पराेपकारी भावनाका धनी गुल्मेली छाेराे झविन्द्र आचार्य कतारमा अस्ताए

स्वदेशमा हाेस या विदेशमा हरहमेशा सामाजिक सेवामा अनवरत खटिरहने युवा समाजसेवी ३९ वर्षीय झविन्द्र आचार्य अब यस संसारमा रहेनन् ।
झविन्द्र आचार्यको जीवन र विरासतलाई समेट्न उनका अतीत स्मरण गर्नुपर्दा जीवनभर विपन्नहरूलाई सहयोग गर्न आतुर हुन्थे विदेशी सडकमा खाना नपाएर भौँतारिनेहरूलाई मासुभात खुवाउने विदेशमा रहेर अलपत्र परेका नेपालीहरूलाई सहारा दिन सधैं तत्पर हुने गरेकाे जानकारी उनकै निकट मित्रहरू बताउँछन् ।

कतारमा रहेकाे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्का सहकोषाध्यक्ष समेत रहेका आचार्य त्यही ठाउँमा गुल्मी यातायात छापहिले नामांकित माइक्राे चलाउँदै आएका थिए । साेही गाडीमा समस्या देखिएपछि सडकको किनारामा बिग्रेको गाडी बोक्ने (ब्रेक डाउन) लाई कुरेर बसेको बेला बंगलादेशी नागरिकले चलाएको ट्याक्सीले आचार्यलाई ठक्कर दिएपछि उनकाे घटनास्थलमै मृत्यु भएकाे जानकारी उनकै मित्र राजेन्द्र काफ्लेले दिएका हुन् ।
श्रीमती, तीन छोरा, वृद्ध बुवाआमाका पालक मात्र नभएर सिंगाे गुल्मेलीका प्रियपात्र बनेका आचार्यकाे शव हेलिकाेप्टरबाट जन्मस्थलकाे खेतमा उतारिंदा उपस्थित गाउँलेहरू कसैकाे आँखा नरसाएकाे थिएन । उनले ’गुल्मी छापहिलेमा‘ भन्ने गीत पनि बनाएका थिए । जसमा उनी र उनकी श्रीमती सहितकाे अभिनय रहेकाे छ ।
उनको अन्तिम दाहसंस्कारमा गुल्मीका संघीय सांसद् एवं पूर्वमन्त्री गोकर्णराज विष्ट, लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिका उपसभापति भुवन श्रेष्ठ लगायत सारा गाउँले सहभागी भएर श्रद्धाञ्जलि अर्पण गरेका थिए ।
( प्रस्तुत सामग्री लेख समाचार अन्नपूर्ण खबरबाट सारांशमा लिएका हाैँ ।-सं.)