
२४ भदौ झापा । कोशी प्रदेशको झापामा साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका बिरामी भेटिएका छन् । झापामै डेङ्गी सङ्क्रमणका कारण दुईजनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेको जानकारी प्राप्त भएको छ । झापामा मात्रै साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या १ सय २८ पुगिसकेको स्थानीय स्रोतबाट थआहा हुन आएको छ ।
कोशी प्रदेशको मोरङमा सबैभन्दा बढी ५ सय ३२ जना सङ्क्रमित भएको पाइएको छ । त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित नपाइएको सर्वेक्षण टोलीले जनाएका छन् ।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार विभिन्न जिल्लामा डेङ्गी सङ्क्रमणको तथ्याङ्क हेर्दा धनकुटामा ८०, सुनसरीमा ७०, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा ५, खोटाङमा ४, र तेह्रथुममा २जनामा डेङ्गी सङ्क्रमण भएको पाइएको जानकारी मिलेको छ ।
झापामा साउन १ गते यता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भएको छ भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको जानकारी प्राप्त भएको छ ।