
भर्खरै प्राप्त जानकारी अनुसार २०७२ सालको भुकम्पले क्षति भएको अद्भभुत शक्ति भएको भैरब कुमारी जात्राको भवन संघ सस्था र स्थानियहरुको रु.७८ लाख ५९हजार ५ सय ८० रुपैया आर्थिक सहयोगबाट टसिचा स्थित पुणनिर्माण भएको भैरवकुमारी भवनबाट २ वर्ष रोकिएर पिङ्गलबाट निस्केको जात्रा यो वर्षदेखि पुनः टसिचाबाट निस्कने तैयारी भएको छ ।
नेपाल सम्वत ११४५ गुन्लागा द्वितीया तिथि, (२०८२ साउन २६) दोलखा – देशैभरमा निकै लोकप्रिय रहेको दोलखाको भैरबकुमारी (बालकुमारी) जात्रा आजको रातीबाट (दिनमा बाहेक) पाँच रातसम्म नचाइँदैछ ।
प्रत्येक वर्षको गाईजात्राको भोलिपल्टदेखि नचाइने समूहमा १४ जनामध्ये ११ जना शिवभक्ति, १ जना वज्राचार्य, १ जना (शिव लिङ्ग समाउने) र १ जना (गोकुल धुप बाल्ने अहिले त्यो छैन) रहेको हुन्छ । त्यसैगरी वाद्यवादनमा १२ जना सहनाइ फुक्ने कपाली समुदाय, १ जना ढोलक बजाउने र ‘छुक्स्येल’ (सानो झ्याली) गरी २ जना खड्गी समुदायको रहेकोमा अहिले ढोलक र छुक्स्येल अन्य समुदायले पनि बजाउन थालेका छन् ।

मुख्यतः शिवभक्ति समुदायमा केन्द्रीत रहेपनि यो जात्रामा वज्राचार्य, कपाली, खड्गीको पनि विशेष भूमिका रहेको हुन्छ । भैरव (हाकौ), बालकुमारी (हेँगौ), तान्त्रिक गुरु (टिलिङ् टिलिङ), तन्त्रसिद्ध सामानको भाँडा बोक्ने (बााह्रलुङा), इन्द्र (सर गउ), नित्पुल देवी (नकिन थाजी येङ्गु), माझी देव (जाल ङकु), नाक कटुवा (नास डेङ्गु), भैरवको साथमा नाच्ने चेला २ जना र बालकुमारीको साथमा नाच्ने २ जना रहन्छन् ।
रातको करीब साँढे ९ बजेदेखि १० बजेको हाराहारीमा निकालिने यो जात्रा भोलिपल्ट बिहान साँढे चार देखि ५ बजेसम्म नाचेर भित्र जाने चलन रहेको छ । तर हिजोआज हेर्ने दर्शकको कमीले गर्दा अलि छिटै नै भित्य्राउने गरिन्छ । विगतका दशकहरूमा रातभरी नै मट्टितेलबाट बल्ने मैनटाेल बाल्नेहरूकाे प्रतिस्पर्धा हुन्थ्याे । त्यस्तै साे जात्रामा सहभगी भइ धुप बाल्नेहरू पनि टाढा टाढाबाट त्यहाँ पुग्दथे ।

अहिले राजधानी काठमाडाैंमुखी दाेलखाबासी नै साे जात्रामा सहभागी हुन छाडेका छन् । तथापि देवी देवताप्रतिकाे गहिराे आस्था र दाेलखाकाे प्रतिष्ठा बुझ्नेहरू सात काम छाडेर भए पनि उपस्थिति जनाइरहेका छन् । संस्कृित र संस्कार कुल रमुल जाेगाएर जगाउन स्थानीय जन्मबासी तत्पर भए आन्तरिक तथा वाह्य पर्यटकहरूकाे भेला हुन असम्भव प्रायः नहाेला ।
भैरवकुमारीको जात्राबारे विभिन्न किंवदन्तीहरु रहेका छन् । जसमध्ये विशेष जानकारी पाउनका लागि दोलखाका जेष्ठ नागरिक यज्ञकुमार प्रधानद्वारा लिखित पुस्तक ‘दोलखाको साँस्कृतिक सम्पदा’को पृष्ठ १८६–१९४ मा पढ्न सकिन्छ । भैरवकुमारी जात्राकाे महिमा निरन्तर रूपमा अघि बढाउन हामी सबैकाे साथ सहयाेगकाे खाँचाे रहेकाे छ ।
भर्खरै प्राप्त जानकारी अनुसार २०७२ सालको भुकम्पले क्षति भएको अद्भभुत शक्ति भएको भैरब कुमारी जात्राको भवन संघ सस्था र स्थानियहरुको रु.७८ लाख ५९हजार ५ सय ८० रुपैया आर्थिक सहयोगबाट टसिचा स्थित पुणनिर्माण भएको भैरवकुमारी भवनबाट २ वर्ष रोकिएर पिङ्गलबाट निस्केको जात्रा यो वर्षदेखि पुनः टसिचाबाट निस्कने तैयारी भएको छ ।

फाेटाे साभारः सामाजिक सञ्जाल दाेलखाकाे तर्फबाट