
३१ भदौ, धनगढी– ढिलै भएपनि नयाँ कार्यक्रम सहित सुदूरपश्चिम प्रदेश सरकारलेसाढे ३१ अर्ब रुपैयाँको बजेट ल्याएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले चालु आर्थिक वर्ष २०८१÷०८२ को बजेट पेश गरेका छन् । तत्कालीन माओवादी काँग्रेस सरकारले असार १ गते प्रदेश सभामा पेश गरेको बजेटलाई परिमार्जन गर्दै नयाँ कार्यक्रम सहित बजेट प्रस्तुत गरेका छन् ।
निश्चित समय भन्दा निकै ढिलो ल्याएको बजेटप्रति नेकपा माओवादी र एकिकृत समाजवादीले अस्वीकार गरी बहिष्कार गरे पनि सत्तापक्षका मन्त्रीले बजेट पारित भएको घोषणा गरेका थिए ।
गत आर्थिक वर्षको तुलनामा झण्डै साँढे दुई अर्ब बढी नै बजेट प्रस्तुत गरेका छन् । विगतका आर्थिक वर्षमा लागि २९ अर्ब २६ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो भने यस वर्ष ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार रहेको छ ।
मन्त्री थापाले चालु वर्षका लागि पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाख २३ हजार बजेट र चालु खर्चतर्फ १२ अर्ब ८५ करोड ७४ लाख पाँच हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको जानकारी दिएका छन् । तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले पनि यही आकारको बजेट ल्याइएको भए पनि उक्त बजेटको योजना तथा कार्यक्रमहरु परिमार्जन गरिएको बताएका छन् ।
विगतमा भएको सोडारी नेतृत्वको सरकारले चालु वर्षका लागि ल्याएको बजेट राजनीतिक समीकरण फेरिएपछि प्रदेश सभाबाट पारित हुन सकेको थिएन । सोही कारण प्रदेश बजेट शून्यतामा गएको कुरा स्थानीय स्रोतले बताएका छन् ।