
भगवान विश्वकर्माको स्थापना र प्रारम्भिक चरण
हिन्दू धर्मशास्त्र अनुसार, भगवान विश्वकर्मा ब्रह्माका वंशज हुन्। ब्रह्माका पुत्र धर्म र धर्मका सातौँ पुत्र वास्तुदेव थिए। वास्तुदेवकी पत्नी अंगिरसीबाट विश्वकर्मा जन्मिएका थिए। विश्वकर्मालाई संसारकै पहिलो वास्तुकार र इन्जिनियर मानिन्छ। उनले तीनै लोक स्वर्ग, पृथ्वी र पातालको निर्माण गरेका थिए। ऋग्वेदमा ११ ऋचाहरूमा भगवान विश्वकर्माको महत्त्व वर्णन गरिएको छ।
विश्वकर्मा पूजाको उद्देश्य र महत्व
यो दिन औजार, मेसिन, सवारीसाधन, उद्योग–धन्दा आदिको पूजा गरिन्छ। यसले काममा आउने बाधा हटाउने, दुर्घटना कम गर्ने र समृद्धिको कामना गरिन्छ। विश्वकर्मा पूजा प्रविधि र मेशिनरीहरूको पूजा गर्ने दिन हो। यसले विज्ञान र निर्माणलाई आध्यात्मिक दृष्टिकोणबाट सम्मान गर्छ।
सामाजिक समावेशिता: यो पर्व कुनै जात विशेषको मात्र नभई सबै धर्मालम्बीले श्रद्धापूर्वक मनाउने पर्व हो। मजदुर, इन्जिनियर, व्यापारी, कलाकार सबैले यो दिन विशेष श्रद्धा प्रकट गर्छन्।
ऐतिहासिक हिसाबले विश्वकर्माले निम्न निर्माणहरू गरेको विश्वास गरिन्छ:
- द्वारका नगरी (श्रीकृष्णको नगरी)
- इन्द्रप्रस्थ (पाण्डवहरूको राजधानी)
- रावणको सोनेको लंका
- देवताका हातहतियार र सुदर्शन चक्र
यो पर्वले हामीलाई सम्झाउँछ कि सृजनशीलता, परिश्रम, र प्रविधिको सम्मान गर्नु जीवनको अभिन्न हिस्सा हो। यहाँ प्रस्तुत छ विशेष कथाः
पुरानो समयमा भारतकाे काशी नगरीमा एक रथकार (रथ बनाउने कारीगर) आफ्नो पत्नीसँग बस्दथ्यो। उनीहरू अत्यन्तै मेहनती थिए, तर जीवनमा धनको अभाव थियो। अझ दुःखद कुरा, उनीहरू संतानहीन थिए। संतान प्राप्तिको आशामा उनीहरू बारम्बार साधुहरूकाे शरणमा जान्थे।
एक दिन छिमेकी ब्राह्मणले सल्लाह दिए: “तिमीहरू भगवान विश्वकर्माको पूजा गर। उहाँ सृजनाका देवता हुन्, तिमीहरूको इच्छा अवश्य पूरा हुनेछ।” रथकार र उनकी पत्नीले श्रद्धापूर्वक विश्वकर्माको पूजा गरे। उनीहरूको भक्ति देखेर भगवान विश्वकर्मा प्रसन्न भए र सन्तानको वरदान दिए। केही समयपछि, उनीहरूलाई एक सुन्दर पुत्र प्राप्त भयो। त्यसपछि उनीहरूको जीवन सुखमय भयो।
- श्रद्धा र कर्म: सच्चा श्रद्धा र परिश्रमले जीवनमा चमत्कार ल्याउन सक्छ।
- विश्वकर्मा पूजा: केवल औजार वा मेशिनको पूजा होइन, यो सृजनशीलता, धैर्य र समर्पणको सम्मान हो।
विश्वकर्मा पूजामा प्रचलित मुख्य मन्त्रहरूले पूजा गर्दा आध्यात्मिक ऊर्जा, कार्यसिद्धि र सुरक्षा प्रदान गर्छ:
| मन्त्र | उद्देश्य |
|---|---|
| ॐ विश्वकर्मण नमः॥ | भगवान विश्वकर्मालाई समर्पित मूल मन्त्र |
| ॐ विश्वकर्मा देवाय नमः॥ | कार्यसिद्धि, उद्योग र प्रोजेक्टको सफलता |
| ॐ श्री विश्वकर्मायै नमः॥ | समृद्धि र सृजनात्मक शक्तिको प्राप्ति |
| ॐ वास्तुपुरुषाय नमः॥ | स्थानको शुद्धता र सकारात्मक ऊर्जा |
| ॐ यन्त्राणां पतये नमः॥ | औजार र मेशिनरीको सुरक्षा र सफलता |
प्रत्येक मन्त्रलाई ११ वा २१ पटक श्रद्धापूर्वक जप गर्नु उपयुक्त मानिन्छ। मन्त्र जप गर्दा दीप प्रज्वलन, पुष्प अर्पण, र ध्यान आवश्यक हुन्छ। मन्त्र उच्चारण स्पष्ट र शुद्ध हुनु आवश्यक छ, यसले मानसिक एकाग्रता बढाउँछ।
विश्वकर्मा महाेत्सव मनाउने क्रममा यसवर्ष देशमा भएकाे अकल्पनीय घटनाले विक्षिप्त भएकाे अवस्था र राज्यले शाेक दिवस मनाइरहेकाले आजकाे दिनमा मानवीय समवेदनाकाे ख्याल राख्दै सांगीतिक स्वरहरू नघन्काइकन मनाउने भएकाे छ ।