
२०८२ सालको तीजको अवसरमा आफैंले तैयार गरेको आधुनिक पोशाक प्रदर्शनीमा टेवा पुग्नेगरी प्रेम–पूर्ण–प्रताप फाउण्डेशनकी संरक्षक पद्मा प्रधानले थामी समुदायका केही किशोरीहरूलाई आर्थिक सहयोग गरेकी छन् ।
तीज पर्वमा प्रदर्शन गर्ने लक्ष्यित गरी कपडा सिलाई बुनाई तालिमबाट दक्षता प्राप्त गरेर आफैंले तैयार पारिएको आधुनिक डिजाइनका वस्त्रहरू लगाएरै यस वर्ष प्रदर्शन गरिएको थियो । उक्त प्रदर्शनीको तैयारीमा रहेका किशोरीहरूलाई स्रोत सहज बनाउन नगद रू. २० हजार रूपैयाँ सहयोग गरेको फाउण्डेशनकी अध्यक्ष प्रधानले प्रत्यक्ष कुराकानीमा बताएकी छन् ।

अमेरिकालाई कर्म क्षेत्र बनाएर परिश्रम गरिरहेकी प्रधानले यसभन्दा पहिले पनि कृषि, पशुपालन, शिक्षा अध्ययनका लागि यथाशक्य साथ सहयोग दिंदै आफ्नै मातहतमा स्थापना भएको प्रेम–पूर्ण–प्रताप फाउण्डेशनबाट नेपालका दुर्गम स्थानमा रहेका विद्यालयका विद्यार्थीहरूलाई पोशाक, पुस्तक, पाठ्य सामग्री, खेलकुदका समाग्री प्रदान गर्र्दै आएकी छन् ।
यसैवर्षमात्र विदेशमा गएर उच्च शिक्षा हासिल गर्न चाहने तर आर्थिक स्रोतले नभ्याउने विद्यार्थीहरू ९ जनालाई अमेरिका, अष्ट्रेलिया जस्ता विकसित राष्ट्रका विश्वविद्यालयमा अध्ययन गर्नका लागि निजी स्रोतबाटै आर्थिक सहयोग गरेकी हुन् ।
यस वर्षको तीज कार्यक्रममा थामी समुदायका ती किशोरीहरूले सिलाइ बुनाइ तालिमबाट सीप हासिल गरी आधुनिक डिजाइनका वस्त्रहरू तैयार गरेर प्रदर्शनीलाई प्रतिस्पर्धामा उतारेका थिए । सो कार्यक्रमका लागि संयोजन तथा आयोजकमा दोलखाली युवा अजय प्रधानको विशेष भूमिका रहेको जानकारी स्थानीय स्रोतले जनाएको छ ।