
एक बिहान योग गरेर फर्केकी टोलकै मिजासिली सर्मिला बहिनी संग झम्का भेटभयो।उनी लगायत केही अरु महिलाहरू पनि धेरै महिना देखि आफ्ना खाइलाग्दो ज्यानको तौल घटाउन सकिन्छ कि भनेर योग स्थलमा बिहान सबेरै पुगेर एक डेड घन्टा योग साधना गरेर फर्कन्थे । तर उनिहरुको लोभलाग्दो ज्यान त झन झन डल्ला पर्दै गइरहेको थियो।उनले मेरो रोगी शरीर तिर सङ्केत गर्दै भनिन – “सर पनि आउनुस न योग गर्न”। आफ्नो भलो चाहेर भनेकी लाई केही उल्टा सुल्टा कुरा गर्नु त ठिक थिएन तर मुखबाट फ्यास्स फुस्की हाल्यो – “अनि त्याहाँ बोसो घटाउने आसन चै हुँदो रहेनछ”? उनले मेरो आसय नबुझेर तुरुन्त जवाफ दिइन – “हुन्छ , हुन्छ ; सर आउनुस न”।त्यसपछि मैले उनको भीमकाय शरीर तिर औंल्याउंदै भने – “अनि त्यो नि”! मेरो प्रश्न सुनेर उनी आफ्नो नाम अनुसार सर्माउँदै नाजवाफ भएकी थिइन।मैले योग बारे नकारात्मक सोच राखेर त्यस्तो भनेको थिइन, बास्तबमा योग नै मेरो लागि बरदान भइरहेको थियो।त्यो केवल ठट्टा मात्र थियो ।
शान्तिनगरको सिद्धिचरण मार्ग टोलका बासिन्दाहरुले बिगत तिन दशक देखि हरेक साँझ ॐ को लामो र ठूलो प्रतिध्वनि सुन्दै आएका छन् र यो आवाज सुने पछि भन्ने गरेका छन – ” श्याम दाइको आजको योग सकिएछ” । मलाई २०४७ साल देखि ‘यङकाइलोजिङ स्पोंनड़ोलाइसिस” नाम गरेको रोगले छोयो, जुन रोगलाई कोरियन डाक्टरहरु ‘बाँसजस्तो रोग’ भन्दा रहेछ्न। यो रोग लागे पछि शरीरका जति पनि जोड्नी छन सबै एक ढिक्का (stiff) हुँदो रहेछ र चलमल गरेकी अत्यन्त पिढा हुँदो रहेछ। अनि बिस्तारै रोगीलाई हिँडडुल गर्न, बस्न र सुत्न कठिन पार्दो रहेछ र पुरै कुप्रो पार्दो रहेछ । यसको अतिरिक्त यसले फोक्सो , आँखा , कान आदि लाई पनि पार्स्वप्रभाब पार्दो रहेछ। यसको पिढा त खुकुरीको चोट अचानो लाई मात्र थाहा हुन्छ जस्तो भएको थियो मलाई । दुबै कुम र दुबै कुहिनो जाम भयेकोले एकताका मलाइ कमेज र कोट लगाउन समेत कठिन भएको थियो। रोगको सकृयता १०/१५ बर्षपछि कम हुँदो रहेछ, तर स्थाइरुपमा कुजो (stiff) बनाएर।
रोगले पार्ने असर
यो रोग बाट मुक्ति पाउन मैले के के मात्र गरिन झारफुक देखि एलोप्याथी, होमियोप्याथी, आयुर्वेद , जोररे, रेफ्लेक्सोलोजी, नेच्रोप्याथी , अकुप्रेसर, बी थेरापी आदि, त्यो पनि डाक्टर फेर्दै र भारतको पट्ना र चेन्नई सम्म पुगेर।
म २०२१ साल अर्थात कक्षा ९ मा पढ्दा देखि नै स्काउट मास्टर अर्थात् अरु विद्यार्थीहरु लाई स्काउट सिकाउने गुरु थिए।मेरो रोगको उपचार सम्बन्धमा एक उक्ति पढेको थिय – “बिस्राम गर्नु भन्दा सक्रियता तिम्रो जिबनको आदर्श हुनुपर्छ” । यसले मलाई तुरुन्तै आफुले सिकिराखेको स्काउटको याद दिलायो। त्यसमा १०/१२ वटा जति आधारभूत , सरल र प्रभावकारी पि. टि अर्थात शारिरिक ब्यायाम मैले बिर्सेको थिइन् । ती कसरतहरु साँझ तिर नियमित गर्न थालें।

२०६३ साल तिर मात्र एकजना फर्निचर साहु घरमा आएपछि “मेरो स्व, बुबा लाई पनि यो रोग थियो ” भन्दै बुढेस कालमा हाडजोर्नी कमजोर हुन्छ हेवि कसरत गर्नु हुदैन” भने पछि मात्र छोडेको थिए।तर पनि धेरै उफ्रने बाहेक हल्का आसनहरु र चेन्नईको एपोलो अस्पतालमा सिकाएका र आफैले खोजेको फिजिओथेरापीका आसनहरु नियमित गर्न थालें र हाल सम्म कायम छ।सधै साँझपख एक घन्टा जति संगीतको धुनमा कौशीमा छिटो छिटो हिढछु। त्यसपछि शारिरिक ब्यायाम गर्छु र ४/५ पटक लामो र ठूलो आवाजमा ॐ धोनी निकालिसके पछि सेसन समाप्त गर्ने गरेको छु।
अर्को मैले सदुपयोग गरेको विधि हाल स्वामी रामदेबले अत्यन्तै लोकप्रिय बनाएको योगासन हो।२०३३ साल तिर्नै एकदिन हाल अमेरिकाको भर्जिनिया निवासी भाइ इ, लोक दर्शन श्रेष्ठले भन्न आए – “नयाँ सडक स्थित भारतीय पुस्तकालयमा एक हप्ते योग तालिम हुँदै छ हामी पनि जाउं”। सो तालिम दिन भारत बाट गुरु सहस्रबुद्धे आएका थिए। उसबेला कमै मानिसलाई योगको महत्व बारे जानकारी थियो होला। त्यसमाथि भर्खरको जवान, जिन्दगीमा काम लाग्न पनि सक्छ भन्ने सोच आयको थिएन ।तर पनि भाइको आग्रह टार्न नसकेर मन नलागी नलागी गएं।
एक हप्तामा त्यहा योगको आधारभूत र सरल तर अत्यन्तै उपयोगी पद्मासन , ध्यान , प्रणायम भ्रामरी, भुजङगासन, सल्भासन, नौकासन, सबासन, पवन मुक्तासन आदि १२/१३ वटा आसन सिकायो।तालिम पछि प्रमाणपत्र समेत दिएर बिदा गर्यो।कामले फुर्सद पनि नहुने, आवश्यकता पनि नभएको र गर्नको लागि उपयुक्त बाताबरण पनि नभएकोले योग त्यतिकै बिस्मृतीमा गयो। मलाई लागेको रोग असाध्य हो अर्थात निको नहूँने भनेर हाड जोर्नीका डाक्टरहरूले ठोकुवा गरि सकेका थिए। अब यस्लाइ ब्यबस्थापन गरेर यो सङघै बाँच्न सिक्नु मात्र एउटै मात्र बिकल्प थियो।
रोगले च्याप्दै लगिरहेको थियो। यो रोगको कारण पनि छैन र निदान पनि छैन भनेका थिए सबै डाक्टरले। दुख्यो भने इन्डोमेथासिन नामको एक किसिमको “पिडा नासक ” औषधि खाने र सकेसम्म शरीर लाई चलायमान राख्ने भन्ने उनीहरुले सुझाव दियेका थिए।अब मेरो जिउने दिन त्यति बाँकी रहेन भन्ने लागेर आएको थियो।त्यसैले मैले मरिहालेछ भने कीर्ति त हुन्छ भनेर पुस्तक लेख्ने गति बढाएको थिएं। त्यसपछि केही मानिस मलाई भेट्दा सहानुभूतिपुर्बक भन्थे – ” सरले धेरै लेख्नुभयो त्यसैले ,,,,,,”।
एकदिन यौटा पत्रिका पढ्दा थाहा पाए अनुसार भारतको चेन्नई स्थित एपोलो अस्पतालका हाडजोर्नी तथा नशाका डाक्टर आर. गोपाल कृष्णनलाई “म त मर्छु क्या रे” भनेर आफ्नो रोगको लक्षण समेत उल्लेख गरेर चिट्ठी लेखें। उनले तुरुन्त जवाफ दिए – ” तपाईंलाई ‘यङकाइलोजिङ स्पोंनड़ोलाइसिस” रोग लागे जस्तो छ, वास्तवमा यो रोगको उपचार नै छैन, तर मरिएला भन्ने डर बिना यो रोग लाई नियन्त्रणमा राख्न सकिन्छ,बाँकी परिक्षण पछि” भनेर उनले मलाई भेट्ने मिति पठाइ दिए। यस्ता पनि डाक्टर हुँदा रहेछन् आफुले चिन्दै नचिनेको मानिसलाई पनि तुरुन्त जवाफ दिने। अर्को तिर मुम्बईका एक नाम चलेका होमियोप्याथीका डा. मुकेश बात्रा छन जसले मलाई पहिला उनको खातामा पैसानि जम्मा गर्नु भनेर खबर गरे।डा.गोपाल कृष्णनको कुराले म अलि आश्वस्त भएँ डराइ हाल्नु पर्ने त रहेनछ भनेर।

त्यसपछि मैले आफुले सिकेको योगाभ्यास गर्न थालें बिहान बिहान ।यी आसनले शरीर लाइ बिग्रन बाट रोकिराखेको मलाई स्पष्ट अनुभुति भइरहेको थियो।त्यसपछि स्वामी रामदेव बाट योगको प्रचार हुन थाल्यो।मलाई उपयोगी र सरल आसन त मैले गरिनै राखेको थिएं।केही प्रणायामहरु चै स्वामिजी को हेरेर थपे। रोग लागे देखि नै योग गरेको भएपनि शरीर दह्रो (stiff) हुँदै गएको कारणले केही आसन सरल नै भएपनि गर्न नसक्ने भएं।बिहान योगाभ्यास गर्ने क्रम अहिले सम्म चालू छ। बिहान सबै आसन सकिय पछि अन्तमा सबासन गरेर योगाभ्यासको अन्त गर्छु।
अब त साँझ शारिरिक व्यायाम र बिहान योगाभ्यास गर्ने बानी नै परिसक्यो।कुनै दिन कारणबस गर्न पाइँन भने ठूलो अपराध गरे जस्तो भएर आउँछ। आफुले सिकेको कुरा जिन्दगीको कुनै न कुनै मोडमा काम लाग्दो रहेछ। यति मात्र नभएर मलाइ योगले आकर्षण गरेको अर्को एक कारण पनि छ । सहश्रबुद्धेले सिकाएकोमा एक आसन ‘ओंम तात्र्क “ भन्ने पनि थियो र यो आसनले गर्ने फाइदा बोल्दा लड़बड़ाउने लाइ ठिक गर्छ भन्ने पनि थियो । कहिले काहीं हल्का लड़बड़ाउने बानी थियो मेरो र पेशा प्राध्यापन थियो । यो समस्या बाट पनि मैले लगभग मुक्ति पाएको थिएँ योग गर्न थालेपछी । उपरोक्त कारणले गर्दा मैले आफू लाई अहिले सम्म सकृय राख्नसकेको छु। अहिलेसम्म रोगले म सङ पराजित भयो नै भन्न त मिल्दैन, हल्का सङ्घर्ष त जारीनै छ बेला बेलामा ।सन २००८ को अमेरिका भ्रमण ताका रोगले दुख दियो भने छोराछोरीले पिर मान्लान भनेर यलोप्याथी, होमेयोप्याथी र आयुर्वेद तिनै थरी औषधि लगेको थिएं। तर भाग्यबस त्यसबेला देखि कुनै औषधि बिल्कुलै खानु परेको छैन। एक ढिक्का परेको शरीर धेरै खुकुलो भइसकेको छ। कुप्रो पर्न शरीर धेरै सिधा भइसकेको छ।रोग लागेको ठिक एक दशक पछि पहिलो पटक मेरो रोग स्पोन्ड्लाइसिस भनेर पट्ट लागाउने डा.ज्वाला राज पान्डे कहाँ चलमल गरेकी गर्दन छिन्ला जस्तो अति दुख्ने गरेकोले पुनः देखाउन जाँदा उनले आश्चर्य मान्दै भनेका थिए – “ओहो तपाई त अहिले सम्म पनि ठिक ,,,,,” , मानौ कि म मरिसक्नु पर्ने थियो।भगवान् को कृपाले आज सम्म सकुशल छु।शारीरिक व्यायाम र योगाभ्यास नियमित जारी छ।