Headlineबिशेषविचारसमाज

संस्कृतिको छायाँमा तीजको उज्यालो हराउँदैछ

✍️ श्यामसुन्दर

नेपालको सांस्कृतिक जीवनशैलीमा तीज पर्वको विशेष स्थान छ। हिन्दु धर्मग्रन्थहरूमा वर्णन गरिए अनुसार पार्वतीले महादेवलाई पति पाउन गरेको व्रतको स्मरणमा मनाइने यो पर्व आज नारी सशक्तीकरणको प्रतीकका रूपमा पनि चिनिन्छ। तर पछिल्ला वर्षहरूमा तीजको स्वरूपमा आएको परिवर्तनले यसको मौलिकता, मर्यादा र सामाजिक सन्देशमाथि गम्भीर प्रश्न उठाएको छ। जुन कुरामा धेरैजनाले बुझेर पनि बुझ् पचाइरहेकाे देखिन्छ ।

विगत केही समय यता प्रायः शहरी क्षेत्रमा तीजको नाममा दर खाने कार्यक्रमहरू समयभन्दा धेरै अगाडि सुरु हुने, गीत-संगीतमा अश्लीलता मिसिने र टिकटक–युट्युबमा भ्युजको होड चल्ने दृश्यले पर्वको गरिमा नै हराउँदै गएको जस्ताे महसुस हुन थालेकाे छ। नारी स्वतन्त्रताको नाममा केही नारीहरूमा उछृङ्खलता बढ्नु र त्यसको आलोचना गर्दा ‘अधिकार हनन’ भन्दै प्रतिवाद हुनु यी सबैले सभ्य समाजमा अपत्यारिलाे तरिकाले असहजता सिर्जना गरिरहेकाे पाइन्छ ।

तीज गीतहरूमा मौलिकता हराउँदै गएको छ। परम्परागत मादलकाे ताललाई डिजिटल प्रविधिले छाेप्दै ढाक्दै ड्रमकाे ठूलठूला ध्वनिले विक्षिप्त बनाएकाे पाइन्छ, यस्ता खाले आधुनिकता मिश्रित गीतले न त नारीको पीडा बोल्छ, न त सामाजिक सन्देश दिन्छ। झन् पुरुष कलाकारहरूले पनि तीजको नाममा भल्गर गीत सिर्जना गरेर डिजिटल प्लेटफर्ममा लोकप्रियता खोज्ने प्रवृत्ति बढेको छ। यसले तीजलाई पर्वभन्दा पनि ‘ट्रेंड’ बनाइदिएको छ। जसकाे फलस्वरूप धर्मकाे अनुयायीहरू पछि परेकाे देखिन्छ ।

संस्कृति समयसँगै परिवर्तन हुनसक्छ, तर त्यस्ताखाले परिवर्तनले मूल्य र मर्यादा मेटाउनु हुँदैन। तीजको मौलिकता जोगाउन, यसको धार्मिक र सामाजिक पक्षलाई सम्मान गर्न, र पर्वलाई पर्वकै रूपमा मनाउन आवश्यक छ। नत्र, संस्कृतिको नाममा विकृति फैलाउने यो प्रवृत्तिले हाम्रो सांस्कृतिक पहिचानलाई गम्भीर संकटमा पुर्‍याउनेछ। यसबारेमा प्रशासन र राज्यपक्षले पनि नेपाली माैलिकताबारे विचार विमर्श गर्न जरुरी रहेकाे छ ।

हामीले अब प्रश्न गर्नुपर्छ कि के हामीले सांस्कृतिक पक्षमा उभिएरै परम्परागत माैलिक पर्व मनाइरहेका छौं कि केवल ठाँटबाँटकाे लागि प्रदर्शन गरिरहेका छौं ? अब चिन्तन गर्ने पालाे पाठकहरूकाे ।

प्रतीकात्मक तस्बिर साभारः कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button