Headlineबिशेषविचारसमाज

सुस्ताएको दिनसँगै ब्यूँझिएको रातः दोलखाको बालकुमारी जात्राको आज अन्तिम दिन

नेपालको अनेकौं साँस्कृतिक पर्व र जात्राहरुमध्येमा एकदमै दुर्लभ र अलौकिक महिमाले सजिएको दोलखाको ‘बालकुमारी जात्रा’ आजको रात निस्केर भोलि अर्थात् सप्तमीको बिहानीसँगै यस वर्षको लागि विसर्जन हुँदैछ ।

विगतका उल्लासमय वातावरणमा गुञ्जायमान शहरमा छाएकाे सन्नाटायुक्त दिनसँगै जागृत रातका बालकुमारी भैरव जात्राले झीनाे ताजगी दिंदै स्मरणमा दाेलखा स्फूर्तपन ल्याएकाे छ । जहाँकाे जात्रा हेर्नका लागि भीमेश्वर नगरपालिकाका प्रायः सबै वडाका बासिन्दा झुम्मिएकाे दाेलखा नगरमा याे बेला स्थानीय स्वबासीकाे चहलपहल प्रायः शून्य भएकाे छ ।

असार कृष्णपक्षको चतुर्दशीको दिन अर्थात् नेपाल सम्वत्को पात्रो अनुसार ‘दिल्लागा चह्रे’मा हुने घण्टाकर्ण पर्वबाट सुरु हुने नेवार समुदायको ‘गुन्ला पर्व’ भाद्र शुक्ल अष्टमीको दिन श्रीकृष्णको जन्मोत्सवसँगै विसर्जन हुने प्रचलन रहेको छ । यही क्रममा जोडिएको यस पर्वको बीचमा साउन कृष्णपक्षको द्वितीयाको रातबाट दोलखामा ‘बालकुमारी जात्रा’ (भैरवकुमारी) सुरु हुन्छ जुन क्रम सप्तमी (गुन्लागा)को बिहानीपखसम्म निरन्तर रहन्छ ।

दोलखामा पाँच रात पुरै नचाइने यस जात्रा देवगणदेखि असुरगणसम्मको कथा जोडिएको यस जात्रामा भूत, प्रेत, पिशाच लगायत अदृश्य शक्तिसम्मको महिमा यसमा गाँसिएको हुन्छ । मानव कल्याणका लागि देवीदेवताले गरिने दया र करुणाको अभिप्राय यस जात्रामा समाहित भएको हुन्छ । यस जात्राको अन्तर्कथा बुझ्दै जाँदा देवशक्ति र दैवीय शक्तिलाई पनि परास्त गर्न सक्ने क्षमता र वैभव शक्ति मानवलाई भैरव देवता र काली देवीले दिएको हुन्छ जुन मानवकै कल्याणका लागि तान्त्रिकको जिम्मेवारी पाएका वज्राचार्य पद धारण गर्ने मानव गुरुको महत्व विशेष खालको हुन्छ र उनकै मातहतमा हरेक जात्रा सम्पन्न हुने गर्दछ ।

दोलखामा नचाइने यो बालकुमारी जात्राले सामाजिक, ऐतिहासिक र साँस्कृतिक जीवनका पर्यायलाई छर्लङ्ग पारेको देखिन्छ । जस्तो कि मानवीय जीवन धान्नका लागि माछा व्यवसायका लागि जाल सहितको प्रदर्शन गर्ने (जाल ङकु), असुरको संहार गर्दा त्यसको दुषित वस्तु र रक्तकणको छिटा अरुलाई नपरोस् भन्नका लागि संकलन गर्न बाँसको ढुंग्रो बोकेको प्रारुपमा (नास डेङ्गु) घरेलु उद्यमता, पूजाआजा गर्ने विधि, सन्तानको सुरक्षा लगायत राज्य व्यवस्थाका लागि राजा यानेकि मुख्य व्यक्ति (सरगउ) , घरगृहस्थी चलाउन र उद्यमी गर्नका लागि मुल नायिका जो रातो मकुण्डो रातै वस्त्रमा निस्कने (नकिन), अनि ती सबैको सुरक्षार्थ उनीहरूलाई देवशक्ति, अदृश्य शक्ति र दैवीय शक्तिले पीडा नदिउन् आक्रमण नगरुन् भनेर तान्त्रिक शक्तिले मार्ग सहज बनाउन अघिअघि लागेर मार्गदर्शकको रूपमा हिँड्ने तान्त्रिक गुरु (टिलिङ् टिलिङ्),ती सबैका लागि आवश्यक सामग्री बोक्ने (बारन येङ्गु), आफ्नो अभिभावकले छाडेर जालान् भनेर पछिपछि लाग्ने भैरव र बालकुमारीका सन्तानले पारिवारिक वात्सल्यको ज्ञान दिएको परिदृश्य यस बालकुमारी नृत्यमा स्पष्ट देख्न पाइन्छ ।

सर्सर्ती हेर्दा यो बालकुमारी जात्राको पात्रहरूको स्थानीय भाषाको प्रयोगबाट राखिएको मौलिक नामले दोलखाको वास्तविक भाषा पे्रम देखाइएको भए पनि धार्मिक, ऐतिहासिक र साँस्कृतिक पहिचानको हिसाबले वस्तुतः त्यो जात्रामा सहभागीहरूको मुख्य आशययुक्त व्याख्यामा केही अपुग भएको हो कि जस्तो आभास हुन्छ ।

यस वर्षको जात्रामा दोलखाको आँगन डबलीहरूमा जात्रा प्रदर्शनीको कमीले ‘गाइजात्रा’कै व्याख्या गरिएको जस्तो महसुस भएको जानकारी केही स्थानीयहरूको गुनासोले बताएको भए पनि जनस्रोतको कमि भएको पहिलो कारण देखियो । दोस्रो कारण एकले अर्कालाई दोषरोपण गर्नु, मेरो पालामा यस्तो गरेको उस्तो गरेको भन्दै कोठाबाटै बाहिर निस्कन हिच्किचाउनु, आम्दानीमात्र नजर तेस्र्याउनु बुझियो । तेस्रो कारण भनेको चुनावीताका दिएका आश्वासनलाई पोको पारेर कुम्भकर्ण बनेका जनप्रतिनिधिहरूले चासो नदिनु पनि हो भन्दा फरक नपर्ला ।

चौठी र पञ्चमीमा जात्र निकाल्ने व्यवस्थापनका लागि स्थानीय वडापालिका, गुठी व्यवस्थापन, संघसंस्थाहरू मौन रहनुले दोलखाको भावी जात्रा पर्वमाथि प्रश्न तेस्र्याएको छ । स्थानीय पालिकाले यस्तो महत्वपूर्ण जात्रा हुने शहरमा विजुली बत्तीको उचित व्यवस्थापन नगर्नु, दोलखा नगरमा सरसफाइ समेत नगरिएको पाइनुले कसरी समृद्धताको शहर भन्ने हो त ? भन्ने नै हो भने नगरप्रमुख र वडाप्रमुख दुवैजना दोलखाको इतिहास र संस्कृति परम्परा बारेमा गर्भैदेखि जानि आएका कुरालाई समेत बेवास्ता गर्नुले पनि दोलखामा जात्रा सुस्ताउँदै गएको हो भन्न असहज नहोला । स्थानीय वडाध्यक्षले जता पनि अनुहार देखाएर समन्वय र सहभागीको उदाहरण प्रस्तुत गरिए पनि वडाका सम्पूर्ण (दोलखा बजार भित्र र बाहिर)लाई सहभागिता गराउनबाट अलग्गिनुले पनि दोलखाप्रति उपेक्षा गरिएको देखिएको छ । होइन भने दोलखाको एक एक मौलिकताबारे जान्नेबुझ्ने भएर पनि नगरपालिकामा आफ्नो वडाको साँस्कृतिक पर्व जात्राको लागि नगरप्रमुखलाई आकर्षित पार्न नसक्नुको कारण के हो त ? सरकार आफ्नै, बहुमत आफ्नै हुँदा पनि दोलखाप्रति गम्भीर ध्यानाकर्षण किन भएन ?

यसपालि साँस्कृतिक नगरमा परम्परागत राेपाइँ जात्रा, लाेक भाकाका नृत्य, ज्यापु नृत्य जस्तै अन्य हास्य प्रहसनहरू देखा परेनन् तथापि दाेलखाली युवा अजय प्रधानकाे पहल र समन्वयमा संस्कृितविद्हरूकाे माहाेलबाट अलि पर रहेका थामी समुदायकाे मारुनी नृत्यले बजार रन्काइिदएकाे दृश्य देख्न पाइयाे । यदि स्थानीय निकायले अझ राम्राे पहल गरेकाे भए तामाङ सेलाे, नेपाली टफ्फा खैंजडी भएपनि घन्किन्थ्याे हाेला सायद ।

अन्तमा, यसपालिको बालकुमारी जात्रामा ‘वज्राचार्य’ पुनर्ताजगी भएर जात्राको माहोलमा उत्साह थपिदिएकोमा हार्दिक आभार दिन कञ्जुस्याइँ गर्न हुन्न । त्यस्तै जात्रामा आफ्ना कलिला बालक छोरा सहितको बालकहरूलाई लाखे बनाएर, थामी समुदायको मारुनी नृत्य प्रदर्शन गर्नका लागि तत्परताका साथ लागिपरेका युवा नेता अजय प्रधान धन्यवादका पात्र बनेका छन् । त्यस्तै हरेक जात्रामा समय खर्चेर आफ्नो स्वास्थ्यको समेत ख्याल नराखी जात्रा सञ्चालनमा सहभागी हुने वाद्यवादकगणमा हार्दिक आभार छ । त्यसैगरी आफ्ना नियमित जात्रामा सम्मिलित हुन निद र भोकलाइ थाती राखेर लागिपरेका शिवभक्ति खलक, गुन्ला पर्वलाई उत्साहित गराउँदै गुठी मार्फत् लागि परेका कोर्छेमी खलक र दोलखाको ‘देउ उइरी’ संस्कार प्रचलनलाई निरन्तरता दिने दुवै टोलका डापा खलकलाई हाम्रो मिडियाको तर्फबाट सहृदयी नमन छ । अस्तु !

दाेलखाकाे चाेक डबलीमा छमछमी नाचेकाे थामी समुदायकाे मारुनी नृत्य
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button