Headlineसमाचारस्वास्थ

अब नेपालका स्वास्थ्य स्वयंसेविकाले गाडी भाडा तिर्न नपर्ने, सुविधाका लागि परिचय–पत्र र पोशाक अनिवार्य

२ कार्तिक काठमाडौं– यही आउँदो कार्तिक १५ गतेबाट नेपालभरिका महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो कार्य क्षेत्रमा जानआउनका लागि निःशुल्क सार्वजनिक यातायात चढ्न पाउने नियम लागू गर्ने भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको सक्रियतामा स्वास्थ्य सेवा प्रदान गर्न अहोरात्र खटिने महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहुलियतका लागि आवश्यक कार्यक्षेत्र लगायत व्यवहारिक काममा आवतजावत गर्न सार्वजनिक यातायातका साधनमा भाडा तिर्न नपर्ने सुविधा लागू हुने भएको छ ।

संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यातायात व्यवसायीहरूले स्वास्थ्य प्रयोजनको क्रममा खटिएका महिला स्वास्थ्य स्वयंसेविकाहरूसँग सार्वजनिक यातायातका साधनमा भाडा नलिन आग्रह गर्दै सो नीति लागू भएको घोषणा गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री पौडेलले यातायात व्यवसायी राष्ट्रिय महासंघसँग न्यून सुविधामा आम मातृ शिशु तथा समुदायको स्वास्थ्य सेवाका लागि लामो समयदेखि स्वास्थ्य स्वयंसेविकाहरूले सेवा दिन प्रयत्नरत रहेको भन्दै उनीहरूलाई कामका सिलसिलामा हुने यातायात सेवा निःशुल्क गरिदिन आग्रह गरेको चर्चा यसभन्दा पहिले नै चलेको थियो ।

विपद् प्रभावित काभ्रेको रोसी क्षेत्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुसँग सेवाको कदरस्वरुप यातायातमा आवतजावत गर्न निःशुल्क बनाउने कार्यमा लागिरहेको भन्दै मन्त्री पौडेलले केही समयमा नतिजा आउने घोषणा गरेका थिए । त्यसअनुसार यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर लगायका समिति सहमत भए पछि शुक्रबार मन्त्रालयमा यससम्बन्धी समझदारी भएको हो ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूले देशको स्वास्थ्य क्षेत्रमा पुर्याएको भूमिकालाई सम्मान गर्न यो निर्णय महत्त्वपूर्ण रहेको बताउँदै मन्त्री पौडेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गतको यो सहयोगका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघप्रति आभार व्यक्त गरेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाहरूको छाता संस्थाकी अध्यक्ष बसन्ती महर्जनले महिला स्वास्थ्य स्वयंसेविकाहरूको हितका लागि निकै महत्त्वपूर्ण निर्णय भएको भन्दै मन्त्री पौडेल र व्यवसायी महासंघ सहजकर्ता र समन्वय कर्ताको साथै सहयोगीप्रति आभार प्रकट गरेकी छन् ।

मन्त्रालयसँग महासंघले गरेको प्रतिबद्धतामा सामाजिक उत्तरदायित्व अन्तर्गत सम्बन्धित तह रहेको जिल्लाभर तोकिएको जिम्मेवारी पूरा गर्न सार्वजनिक यातायातका साधनमा प्राथमिकता दिएर निःशुल्क आवतजावत गर्न दिने उल्लेख गर्दै यसका लागि महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको पोशाकमा वा परिचयपत्र बोकेको हुनुपर्ने महासंघले उल्लेख गरेको छ ।

यस सम्झौताबाट अब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका लाभान्वित हुने स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुख डाक्टर भीम सापकोटाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button