Headlineबिशेषविचारसमाज

आजबाट दशैं प्रारम्भः घटस्थापनाबाट वडादशैं शुभारम्भ गरिंदै

घटस्थापना: शक्ति आराधनासहित दाेलखामा पनि घटस्थापना विशेष रूपले दशैं मनाइँदै

बडा दशैंको पहिलो दिन घटस्थापनाबाट विशेषतः नवदुर्गाकाे पूजा अर्चना सहित औपचारिक आरम्भ हुन्छ। वैदिक विधिअनुसार कलश स्थापना, गणेश पूजन, र दुर्गा देवीको आह्वान गरिन्छ। यो दिनलाई शक्ति, शुद्धता र शुभताको प्रतीक मानिन्छ। घटस्थापनाको साइत सूर्योदयकालमा प्रतिपदा तिथिमा हुनुपर्ने शास्त्रीय मान्यता छ, जसअनुसार यस वर्ष बिहान ९:१३ बजेकाे उत्तम साइतमा घटस्थापना गरिंदैछ।

जमरा: समृद्धिको हरियालीः

जौको अङ्कुरण जमरा केवल धार्मिक प्रतीक मात्र होइन, समृद्धिको संकेत हो। दुर्गा देवीको प्रिय वस्तु मानिने जमरा विजयादशमीका दिन टीका प्रसादसँग ग्रहण गरिन्छ। आयुर्वेदिक दृष्टिले पनि जमरामा औषधीय गुण छन्। धर्मशास्त्रविद्हरूका अनुसार जमरामा जौबाहेक अन्य अन्न रोप्ने शास्त्रीय विधि छैन, तर परम्परागत रूपमा केही कुलहरूले अन्य अन्न पनि रोप्ने गरेका छन्।

दशैं: राष्ट्रिय पर्वको पृष्ठभूमिः

दशैं कुनै जात, धर्म वा क्षेत्र विशेषको पर्व होइन। यो असत्यमाथि सत्यको विजय, आसुरी शक्तिमाथि दैवी शक्तिको जयको प्रतीक हो। दुर्गा देवीले चण्ड, मुण्ड, रक्तबीजजस्ता राक्षसहरूको वध गरी मानव जातिलाई रक्षा गरेकी कथा यस पर्वको मूलमा छ। त्यसैले दुर्गा पूजा सम्पूर्ण मानव जातिको कल्याणका लागि गरिन्छ। दशैं १५ दिन मानिए पनि विशेषगरी ९ दिनकाे महत्व अलग्गै रहेकाे छ । हरेक दिनकाे हरेक रात र बिहानकाे समयमा नवदुर्गाकाे विविध स्वरूपकाे स्तुति प्रार्थना गरिने भएकाेले नवरात्रि उपमाले यसकाे व्याख्या गरिएकाे छ ।

फाइल तस्बिरः संकलन- शिवजी प्रधान दाेलखा

दोलखाको मौलिकता: परम्परा र संस्कृतिको संगमः

दोलखा- जहाँ परम्परा केवल अभ्यास होइन, जीवनशैली हो। यहाँको दशैं पर्वमा स्थानीय देवी-देवताहरूको विशेष पूजा गरिन्छ। दोलखा भिमसेन, त्रिपुरासुन्दरी, तलेजु भवानी, हरसिद्धि भवानी, कालिन्चोक भगवती लगायतका स्थानीय कुलदेवदेवीमा घटस्थापना स्थापना गरी जमरा राखेर दशैं धुमधामले मनाइन्छ । यतिबेला दाेलखामा रहेका शक्तिपीठहरूमा हजारौं भक्तजनको भीड लाग्छ। जमरा राख्ने विधि, बलि दिने परम्परा, र देवी पूजनमा स्थानीय मौलिकता झल्किन्छ। यहाँको दशैंले धार्मिक आस्था र सांस्कृतिक पहिचानलाई एकैसाथ समेटेकाे पाइन्छ। हिपाथामीकाे जात्रा, खड्गजात्रा, पिङ खेल्नु, विविध साँस्कृतिक कार्यक्रम गर्नु दाेलखाकाे पहिचान हाे ।

गोरखा–काठमाडौं: साँस्कृतिक सम्बन्धको सेतु

गोरखा—जहाँबाट आधुनिक नेपालको एकीकरण सुरु भयो। गोरखाकी गोरखकाली र काठमाडौंको गुह्येश्वरी, मैतीदेवी, हनुमानढोका दशैं घर, यी सबै शक्तिपीठहरू दशैंमा विशेष पूजा आराधनाका केन्द्र हुन्। गोरखाली परम्पराले काठमाडौंको दरबार संस्कृतिमा गहिरो प्रभाव पारेको छ। हनुमानढोकाको दशैं घरमा आजैदेखि जमरा राखी दुर्गा पूजा सुरु भएको छ, जहाँ महानवमीमा ५४ बोका र ५४ राँगाको बलि दिने परम्परा अझै जीवित छ।

बडा दशैं केवल पर्व होइन, यो हाम्रो आस्था, परम्परा, र पहिचानको उत्सव हो। घटस्थापनाबाट सुरु हुने दुर्गा पक्षले हामीलाई शक्ति, समृद्धि र सद्भावको मार्ग देखाउँछ। दोलखाको मौलिकता, गोरखाको गौरव र काठमाडौंको सांस्कृतिक गहिराइले दशैंलाई सम्पूर्ण नेपाली समाजको साझा पर्व बनाउँछ।

यस पर्वले हामीलाई सम्झाउँछ कि हामी विविधतामा एकता खोज्ने राष्ट्र हौं। शुभ घटस्थापना ! शुभ दुर्गा पक्ष ! जय दुर्गा भवानी !!

तस्बिर साभारः सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button