बिशेषविचारसमाज

गुठी संस्थानद्वारा जारी निर्देशिका २०८१ प्रति दोलखाली गुठीसंग सम्वद्ध सरोकारवालाहरू असन्तुष्ट

काठमाडौं – गुठी संस्थानद्वारा देवस्थल व्यवस्थापन समिति गठन प्रक्रियासम्बन्धी जारी निर्देशिका २०८१ प्रति दोलखाली गुठीसंग सम्वद्ध सरोकारवालाहरू असन्तुष्ट हुँदै वास्तविकता उजागर गर्न गुठी संस्थानको ढोका ढक्ढक्याउन पुगेका छन् ।

काठमाडौंमा रहेका दोलखाली कानुनवेत्ता, बुद्धिजीवी, प्राध्यापक, समाजसेवी, गुठियार, संस्थाका प्रतिनिधि तथा स्थानीय पत्रकारहरूको समूहले आज केन्द्रीय गुठी संस्थानका अध्यक्ष डा.शिवराज पण्डितसंग प्रत्यक्ष भेट गरी छलफल गरेका छन् ।

छलफलको क्रममा दोलखाको तर्फबाट समाजसेवी एवं संस्कृतिप्रेमी अमरकुमार प्रधानले गुठी संस्थानबाट जारी गरिएको निर्देशिकामा उल्लेखित तर्कहरू दोलखाको भीमेश्वर गुठी र कालिञ्चोकको खर्कसम्बन्धी स्पष्ट नभएको तर सो निर्देशिका गुठी संस्थानले जिल्ला प्रशासन कार्यालय दोलखामा प्रेषित गरिसकेको अवस्थालाई मध्यनजर राख्दै निर्देशिका राज्यभरका लागि तोकिएको देखिएको जसमा दोलखा र कालिञ्चोकसँग सम्बद्ध नदेखिएको जिकिर गर्दै यथार्थ बुझ्नका लागि उपस्थित भएको बताए ।

गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डितले देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका २०८१मा देवस्थल भन्नले राज्यभर नै समेटिएकोले स्थानीय देवस्थलको नाम उल्लेख नगरिएको स्पष्ट पार्दै यसै निर्देशिका संशोधन गरी दोलखाको हकमा दफा या उपदफामा समेटेर तोक्ने वचन दिएका छन् ।

गुठी संस्थानका अध्यक्ष डा. शिवराज पण्डित

गुठी संस्थानबाट जा्री गरेको निर्देशिकाको प्रस्तावनामा यस्तो लेखिएको छ– ‘गुठी संस्थान ऐन २०३३ अनुसार राजगुठीहरूको सञ्चालन र बन्दोबस्त गर्ने जिम्मेवारी गुठी संस्थानले बहन गर्दै आइरहेको परिप्रेक्ष्यमा संस्थानबाट बन्दोबस्त हुँदै आएका राजगुठीका मठ, मन्दिर, देवालय, शिवालय, गुम्बा, बिहार, चैत्य समेतको धार्मिक ऐतिहासिक, साँस्क्ृतिक एवं पर्यटकीय महत्वलाई संरक्षण, सम्बद्र्धन र प्रवद्र्धन गर्दै नियािमत सञ्चालन, व्यवस्थापन तथा समयानुकूल विकासका र संरक्षण्का लागि देवस्थल व्यवस्थापन समिति गठन गर्ने सम्बन्धी निर्देशिका जारी गरिएको छ ।’ भनी उल्लेख गरिएको छ ।

यसै निर्देशिकाको परिच्छेद–१ को दफा–२ को उपदफा ‘च’ मा ‘देवस्थल’ भन्नाले मठ, मन्दिर, देवालय, चैत्य, छोर्तेन, बिहार (बहा÷बही), गुम्बा, गुरुद्वार, देवीदेवता रहेको स्थल, देवीदेवताको प्रतिमा राखी वा नराखी सावैजनिक गुठीको पूजाआजा गर्ने गरेको भवन, कुटी, पर्वपूजा वा जात्रा जस्ता धार्मिक तथा सास्कृतिक कार्य हुने स्थल सम्झनुपर्छ ।’ भनिएको छ ।

प्रस्तुत निर्देशिका दोलखाको जिल्ला प्रशासन कार्यालयमा पुगेर पनि प्रमुख जिल्ला अधिकारीको निर्देशनानुसार सम्बन्धित पालिका र सरोकारवालाहरूमा परिपत्र भई आएकोमा सो निर्देशिकामा उल्लेखित बुँदाहरूप्रति चित्त नबुझेकाले दोलखाको स्थानीय गुठीसँग सरोकारवालाहरूसँग राय बुझेर गुठी संस्थानमै छलफल गर्न उपस्थित भएको जानकारी कालिञ्चोक टुटान निवासी शेरप शेर्पाले दिएका हुन् ।

स्मरण रहोस् यो निर्देशिका केका लागि भनेर प्रश्न गर्दा जिल्ला प्रशासन कार्यालय दोलखाले कालिञ्चोक देवस्थल व्यवस्थापन समिति गठनका लागि भनिए पनि निर्देशिकामा दोलखा र कालिञ्चोकको नाम नै उल्लेख नभएकोले सोबारे यथार्थता स्पष्ट पार्न दोलखाका स्थानीय गुठी र कालिञ्चोकसंग सम्वद्ध व्यक्तिहरू काठमाडौं त्रिपुरेश्वरस्थित गुठी संस्थानमा छलफलका लागि आएको सहभागीजनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button