
काठमाडौ ं२०८२ साउन २२ – विविध विशेषताले भरिपूर्ण भएको नयाँ बजार, विष्णुमती पुल नजिकैं रहेको जीवित भू समाधिस्थल परिसरमा आज दोलखा जिल्लाका उप्रेती समाज लगायतका विभिन्न सामाजिक संस्थाले सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् ।
गाईजात्रा २०८२को पुण्य अवसरमा दोलखाका उप्रेती समाजसेवा समिति, साहित्यिक पत्रकार संघ, गौरी शंकर च्छोरोल्पा मिडिया प्रा.लि. च्छोरोल्पा खबर, एस एस फाउन्डेसनसहितले सरसफाइको आयोजना गरी सामाजिक दायित्व पूरा गरेका छन् । साथै उक्त सरसफाइ कार्यक्रममा वडा नं.२६ का समाजसेवी दोलखाली नागरिक युवा शंकर जोशीका साथमा कामपा वडा, सामुदायिक प्रहरी तथा स्थानीयहरूको सहभागीता रहेको थियो । सूचना स्रोत समन्वयकर्ताको रूपमा तीनधारा मिडिया पनि सहभागी भएका हुन् ।

काठमाडौंको म्हेपि मन्दिर परिसरदेखि दक्षिण, विष्णुमती नदीदेखि पूर्व नयाँबजार–सोह्रखुट्टे सडकबाट उत्तरमा रहेको यो समाधिस्थलमा विगत ७०० वर्षदेखि अखण्ड ज्योति प्रज्वलन रहेको विश्वास गरिएको छ । सो समाधिस्थलमा ३ महाराजहरु महायोगी श्री यथिराम दास जी महाराज (१५११), सदगुरुदेव महायोगी श्री ब्रम्हहरिदास जी महाराज (१४३२) र उप्रेती वंंशीय महायोगी श्री गोथलराम दास जी महाराजले जिवित समाधि लिनु भएको भू समाधिस्थल परिसरको सरसफाई गरिएको हो ।
तीनै महाराजले १६६४ मा एकै दिन, एकै समयमा जीवित भू समाधि लिनु भएको विश्वास गरिएसँगै सो आश्रममा ७०० वर्ष देखिको धुनी निरन्तर बलिरहेको जानकारी हाल सो आश्रममा विराजमान योगी महाराजले दिनुभएको छ ।

यस भू–समाधिस्थलको महत्व धार्मिक, आध्यात्मिक र सांस्कृतिक दृष्टिले अत्यन्त गहिरो मान्न सकिन्छ । हुन त नेपालको यो समाधिस्थल जस्तै पूर्वी नेपालको चारसुरे डाँडा इलाममा रहेको लिम्बू समुदायको सामूहिक समाधि(चिहान)स्थल पनि सांस्कृतिक र जातीय पहिचानको प्रतीकको रूपमा रहेको मानिन्छ । त्यस्तै एसिया महादेशकै इरानमा रहेको खोमेनी स्राइन इस्लामिक क्राीितका नायकको समाधिस्थल रहेको मानिएको छ ।
हाल समाधिस्थलमा रहनुहुने योगी महाराजका अनुसार जीवित समाधि भन्नाले कुनै योगी वा सन्यासीले आफ्नो शरीरलाई त्याग नगरी ध्यानमा लीन हुँदै भूमिमा समाधिस्थ हुने प्रक्रिया हो । यो क्रिया गतिविधि अत्यन्त उच्च आध्यात्मिक अवस्था प्राप्त गरेका व्यक्तिहरूले मात्र गर्ने मानिन्छ, जसले शरीरको नियन्त्रण, प्राणको स्थिरता, र चित्तको एकाग्रता पूर्णरूपमा हासिल गरेका हुन्छन् । हिन्दू धर्ममा यसलाई मोक्ष प्राप्तिको एक मार्ग मानिन्छ, जहाँ योगीले संसारिक मोह त्यागेर परमात्मासँग एकाकार हुने प्रयास गर्छन् ।
उप्रेती वंंशीय महायोगी श्री गोथलराम दास जी महाराजले जिवित समाधि लिनु भएको भू समाधिस्थल परिसरलाई सुन्दर र सफा राख्न यो सरसफाई अभियान सातौं शताब्दी पछाडिका उप्रेती समाज समितिले नै गर्ने पहल गरेका हुन् । हाल यस स्थललाई तपोवन, शंखवन, साधुकुटी, संगत वन, महन्त वनले प्रसिद्ध प्राचीन उदासिन नामक मठको नामले चिन्न सकिन्छ ।
