जिउँदो व्यक्तिको मृत्युदर्ता प्रकरण: पश्चिम नवलपरासीमा वडाध्यक्षसहित चार जना पक्राउ

पश्चिम नवलपरासी, वैशाख १५ – सुस्ता गाउँपालिका–५ मा जिउँदो व्यक्तिको मृत्युदर्ता गराइएको घटनामा वडाध्यक्ष प्रभुनाथ अहिर, वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जना पक्राउ परेका छन्।
जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि बुधबार उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तले जानकारी दिए।

यसअघि पनि नारायणी पारी सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारीलाई झुटा विवरण पेश गरी मृत्युदर्ता गराएको आरोपमा पक्राउ गरिएको थियो। अनुसन्धानमा अन्सारीले सोही वडाका ६६ वर्षीय ज्यूदाे छिमेकीलाई आफ्ना बुवा भन्दै मृत्युदर्ताका लागि निवेदन दिएको खुलेको छ। अन्सारीका वास्तविक बुवाको भने २०६० सालमै मृत्यु भइसकेको प्रहरीले पुष्टि गरेको छ।
मृत्युदर्ता प्रक्रियामा वडाध्यक्ष र सचिवको समेत मिलेमतो देखिएपछि उनीहरूलाई पक्राउ गरिएको हो। मृत्युदर्ता गरिएका व्यक्तिका छोराले गत वर्ष चैत्र महिनामा प्रहरीमा जाहेरी दिएपछि यो प्रकरण सार्वजनिक भएको हो। त्यसपछि मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मृत्युदर्ताको मुचुल्कामा साक्षी बसेका ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन्। तर साक्षीका रूपमा हस्ताक्षर गर्ने अन्य सात जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र रूपमा भइरहेको प्रहरीले जनाएको छ।