दोलखाका चाडपर्व निरीह बन्दै : परम्परा, प्रशासन र बेवास्ताको त्रासदी

सांस्कृतिक क्षयको गहिरो विश्लेषण
दोलखा जिल्ला नेपालको सांस्कृतिक र ऐतिहासिक दृष्टिले समृद्ध क्षेत्र हो। यहाँका जात्रा–पर्वहरू केवल धार्मिक अनुष्ठान मात्र होइनन्, सामाजिक एकता, परम्परागत ज्ञान र सामुदायिक चेतनाका प्रतीक हुन्। तर पछिल्ला वर्षहरूमा ती चाडपर्वहरू निरीह बन्दै गएका छन्। यसको मूल कारण जनस्रोतको कमी, स्थानीय निकायको शिथिलता, राजनीतिक हस्तक्षेप, र सामाजिक संस्थाहरूको उदासीनता हो।
दोलखाको प्रसिद्ध भैरव–कुमारी जात्राजस्तो गरिमामय पर्वमा स्थानीय वडापालिकाले बत्तीको व्यवस्था नगर्नु, सरसफाइमा ध्यान नदिनु अत्यन्तै दुःखद पक्ष हो। बजार क्षेत्रबाहेकका गल्लीहरू अँध्यारो, खाल्डाखुल्डी, झाडीले भरिएका छन्। यस्तो अवस्थामा वाइसीएलका युवाहरूले बाध्यतावश व्यवस्थापन गर्नु परेको छ, जुन राज्यको जिम्मेवारी हो।

परम्पराकाे नमूनाकाे रूपमा रहेकाे दाेलखाका सांस्कृतिक पर्वहरूलाई विशेष प्राथमिकता दिनुपर्ने भीमेश्वर नगरपालिकाका जनप्रतिनिधि प्रमुखहरू सदरमुकाम केन्द्रित योजना र अनुकरणात्मक कार्यक्रम सञ्चालन गर्नमा सीमित भएका छन्। जसले गर्दा सांस्कृतिकरूपमा लाेकप्रिय रहेकाे रानीपोखरीजस्तो पौराणिक स्थलको पानी समेत सफा नगरिनु र त्यसको दुषित अवस्थामा रहेकाे पानीमा जात्रा सञ्चालन गरिनु पर्ने देखिँदा पनि नगरपालिकाले वास्ता नगर्नु अत्यन्तै चिन्ताजनक विषय हो। जब कि स्थानीय जनप्रतिनिधि अन्य नगरपालिकाकाे विकसित अनुहार र व्यवस्थित वातावरण देखिरहेकै हुनुपर्दछ ।
एउटा नगरपालिकाकाे इतिहासमा सजिएकाे दाेलखा नगरकाे परिसरमा जताततै घाँसपात, झाडीहरू टन्न हुँदा समेत वास्ता नगरी रहँदा एउटा राजनीतिक पार्टीकाे युवा समूह जमात साे स्थानमा पुगेर बजार, गल्ली सफाइ गर्दा कुन अनुहारले जनप्रतिनिधि भएकाे महसुस गरिने हाे ? अबकाे समयमा सच्चा नागरिकरूपी मतदाताले कसरी मूल्यांकन गर्लान् त ? के ती कुराहरूमा चिन्तन गर्ने साेच हाेलान् त ?

“पौराणिक परम्परामा आधारित रानीपोखरीको पानी सफा नगरिनु, र त्यसको दुषित अवस्था देखिँदा पनि नगरपालिकाले वास्ता नगर्नु अत्यन्तै चिन्ताजनक विषय हो।”
दाेलखामा जन्म लिएर कर्म गर्न र अध्ययनका लागि राजधानीमा रहेका दोलखाली नागरिकहरूको समूहगत २२/२३ वटा सामाजिक संस्थाहरू छन्। हरेक संघसंस्थाकाे उद्देश्य दाेलखाकाे लागि केही गराैं भन्ने नै हाे तर ती संस्थाहरूले जन्मस्थलप्रति जिम्मेवारी लिनुको सट्टा मौनता अपनाउनु अत्यन्तै दुखद पक्ष हो। सांस्कृतिक संरक्षणमा उनीहरूको सक्रियता अत्यावश्यक छ।
“जन्मथलोप्रति बेवास्ता गर्नु केवल भावनात्मक विच्छेद होइन, सांस्कृतिक उत्तराधिकारको तिरस्कार हो।”
दाेलखाकाे विभिन्न गुठी व्यवस्थापनमा राजनीतिक र निजी हस्तक्षेपले परम्परागत सांस्कृतिक संरचना कमजोर बनाएको छ। एउटा दलले ल्याएको स्वक्षेत्र विकास योजना अर्को दलको विरोधको शिकार हुन्छ। यसले जात्रा व्यवस्थापनलाई समेत दलदलबीचको हानाथापमा फसाएको छ। गुठीहरूमा राजनीतिक हस्तक्षेपले धार्मिक र सांस्कृतिक स्वतन्त्रता गुमाउँदै गएको स्थानीयहरूकाे गुनासा रहेकाे छ ।
अधिकांश दाेलखाली युवायुवतीहरूको बसाइँसराइले जात्रामा सहभागी हुने जनशक्ति घट्दै गएको तथ्यलाई नकार्न सकिन्न । परम्परागत ज्ञान र अनुभव बोकेका सांस्कृतिकविद्हरू बुद्धिजीवी पाका व्यक्तिहरू सक्रियताबाट पछि हट्दै गएका देखिएका छन् । यसले जात्राको मौलिकता र निरन्तरतामा बाधा पुर्याएको छ। रैथाने स्थलमै पनि विभिन्न भाषाभाषीको आगमनले विशुद्ध सांस्कृतिक रूप गुमाउँदै गएको छ।

निष्कर्षः दोलखाका चाडपर्वहरू निरीह बन्दै जानु केवल सांस्कृतिक क्षय होइन, सामूहिक चेतनाको पतन हो। अब के गर्ने त ?
- जनप्रतिनिधिहरूले सांस्कृतिक पर्वहरूलाई प्राथमिकता दिनुपर्छ।
- काठमाडौँमा रहेका दोलखालीहरूले जन्मभूमिप्रति जिम्मेवारी लिनुपर्छ।
- नगरपालिकाले रानीपोखरीजस्ता पौराणिक स्थलहरूको संरक्षण गर्नुपर्छ।
- राजनीतिक हस्तक्षेप अन्त्य गरी गुठी व्यवस्थापनलाई स्वतन्त्र बनाइनुपर्छ।
- युवाहरूलाई जात्रामा सहभागी गराउने अभियान चलाइनुपर्छ।
“पुर्खाले सिर्जना गरेको परम्परा जोगाउनु केवल कर्तव्य होइन, अस्तित्वको प्रश्न हो।”