गुडिरहेकाे कार पाेखरीमा खस्दा चालक सहित २ बेपत्ता एक जीवित

२० कार्तिक सर्लाही – मङ्गलबार बिहानीपख सर्लाहीकाे ईश्वरपुर नगरपालिका–२, भक्तिपुरस्थित मियाँखोर पोखरीमा कार खस्दा दुई जना बेपत्ता स्थानीय प्रहरीले जानकारी गराएका छन् ।
बयलवासबाट महोत्तरीको गौशालातर्फ गइरहेको लु २ च ६७५८ नम्बरको कार अनियन्त्रित भई मियाँखोरस्थित सडक छेउमा रहेको सरस्वती माध्यमिक विद्यालयको पोखरीमा खसेकाे बताएका छन् । उक्त कारमा सवार तीनजनामा चालक गौशाला नगरपालिका–२, महोत्तरीका ३७ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका–८, महोत्तरीका ३७ वर्षीय रामाकान्त ठाकुर बेपत्ता भएका छन् भने कारमा सवार गौशाला नगरपालिका–२, का ३१ वर्षीय जनक यादव भने सकुशल बाहिर निस्केकाे प्रहरीले जनाएको छ ।
ईश्वरपुर नगरपालिका २ का वडाध्यक्ष सुरेन्द्र कार्कीका अनुसार मङ्गलबार बिहान २ देखि ३ बजेको आसपासमा कार दुर्घटना भएको हुनसक्ने आशङ्का गरिएको छ । पोखरीबाट बाहिर निस्कन सफल कारमा सवार जनक यादवले स्थानीयलाई जानकारी गराएपछि बिहान ४ बजेपछि प्रहरीको टोली घटनास्थलमा पुगेको हो ।
बयलवासका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिए अनुसार कारसहित पोखरीमा डुबेर बेपत्ता दुई जनाको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेकोमा फेला नपरेपछि महोत्तरीको बर्दिबासस्थित सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बाेलाएर घटनास्थलमा खाेजी जारी रहेकाे बताएका छन् ।