तीन दशकपछि फर्काइयाे दोलखाको आकाश भैरव ‘हाथ्व’ देवताकाे शिराेन्मुख मूर्ति

असार ४ गते ऐतिहासिक रूपमा मूर्ति मुलघर दोलखा पुर्याइने तयारी
काठमाडाैँ २९ जेष्ठ २०८३, (१२ जुन २०२६) – नेपाल सम्वत् ११४६ अनलागाक १२ द्वादसी शुक्रबार –
प्राचीन दोलखा शहरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग गाँसिएको नक्छे प्रधान खलककाे कुलदेवी थानमा रहेकाे आकाश भैरव (हाथ्व) देवताको मूर्ति करिब ३० वर्षपछि स्वदेश फर्किएको छ। करिब साँढे तीन दशक अघि चोरी भई विदेश पुगेको उक्त अमूल्य सम्पदा नेपाल फिर्ता ल्याएर छाउनीस्थित संग्राहलयमा राखिएकाे साे मूर्ति असार ४ गते औपचारिक रूपमा दोलखा लगिने तयारी गरिएको छ।
नक्छेमी प्रधान खलकका ज्येष्ठ नागरिक तथा कुल र मुल व्यक्तित्व (थाकती) यज्ञकुमार प्रधानको नेतृत्वमा प्रतिनिधिहरूले साे मूर्ति दाेलखामा लानका लागि सुरक्षा र संरक्षणकाे पूर्ण जिम्मेवारीका साथ राखिने प्रतिबद्धताका साथ राष्ट्रिय संग्रहालय छाउनीमा औपचारिक निवेदन दिएका छन्।

दाेलखाकाे साे मूर्ति दाेलखा लैजानका लागि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी असार ४ गते मूर्ति दोलखा लगिने तयारी भइरहेको प्रधान खलककै एक सदस्यले बताएकाे छ। मूर्ति लैजानुभन्दा पहिले जेठ ३० गते दिउँसो ३ बजे बैठक बस्ने निर्णय गरिएको छ, जसमा व्यवस्थापन, स्वागत तथा धार्मिक कार्यक्रमबारे छलफल हुने जनाएकाे छ।
गुर्कोट टोलस्थित कुलघरबाट २०५० साल फागुन २२ र २०५१ साल फागुन २४ गते दुईवटा स्वर्ण वर्णका भैरवकाे शिर मानिएकाे ‘हाथ्व’ मूर्ति हराएका थिए। साे मूर्तिकाे तस्बिर दाेलखाली एक युवककाे साथमा रहेकाे थाहा पाएपछि स्थानीय अनलाइन मिडिया मार्फत् मूर्तिकाे बारेमा जिज्ञासासहितकाे लेख प्रसारण भए पश्चात् अमेरिकामा रहेको पत्ता लागेकाे हाे ।
लामो समयसम्म अवस्था अज्ञात रहेकाे साे मूर्ति अनुसन्धान र साेधखाेज पश्चात् ती मूर्तिहरू अमेरिकास्थित प्रदर्शनी कक्षमा रहेकाे जानकारी प्राप्त भएपछि नेवाः गुठी, लस्ट आर्ट अफ नेपाल तथा सम्पदा संरक्षणमा सक्रिय सरोकारवालाहरूको निरन्तर प्रयासमा अन्ततः मूर्ति नेपाल फर्काइएका हुन्।

स्वदेश फर्काइएका दुई हाथ्व मूर्ति सँगसँगै पाटन च्यासलको उमामहेश्वर र भक्तपुर हनुमानघाटको दुर्गा मूर्ति पनि नेपाल ल्याइएको छ। ती मूर्ति पुरातत्व विभागलाई २०८० साल माघ १७ गते औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो।
आकाश भैरव मानिएका ती ‘हाथ्व’ मूर्ति हरेक वर्षकाे इन्द्रजात्राकाे अवसरमा ‘येँदलाथ्वक’ द्वादशी तिथिदेखि ‘येँदलागाक’ परेवाकाे दिनसम्म दाेलखाकाे तत्कालीन पहिले ‘पञ्चायत घर’ पछि गा.वि.स. भवन र हाल भीनपा-२ काे वडा कार्यालय भवन भएकाे घरकाे दलानमा प्रदर्शन गरिन्थ्याे ।
हराएका ती मूर्तिहरू विदेशबाट नेपाल ल्याइपुर्याएर पुनः आफ्नै मुल र कुल देवस्थलमा पुग्न लागकेामा ८३ वर्षीय यज्ञकुमार प्रधानले खुशी व्यक्त गर्दै यो घटना पुर्खाहरूको आस्था, इतिहास, संस्कृति र पहिचानको पुनरागमन भएको बताएका छन् ।
साे मूर्ति फर्कन र फर्काउन सफल हुनुकाे पछाडि स्थानीय अनलाइन मिडिया बाँपिझ्यालाकाे समसामयिक लेख (तत्कालिन सह-सम्पादक बिके पासा) पश्चात् खाेजीकाे स्राेतमा लागेका ‘लस्ट आर्ट अफ नेपाल’काे सकारात्मक पहल र दोलखाका युवा समाजसेवी तथा कालिञ्चाेक युवाक्लवका अध्यक्ष अनिलचन्द्र श्रेष्ठक डेढ वर्षको अथक प्रयासपछि मूर्ति नेपालमा फिर्ता गर्न सफल भएको हाे।