हनुमन्तेश्वर माध्यामिक विद्यालयको ६५ औं तथा हनुमन्तेश्वर क्याम्पसको २३ औं वार्षिक उत्सव सम्पन्न

दाेलखा – दाेलखा जिल्लाकाे निर्वाचन क्षेत्र नं. अन्तर्गत रहेकाे हनुमन्तेश्वर माध्यमिक विद्यालयको ६५ औं तथा हनुमन्तेश्वर क्याम्पसको २३ औं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न भएकाे छ ।
प्रमुख अतिथिकाे रूपमा उपस्थित भएका पूर्व सञ्चार मन्त्री तथा नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङले शिक्षा प्रणालीले बेरोजगार भन्दा उद्यमशील नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिंदै पढेलेखेका युवाहरुलाई देशमै रोजगार प्रदान गर्नुपर्ने र यसका लागि आफूले अभियान चलाउने बताएका छन् ।
कार्यक्रममा विद्यालयले वार्षिक स्मारिका सार्वजनिक गरेको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गरिएको छ। प्रधानाध्यापक भरत केसी र सहायक क्याम्पस प्रमुख ज्योती केसीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार चौलागाँई, विद्यालयका पुर्व सहायक प्रधानाध्यापक तथा नेकपा एकिकृत समाजवादी बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष भीम प्रसाद दाहाल, सहायक प्रधानाध्यापक सिताराम दाहाल, शिक्षक यज्ञराज खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए।
२०५८ सालमा स्थापना भएकाे साे विद्यालयमा हाल कक्षा १२ सम्म ९०४ र क्याम्पसमा १०५ विद्यार्थी अध्ययनरत छन्। जिल्लाकाे अधिकांश विद्यालयमा विद्यार्थी संख्यामा अत्यन्तै न्यून रहेकाे अवस्थामा यस विद्यालयमा सन्ताेषजनक विद्यार्थी संख्या रहेकाे देखिन्छ ।