
आदिवासी नेवाः राजनीतिक अभियानद्वारा प्रस्तुत गरिएका नेवार जागरण गीत ‘इलं सःतल..’ भिडियो सार्वजनिक गरिएको छ ।
नेवार समुदायको जागरुकताका लागि अनवरत लागिपर्ने एक हस्ती व्यक्तित्व एवम् आदिवासी नेवाः राजनीतिक अभियानका परिकल्पनाकार तथा संस्थापक डा. महेशमान श्रेष्ठको विशेष उपस्थिति, यसै गीतका नायक तथा सङ्गीतकार इन्जिनियर जुजुकाजी रञ्जितको सभापतित्व र गीतका एरेन्जर मूल पाहुना जुगल डंगोलको उपस्थितिमा सो गीती भिडियो सावैजनिक भएको हो ।
जनकवि दुर्गालाल श्रेष्ठको शब्द रचना, इन्जिनियर जुजुकाजी रञ्जितको संगीतमा तैयार भएको सो गीतमा सोहन मानन्धरले छायांकन, सम्पादन र कलर मिक्सििङ गरेका हुन् भने सो गीतको भिडियो छायांकनमा सुरज नापितले निर्देशन गरेका छन् ।

यस गीतलाई सामुहिक रूपमा स्वर दिनेहरूमा पवित्र कसा, सतिस महर्जन, रतनशोभा महर्जन, रोजी डंगोल (श्रेष्ठ) र ऐञ्जेला सिं श्रेष्ठ रहेका छन् । पोष्ट प्रोडक्शनको जिम्मेवारी राजिव शाहीले लिएका हुन् ।
सो गीत सार्वजनिक समारोहलाई सम्बोधन गर्दै आदिवासी नेवा राजनीतिक अभियानका परिकल्पनाकार डां महेशमान श्रेष्ठले नेवार समुदाय भाषा, संस्कृति र संस्कारमा सबैभन्दा धनी भएर पनि परम्पराबाट हट्दै गएकोमा चिन्ता व्यक्त गर्दै अबको केही दशकमा नेपाल भाषा भनेर बोलिने मातृभाषा नै बोल्ने सन्तानहरू पाउन कठिन हुने अवस्था आइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।
डां महेशमानको धारणा अनुसार अब पनि हामीले हाम्रा सन्तानहरूलाई नेवार भाषा र संस्कृति बोल्न र सिक्नकालागि जोड दिएनौ भने भविष्यमा धेरै समस्या पर्न सक्नेछन् । नेवार समुदायको शहर भनेर चिनिने यो उपत्यका नाम मात्रको हुन लागेको यो अवस्थामा यस गीतले उत्प्रेरणा जगाउनेमा विश्वस्त रहेको बताए । अब सबैले समयलाई आत्मसात गरेर नेवारहरूको प्राचीनतालाई वर्तमान परिस्थितिमा चेतना जगाएर जागरुक बनेर अगाडि बढ्नका लागि यो ‘इलं सःतल’ अर्थात् नेपालीमा भन्नु पर्दा ‘समयले बोलायो’ भन्ने गीतले नेवारपनलाई ब्यूँझाउन सहयोग पुर्याउने आशा राखेको बताए ।
समारोहमा विशेष मूल अतिथि जुगल डंगोलले पनि सोही धारणा व्यक्त गरे । साथै यस गीतको सार्वजनिक कार्यक्रममै सो गीत तैयार गर्ने देखि भिडयो निर्माणमा सहयोग पुर्याउने कलाकर्मी र गायकगायिका लगायत प्राविधिक टोली सबैलाई धन्यवाद दिंदै प्रमाणपत्र प्रदान गरिएका थिए ।
प्रस्तुत गीतको मुल मर्म नै अब सबै जाग्न जरुरी छ, उठ्न आवश्यक छ । राज्यले दिएको अधिकारलाई कागजमा सीमित राख्न भएन कार्यान्वयनका लागि तीव्रगतिमा अग्रसर हुन एक जूट होऔँ भन्ने दर्शाएको छ । बाँकी गीत हेरेर स’नेर नै मनन गरौँ ।