो हाटबजार प्रत्येक शनिबार बिहान ७ः०० बजेबाट १०ः बजेसम्म सञ्चालन हुने आयोजकले बताएका छन् । शुरुका दिनमा दोलखाको तल्लो भेकमा रहेका ग्रामीण इलाका स्वाक्लो, खेलाप, गगरस र पूर्वउत्तरमा रहेका सुनखानीमा उत्पादित वस्तुहरू हाटमा ल्याइएका थिए । सो हाटबजार सञ्चालनका लागि प्रचारप्रसारस्वरूपको ४ वटा ब्यानर स्थानीय युवा (हाल काठमाडौं निवासी) विनोद मास्केले सहयोग गरेको जानकारी परिकल्पनाकार प्रधानले बताए । स्थानीय साथी संगातीहरूको सकारात्मक संदेशले यो प्रक्रिया स्तरोन्नति हुनेमा विश्वस्त रहेको उनले बताए ।
दोलखामा झण्डै आधा शताब्दी पहिले २०३०–३२ सालतिर तत्कालीन प्रधानपञ्च खड्गबहादुर श्रेष्ठको पालामा हालको निर्माणाधीन वडापालिकाको कार्यालय परिसरमा रहेको नगरको श्यामसुन्दर टोलदेखि कोर्छेँ टोल हालको राजकुलेश्वर आधारभूत विद्यालयको पूर्वी पर्खाल सिमानासम्म फैलिनेगरी हाटबजार सञ्चालन हुने गर्दथ्यो । जतिबेला स्थानीय उत्पादित तरकारी, खाद्यपदार्थ, फलामको औजार, घरेलु सामग्री जुन ग्रामीण परिवेशमा चल्ने डोको, नाम्लो, थुन्से, डालो, भकारी, मान्द्रो, हलो, जुआ, अनौ आदि इत्यादि बिक्री हुने गर्दथ्यो । जुन प्रत्येक बिहीबार सञ्चालन हुने गर्दथ्यो ।

दोलखामा सञ्चालन भएको त्यसबेलाको हाटबजारले शहरको रौनक अर्कै देखिन्थ्यो । त्यस्तै २०३५–३६ सालताका पाखलती बजारमा पनि हाटबजार सञ्चालन भएको र त्यही बेला मानापाथीमा भर्ने काममा घटबढ भएको गुनासो धेरै भएकोले नापतौलका लागि ढक तराजुको व्यवस्था लागू गरेको तत्कालीन प्रधानपञ्च देवेन्द्रनारायण प्रधान बताउनुहुन्छ ।
अहिले स्थानीय जागरुक युवा अजय प्रधानको परिकल्पना साकार पार्न र स्थानीय खेतबारीमा उत्पादित अन्न, तरकारी, फलफूल लगायत घरेलु सरसामग्रीलाई स्थानीय स्तरमै उत्पादन गरी उपभोग गर्नमा सबै स्थानीयले समन्वयात्मक भूमिका निभाउँदै ऐक्यबद्धता जनाएमा दोलखालीले पक्कै पनि अरूको मुख ताकेर बस्न नपर्ला ।