
बसन्त ऋतुको सेरोफेरोमा मनाइने यो रङ्गीन पर्व हिन्दू धर्ममा आधारित भएर मानिने गरिएको भए पनि विगत केही दशकदेखि आम सर्वसाधारणले मनाउन थालेका छन् ।
यतिबेला प्राकृतिक वातावरण नै रङ्गीन देखिने समय हो । वनउपवनमा फुल्न थालेका गुराँस, चिमाल, पलाँस, सुनाखरी, सुनगाभा फूलले डाँडाकाँडा, पाखापर्वत नै ढाकिदिनाले वनचरी, कोइली, डाँफे, मयुरले समेत आआफ्ना वस्त्राभुषण पखेटा फिजाउँदै नाच्ने बेला भएकोले नै मानिसमा यो होली खेल्ने प्रेरणा मिलेको हुनसक्छ ।

यो रङ्गमय चाडलाई धार्मिक कथनमा रावणकी बहिनी होलीका, मथुराका कृष्ण गोपिनी, गुरुमापा राक्षसको किम्वदन्तीसँग जोडेर मनाइए पनि नेपालमा रहेका नेवार समुदायले अलिक फरक दृष्टिकोणले मनाउने गरेको पाइन्छ । जस्तो कि,
यस पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुंडिखेलमा लगी जलाइन्छ । उक्त चीरमा राखिएका ध्वजापताका औषधोपचारको काममा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाइन्छ ।

फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठक अगाडि मैलको रुखलाई रङ्गीचङ्गी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु शुरु हुन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको दश पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
त्यस्तैै भक्तपुरमा यो फागुलाई पाँचपाण्डवको भीमसेन र द्रौपदीको रासलीलासँग सम्बन्ध राखेर सांसारिक मायाजाल र सम्भोगलाई जोडेर मनाइन्छ । यो पर्व भौगोलिक परिवेश अनुसार फरक फरक तरिका र रीतिरिवाजमा मनाइए पनि आँखिर उपसंहारमा हेर्नुपर्दा यो रङ्ग र अबीरसँग नै सम्वद्ध रहेको छ ।
प्राचीन एवम् ऐतिहासिक नगर दोलखामा पनि फागुन शुक्ल सप्तमी देखि नै मनाइन्छ । जहाँ सप्तमीको सायंकालीन रातदेखि त्रियोदशीको रातसम्म बेलुका फागु गीत गाउँदै नगर परिक्रमा गर्ने प्रचलन रहँदै आएको छ । चतुर्दशीको रातमा भने स्थानीय कपाली खलक (कुसुले)ले आफ्नै मौलिक परम्परामा मनाउँछन् । यसमा पनि वैंश र यौनको आवेग समावेश भएको हुन्छ ।
दोलखामा पूर्णिमाको दिनको तेस्रो प्रहर अपरान्हबाट बाजा गाजाका साथ स्थानीय दुई टोलबाट होली खेल्न तैयार हुन्छन् र नगर परिक्रमा गरी त्यहाँको स्थानीय ऐतिहासिक राइती धारामा नुहाइधुवाइ गरी घाटु गाएर भीमेश्वर मन्दिरसम्म पुगेर समापन गर्ने चलन रहेको छ ।
फागुमा विशेषतः यौवन रसको चलखेल मिसिएकै हुन्छ । तन्नेरी तरुनी, युवायुवती अझ खोलेर भन्नुपर्दा प्रेमिप्रेमिकामा बढी प्रदर्शित यो पर्वलाई ‘वैंश पर्व’ भन्दा पनि फरक नपर्ला कि ? किनकि यतिबेलाको गीतमा नै पारदर्शी वस्त्रदेखि अङ्गप्रत्यङ्गको उच्चारण सहित युवायुवती यस पर्वमा होमिएको हुन्छ ।
होली सद्भावपूर्ण सामुदायिक मेलमिलापको पर्व पनि हो त्यसैले सबैमा सद्भावमय वातावरणमा एकआपसमा मिलेर मनाऔँ । आज पहाड र उपत्यकामा अनि भोलि तराइमा होली मान्ने सबैमा हार्दिक मंगलमय शुभकामना !
फाइल तस्बिर साभारः शिवजी प्रधान दाेलखा