
काठमाडाैं वैशाख २८ – आइसिसी विश्वकप लिग–२ अघि नेपाल ‘ए’ ले अमेरिका र स्कटल्यान्डविरुद्धको अभ्यास खेलकाे श्रृंखलामा क्लिनस्विप गरेको छ ।
अमेरिकासँगको अन्तिम खेलमा नेपाल ८ रनले विजयी भएसँगै अन्य खेलकाे लागि उच्च मनाेबल बढाएकाे देखिन्छ ।
आजकाे खेलमा नेपालको प्रदर्शन स्तरीय देखिए । नेपाल ‘ए’ ले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २६४ रन बनायो । सन्दीप जोराले ११५ बलमा १११ रनको शतक बनाए, जसमा ९ चौका र ४ छक्का समावेश थिए ।
नेपालले दिएकाे लक्ष्य पछ्याउँदै अमेरिका ४१.१ ओभरमा २५७ रनमै अलआउट भयो । सेहान जयसुरियाले सर्वाधिक ७१ रन बनाए । नेपालका शेर मल्लले ४ विकेट लिए । यस खेलमा नेपालले स्कटल्यान्डलाई दुई पटक हराएको थियो। अमेरिकासँगको पहिलो अभ्यास खेलमा नेपालले डिएलएस मेथडमार्फत ९ रनले जितेको थियो ।
नेपाल, अमेरिका र स्कटल्यान्डबीचको आइसिसी विश्वकप लिग–२ का खेलहरू मंगलबारदेखि सुरु हुनेछन् । नेपाल ‘ए’ ले अभ्यास श्रृंखलामा उत्कृष्ट प्रदर्शन गर्दै आत्मविश्वास बढाएको छ, जसले आगामी लिग–२ खेलहरूमा बलियो मनोबल दिने संकेत गरेको छ।