
बागमती प्रदेश दोलखा जिल्ला अन्तर्गतको भीमेश्वर नगरपालिकाको वडा नं. २ दोलखा नगर जुन ठाउँलाई ऐतिहासिक रूपमा अभयपुर शहर भनेर पनि पहिचान खुलेको छ । यस नगरको साँस्कृतिक र सामाजिक रहनसहनको आफ्नै अस्तित्व छ । यहाँको जात्रा पर्वको आफ्नै मौलिकता छ । परम्परा आफ्नै खालको छ ।
दोलखा नगर भित्रका संस्कृति, पर्व, गुठी, भजन, धार्मिक नृत्य, सामाजिक एवं भर्म पुराणका कथामा आधारित नाटक तथा जात्रा सञ्चालनमा धेरैले योगदान दिए । धेरैले आफ्ना खुबी पनि देखाए । जुन व्यक्तिहरू नाम यस स्तम्भमा उतारेर सायदै कम होला । इतिहासको कालखण्डमा दोलखामा हरेक भजनमा उल्लेखित सन्दर्भका नाटकहरू प्रदर्शन गरिएको इतिहास घाम जत्तिकै छर्लङ्ग छ ।
यसमध्ये दोलखा नगरको तल्लो टोलस्थित कोर्छेँ टोल निवासी चक्रबहादुर श्रेष्ठका जेष्ठ सुपुत्र हुन् टिका नारायण श्रेष्ठ । बाबु चक्रबहादुर श्रेष्ठ जसरी जात्रा, पर्व र भजनकीर्तनमा ध्यान दिने गर्नुहुन्थ्यो त्यसरी नै हरेक चौमास भजन चनलु गर्न, लाखे नृत्य, गोपीकृष्ण लीला सांगीतिक नृत्य (स्थानीय भाषामा ट्वाकल प्याखन) निकाल्नका लागि हरदम तैयार हुने गर्दथे टिकानारायण श्रेष्ठ । जो अब यस दुनियाँमा रहनु भएन ।
बुबा चक्र बहादुर श्रेष्ठ त निकै वर्ष पहिले नै यस धरतीबाट विदा लिएर गइसक्नु भएको थियो । उहाँको संस्कृति प्रेम र भजनप्रतिको मोहलाई जो कोहीले बिर्सेको नहोला । उहाँ वाद्ययवादनको हरेक ताल र सुरसंग परिचित भएपनि बजाउनु चाहिँ हुन्नथ्यो । तर उहाँको छोरा टीका नारायण श्रेष्ठ भने हारमोनियममा पोख्त हुनुहुन्थ्यो । दोलखाको महागीता पाटीमा भजन हरेक चौमासमा हुने गर्दथ्यो । त्यतिबेला उहाँ टोलका सबै युवालाई उक्साउँदै उत्साहित बनाएर भजनमा उपस्थिति जनाउनु हुन्थ्यो । हारमोनियम, तबला र सानो झ्याली (स्थानीय भाषामा छिलिमिलि अनि बउल पनि भन्न्थ्यिो ।)को साथमा ‘श्रीत कमला’ गीतगोविन्दको पहिलो मंगलाचरणबाट भजन प्रारम्भ हुन्थ्यो । यसबेला उहाँको हारमोनियमको सुमधुर धुन गुञ्जिन्थ्यो ।
महागीता पाटीमा हरेक साँझमा गुञ्जिएको भजनमा उहाँको स्वर र हारमोनियमको धुनले भजनप्रेमीहरूमा थप उत्साह मिल्थ्यो । उहाँकै सिको गर्दै पछिल्लो पुस्ताका नवराज प्रधान, कृष्ण श्रेष्ठ, वीबहादुर शिवभक्ति लगायतले हारमाेनियम बजाउँदै भजनलाई निरन्तरता दिंदै आएपनि काम र कर्मको सिलसिलामा तितरवितर भएपछि अहिले त्यो पाटी औपचारिकतामा सीमित भएको छ । यस अर्थमा टीकानारायण भजन र संस्कृितका लागि ज्यूँदाे इतिहास हुन् ।
उहाँका जेठो छोरो सुरेन्द्र श्रेष्ठले पनि तबला बजाउने गर्दथ्यो तर विधाताको लीला अपरम्पार छ । उनी अर्बुद रोगका कारण अल्पायुमै यस धरतीबाट विलीन भए । पुत्र वियोगलाई त्यही हारमोनियमकै सारेगमको ताल र पर्दासंगै सम्हाल्दै आउनुभएका संस्कृतिप्रेमी भजनका पारखी टीका नारायण लामो समयसम्म बिमारी हुनुभएको थियो । अन्ततः दैवको शाश्वत लीलालाई आत्मसात् गर्दै ८६ वर्षको उमेरमा गत २०८२ भाद्र ८ गतेको दिनमा देहावसान हुनुभयो । उहाँको पार्थिव शरीरले त्यो परिवेश छाडेर गएपनि उहाँको देन, गुण र विशेषतालाई हरेक दोलखालीले स्मरण गर्न जरुरी छ ।
टीका नारायण श्रेष्ठले भजनमा मात्र हाेइन दाेलखाका परम्परामा सञ्चालन हुने ‘गुन्ला पर्व‘काे ‘ड्वाकु डाकस‘ (भैरवरूपी ठूलाे लाखे), ‘नेपाली डाकस‘ (राती नचाइने लाखे)काे भूमिका निभाउन पाेख्त हुनुहुन्थ्याे भने दशैंमा निकालिने पुर्ख्याैली परम्परालाई साथ दिंदै ‘खड्ग जात्रा‘मा काेर्छेँमि खलकबाट भगवतीकाे रक्षककाे भूमिकामा खड्ग नचाउँदै नाचेर साँस्कृितक झल्काे दिन तत्पर हुनुहुन्थ्याे । हाल साे अभिभारा उहाँका सुपुत्र चरित्र श्रेष्ठले निभाउँदैछ ।
यसरी नै हरेक संस्कार र संस्कृति पुस्तान्तरण हुँदै गएमा दाेलखाकाे माैलिक परम्पराले कदापि विश्राम लिने छैन । तर दुःखकाे कुरा माथिल्लाे टाेलमा कलाकारकाे अभाव र केही गुठीयारहरू गुठीकाे पालाेमा समेत काठमाडाैंबाट दाेलखा नगइकन बहानाबाजी गरेर परम्पराबाट पन्छिने प्रवृत्तिले दाेलखाकाे जात्रा संस्कृतिमा बिरानाेपन छाउँदै गएकाे देखिन्छ ।
हुन त समयले प्रविधिको विकास गरायो हरेकको हातमा सर्वोपरि भ्याउने मोबाइल हातहातमा छ । पहिलेको जस्तो भजन सुन्न देवस्थल नै धाउन जरुरी छैन न त चलचित्र हेर्न सिनेमा घर नै धाउनु पर्छ । तर संस्कृति सम्पदा र परम्परा भनेको हाम्रो आफ्नो पहिचान हो जसलाई प्रविधिसंग हातेमालो गरेर हामीले बिर्सनु हुन्न । अहिले हामीले जे जति जानेका छौँ त्यो ज्ञान र सीप भावी पुस्तालाई सिकाउने अभियानको थालनी गरौँ । जसरी अमर संस्कृतिप्रेमी टीका नारायण श्रेष्ठज्यूले बिरामी अवस्थामा पनि जात्रा पर्व मनाइरहेको ठाउँमा अगाडि उभिएर होसला प्रदान गर्नुहुन्थ्यो । उहाँको आत्माले शान्ति प्राप्त गरुन् ।