
दाेलखा असार २३ – दाेलखा जिल्लाकाे जिरी नगरपालिका वडा नम्बर ९ ठुलोपातलको बसेरीमा रहेको जलविद्युत परियोजनाको पावर प्लान्टमा हिजो दिउँसो आएको पहिरोले क्षति पुर्याएको जानकारी प्राप्त भएकाे छ ।
परियाेजना क्षेत्र नजिकैकाे माथिबाट आएको पहिरोले पावर प्लान्टको भवन क्षति हुनाकाे साथै त्यहाँ भएका केही उपकरणमा समेत सामान्य क्षति पुगेको कुरा स्थानीय स्राेतद्वारा बताइएकाे छ ।
परियोजनाका प्रबन्धक कुमार फुयाँलकाे भनाइ उदृत गर्दै ६३५ किलोवाटको झाँक्रे खोला जलविद्युत परियोजनाको भवन पहिरोले भत्किएको र पावर प्लान्ट समेत पुरेको स्राेतले जनाएकाे छ ।स्राेतका अनुसार पावर प्लान्टका अन्य संरचना र उपकरण जोगाउन पहिरो पन्छाउने काम भैरहेको छ ।
प्रबन्धक फुयाँलले खिम्ती ग्रामीण विद्युत सहकारी संस्था (केआरईसी) ले स्काभेटरले पहिरो पन्छाउने काम गरिरहेको भएपनि लेदो सहित ढुंगाहरू बग्ने काम भैरहेको बताएका छन् ।
खिम्ती १ जलविद्युत केन्द्रले आयोजना प्रभावित दोलखा र रामेछापका वासिन्दालाई विद्युतिकरण गर्नका लागि ६३५ किलोवाटको झाँक्रे जलविद्युत परियोजना निर्माण गरेको थियो ।
परियोजनाको पावर प्लान्टमा गत फागुनदेखि नै समस्या भएर उत्पादन बन्द भएकै बेला पहिरोले समेत पावर प्लान्टमा क्षति पुर्याएकोले केआरईसीले ४०० किलोवाटको हलुवा खोलाबाट उत्पादित विजुली वितरण गरिरहेको स्राेतले बताएकाे छ ।