
ऐतिहासिक धरहरा सीसा र पालभित्र, आधुनिक धरहराको चर्चा विचित्र !
भीमेसेन स्तम्भको नामले ठडिएको सुनधारा परिसरको धरहराले तीनवटा भूकम्पको मार खेप्नु पर्यो । त्यही धरहराले गर्दा कतिले भार खेप्नु पर्यो कतिले धार रेट्नु पर्यो अझ कतिले अधिकारका लागि ऐन कानुनको स्याहार हेर्नु पर्यो । कथा एउटै छ व्यथा अनेकौँ छ धरहराको ।
इतिहासमा धरहराले एकातिर सूचना सञ्चारको ‘ढ्वाङ्’को कार्य गर्ने गरिन्थ्यो रे, जहाँको बार्दलमिा बसेर बिगुल फुकेपछि सारा प्रशासनिक कार्यकर्ता कर्मचारी भनेकै स्थानमा भेला हुनु पथ्र्यो रे । अर्को पक्ष चाहिँ शत्रुपक्ष नियाल्ने दुरदर्शन यन्त्रको काम गरेको थियो भनिन्छ, अझ अर्कोपक्ष ठूला बडाका लागि टुडिखेलमा हुने अनेकन् मेला, भेला र जात्रा हेर्ने भिआइपी आसनको पनि काम गरेको थियो पनि भनिन्छ ।
उतिबेला धरहरा ११ तलाको थियो रे जुन बार्दली भन्दा माथिल्लो भाग २–३ तलाको रहेको र विक्रम सम्वत १९९० साल माघ २ गते आएको भूकम्पले बार्दली भन्दा माथिसम्म नै भत्काएकोले ९ तलामै सीमित गरी गजुर समेत साँढे ९ तला देखिने गरी राखेर बनाएको थियो । ११ तलाको देख्ने जिजुबाजे चाहिँ हाम्रै पालासम्म ज्यूँदै थिए जो अहिले छैनन् । त्यसमा पनि पछि अलिक कमजोर देख्न थालेपछि डेढ तला घटाएर साँढे ९ तलाको पक्की बनाएको भन्ने इतिहासमा देख्न सकिन्छ ।

धरहरा नेपालकै पहिलो प्रधानमन्त्री अमर भीमसेन थापाले विक्रम सम्वत १८८२ सालमा तत्कालीन महारानी त्रिपुरासुन्दरीदेवीको स्मरण स्वरूप बनाउन लगाएको इतिहास छ । धरहरा चानचुने चाहिँ होइन त्यति कहालीलाग्दो थियो पनि थिएन पनि भन्दा फरक नपर्ला किनकि अनेकौं काण्ड पर्व मच्चाउने राणा प्रधानमन्त्रीले बडेमानको फलामाको कुण्डी भएको छाता बोकेर हामफाल्थे कसरी ? त्यो पनि सारा रैतीलाई सेनाले प्रयोग गर्ने बाक्लो पालको कपडा थाप्न लगाएर हामफालेकोलाई बहादुरी नै त भन्न पर्ला नि होइन र !
२०७२ सालको भुकम्पले ढाल्नु भन्दा अगाडि धरहराको उचाइ ६१.८८ मीटर अर्थात् २०३ फिट थियो । त्यस भित्र २१३ खुडकिला का सिंढी थिए बाहिर प्राङ्गण सतहदेखि मूल ढोकासम्म २५ खुड्किलाका सिंढी थिए । १८८ वटा सिंढी उक्लेपछि बार्दली आउँथ्यो । पहिलेको धरहराको गोलाइ करिब ७ वर्गमिटरको देखिन्थ्यो । त्यतिबेलाको धरहरा ईंटा र बज्रको साथमा सुर्की, चून, मास, लाहा, सल्लाको खोटो, बेतको बोक्रा, सिस्नुको बोक्रा र चाकु मिसाएर बनाएको थियो भनी इतिहासमा उल्लेख भएको पाइन्छ ।
हुन त इतिहासमा भीमसेन थापाले दुईवटा धरहरा निर्माण गरेको बताएको छ । जतिबेला नेपाल र अंग्रेजको युद्ध चलिरहेको थियो । एक त कान्तिपुर राज्य खाल्डोमा रहेको शत्रुपक्षले कताबाट आक्रमण गर्ने सुरसार गर्लान त्यसको भेउ थाहा पाउन आजको जस्तो प्रविधिको जमाना थिएन त्यसैले भीमसेन थापाले लगान टोलमा आफ्नै जमीनमा ११ तलाको भवन बनाउन लगाएर धरहराकै प्रारुप दिएको थियो तर सो धरहरा १८९० को भुकम्पले ध्वस्त बनाए पछि पुननिर्माण तिर चासो दिन समय नभ्याएको र राणाहरू बीचमा नै तालमेल नमिलेकोले त्यसलाई फेरि बनाउने तिर नलागेको भन्ने देखिन्छ ।
भीमसेन थापाकै पहिलो अग्लो धरहरारूपी भवनको आकृतिले आकृष्ट बनेका रणबहादुर शाहका राजमाता ललितत्रिपुरासुन्दरीदेवीको चाहना अनुरुप उनै थापाले वि.सं. १८८२मा सुनधाराको वागमा सो ११ तले धरहरा बनाएको भन्ने उल्लेख रहेको छ । यो धरहारमा पनि वि.सं १९१३ मा वज्रचट्याङ परेर क्षतविक्षत भए पछि वि.सं. १९२३ मा सबैभन्दा माथि टुप्पोमा वज्रधार राखेर शिवलिङ्ग समेत राखेर ११ तलाको बनाएको इतिहासमा उल्लेख छ ।
यही भीमसेन स्तम्भ १९९० साल माघ २ गतेको भूकम्पले ढलेको धरहरालाई राणा प्रधानमन्त्री जुद्धशमशेरले पुनर्निर्माण स्वरूप ११ तलाबाट २ तला घटाइ ९ तलामा बनाइएको इतिहासमा उल्लेख छ । यो धरहरा नै ऐतिहासिक धरहरा कहलाइए । इतिहासमा यो धरहराको बारेमा विभिन्न अड्कल गरी अनेकौं व्याख्या गरिए पनि नेपाल खाल्डोमा विदेशी शत्रुले आक्रमण गर्न सक्ने सम्भाव्यतालाई हेरेर धरहराबाट निरीक्षण गरी कतैबाट फौज आएको देखि हालेमा प्रतिकारका लागि र सुरक्षाका लागि होशियार रहन बिगुल फुकेर सूचना दिन सकिने अग्लो खम्बाको रूपमा घरको आकृृति स्वरूप साना साना झ्याल बनाएर माथिल्लो भागमा बार्दली बनाइएको बुझिन्छ ।

यही धरहरा विक्रम सम्वत २०७२ साल बैशाख १२ गते शनिबार १२ः०९मा आएको ७.८ रेक्टरको भूकम्पले ४ पटक उत्तर र दक्षिण हल्लाएर पाँचौ पटकमा दक्षिणपश्चिम कोणमा बजारिएर झण्डै ६० जनाको ज्यान लिएको तथ्यांक छ । भाग्यवश ५ जनाले हामफालेर ज्यान बचाएका थिए । त्यो विभत्स र भयावह कहालिलाग्दो दैवीय प्रकोपले काठमाडौं शहर लगायत उपत्यका र नेपालभरिका साँस्कृतिक सम्पदाहरू ध्वस्त भए । दर्शौं हजार मानिसले अकालमै ज्यान गुमाउनु पर्यो र लाखौं मानिसहरू सडक चौरमा आश्रय लिन बाध्य भएका थिए ।
२०७२ सालको बैशाख १२ र २९ गतेको भूकम्पका कारण थिलोथिलो भएको अवस्थामै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले २०७५ साल अशोज १४ गतेबाट नयाँ ठाउँमा बनाउन शुरु गरेको हो । विधिको विडम्बना नेपाल देश भित्र भुकम्पको घाउ सेलाउन नपाउँदै २०७६ सालको चैत महिनाबाट कोरोना–१९ले झनै विथोलि दियो । यसपछि बल्लतल्ल २०७८ सालमा यो भीमसेन स्तम्भको प्राचीन अवशेषलाई जति बाँकी रहेको ५ त्यसलाई यथावत राखेर नयाँ जग्गामा नया प्रविधि जडान गरी मजबुत तरिकाले निर्माण प्रारम्भ गरी आकार्षक ढंगको धरहरा तैयार हुन लागेको हो ।
धरहरा क्षेत्रको ४२ रोपनी जग्गा भित्र विभिन्न संरचना सहित बन्न लागेको धरहरा परिसरको ढाँचा तैयार गरिंदैको अवस्थामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरिएको थियो । भनिन्छ उनै प्रधानमन्त्रीकै नामको कोषमा धरहरा निर्माण कोष खडा गरी बनाउने तरखर गरिएको चर्चाले व्यापकता पाएको थियो ।
तीन वर्षअघि ११ बैशाख २०७८मा नै प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न भयो भनी हतार्रिदै उद्घाटन गरेको धरहरा बल्ल सञ्चालनमा आउने भएको छ । यो सँगै आगामी महिनादेखि धरहरा चढेर काठमाडौं नियाल्ने सर्वसाधारणको चहाना पूरा हुने भएको छ ।
सहरी विकास मन्त्रालयले ३ असोजदेखि सर्वसाधारणका लागि धरहरा प्रवेश खुला गर्न लागिएको बुझिएको छ । मन्त्रालयको निर्णयसँगै धरहरा निर्माण गरिरहेको ठेकेदार कम्पनी रमन कन्स्ट्रक्सनले पनि बाँकी काम सक्न तीव्रता दिएको बताइएको छ । रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर दीपक सिंहको भनाइ उदृत गर्दै उनका अनुसार सञ्चालनमा ल्याउने मिति तय भएसँगै सोहीअनुसार काम पछिल्लो समय थपिएको मितिअनुसार उनीहरूसँग केही समय अझै बाँकी रहेकोले धरहरा सञ्चालनमा ल्याउने मितिभित्र सम्पन्न गर्ने बताएका छन् । सिंहका अनुसार सुन्धाराको अन्य संरचना बाहेकका काम मात्र सक्नुपर्ने भएकोले ती गर्नुपर्ने काम ३ असोजभित्र सक्ने जानकारी दिएका छन् । उनका अनुसार बिजुली बत्तीको काम बाहेक अन्य काम सकिसकेको छ । निर्माण कम्पनीलाई थपिएको समय ६ अक्टोबर (२० असोज)मा सकिँदैछ । तथापि १३ दिनपछिबाट धरहरा सञ्चालनमा ल्याउने भनिए पनि यसको सञ्चालन मोडालिटी भने अझै तयार भएको छैन ।
धरहरा कसरी, कसले र कुन रूपबाट सञ्चालन हुन्छ भन्नेबारे मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभाग भने सुन्धारामा प्राकृतिक रूपमै पानी ल्याउने गरी काम गर्ने जनाएको छ । विभागका उपमहानिर्देशक कोषनाथ अधिकारी बताउँछन् । उनले धरहरा सञ्चालनको मोडालिटीबारे केही छलफल भएको सुनेको तर,थप जानकारी थाहा नभएको बताउँछन् ।