बालकृष्ण श्रेष्ठ ‘पासा’को अध्यक्षतामा ११ सदस्यीय नेवाः देय दबू दोलखा–काठमाडौं सम्पर्क समिति गठन सहित दोस्रो अधिवेशन सम्पन्न

१० माघ काठमाडौं – नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबूको द्वाल्खा–काठमाडौं सम्पर्क समितिको दोस्रो अधिवेशन ११ सदस्यीय कार्य समितिको गठन सहित सम्पन्न भएको छ ।
निवर्तमान अध्यक्ष सकुना श्रेष्ठको सभापतित्वमा सम्पन्न समितिको अधिवेशनमा प्रमुख अतिथि नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र वज्राचार्य रहेका थिए भने विशेष अतिथिमा केन्द्रीय तहका उपाध्यक्ष शान्त श्रेष्ठ, महासचिव सत्यनारायण डंगोल, सदस्य उपेन्द्र प्रधान रहेका थिए ।
अतिथिवर्गमा स्वनिग विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, सदस्यमा कविता प्रधान थिए भने दोलखा जिल्ला समितिका निवर्तमान अध्यक्ष देवेन्द्र नारायण प्रधान, काठमाडौं जिल्ला समितिका अध्यक्ष धनबहादुर तिमिला रहेका थिए ।
निवर्तमान सचिव कल्पना श्रेष्ठ महर्जनबाट स्वागत मन्तव्य व्यक्त गरेपछि नेवाः देय् दबूको आवश्यकता र महत्वबारे केन्द्रीय सदस्य उपेन्द्र प्रधानले द्वाल्खा नेवार भाषाबाट प्रकाश पारेका थिए भने स्वनिग विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले नेवाः देय् दबूकै मातहतमा राज्यमा नेपाल भाषा र तामाङ भाषाबाट अध्ययन, सरकारी कामकाजी गतिविधि सञ्चालन भइरहेको धारणा व्यक्त गरेका थिए ।
त्यसैगरी केन्द्रीय महासचिव सत्यनारायण डंगोलले द्वाल्खाको नेवार भाषाको पहिचान अलग्गै ऐतिहासिक विशेषताको रूपमा प्रचलनमा रहेको बताए । केन्द्रीय उपाध्यक्ष शान्त श्रेष्ठले द्वाल्खा नेवार भाषाबाट पनि पठनपाठन गर्नकालागि पहल भइरहेको धारणा व्यक्त गरे । त्यस्तै प्रमुख अतिथि पवित्र वज्राचार्यबाट दोलखाको महिमा र गरिमा प्रायशः धेरै स्थानहरूमा चर्चा भइरहेको र दोलखाको इतिहास, संस्कृति, परम्पराको छुट्टै पहिचान भएको बताए ।
कार्यक्रमलाई समापन गर्ने प्रक्रियामा द्वाल्खा–काठमाडौं सम्पर्क समितिका निवर्तमान अध्यक्ष सकुना श्रेष्ठ मलेकुले विगत दुई वर्षको अन्तरालमा खासै गतिविधि अगाडि बढाउन नसके पनि नेवाः देय् दबूको आफ्नै भवन निर्माणको क्रममा आर्थिक सहयोग गरेको, बेला बेलामा कार्यक्रमको आयोजना गर्दै आइएको भएपनि आफ्नो स्वास्थ्यकोे कारणले चाहेर पनि सो समितिमा बसिरहन असमर्थ भए पनि आगामी दिनहरूमा आवश्यक पर्ने कार्यमा साथ सहयोग निरन्तर दिइरहने प्रतिवद्धता व्यक्त गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो चरणमा नेवा देय् दबूको विभिन्न गतिविधिमा संलग्न हुँदै आएका दोलखाकै बालकृष्ण श्रेष्ठ ‘पासा’को अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको छ । जुन यस प्रकार रहेका छन्,–
बालकृष्ण श्रेष्ठ ‘पासा’ अध्यक्ष, लेखनाथ श्रेष्ठ उपाध्यक्ष, कल्पना श्रेष्ठ महर्जन उपाध्यक्ष, सन्तोष प्रधान सचिव, प्रमिला प्रधान सचिव र यादवकुमारी श्रेष्ठ कोषाध्यक्ष, सदस्यहरूमा दिलिप श्रेष्ठ, सुदिप श्रेष्ठ, सोमकृष्ण श्रेष्ठ, परशुराम प्रधान र सुनी प्रधान सर्वसम्मतिबाट छानिएका हुन् ।
सल्लाहकारहरूः
सकुना श्रैष्ठ मलेकु, अमरकुमार प्रधान र देवेन्द्रनारायण प्रधान रहेका छन् । यसै समितिबाट प्रदेश प्रतिनिधिका लागि लेखनाथ श्रेष्ठ र कल्पना श्रेष्ठ महर्जन छानिएका छन् ।