कास्कीमा १० घण्टे ‘स्विप अप्रेसन‘मा १२२ जना प्रहरी नियन्त्रणमा

उद्देश्य: लागूऔषध कारोबार तथा सेवन, टोले गुण्डागर्दी, मापसे गरी होहल्ला गर्ने गतिविधि नियन्त्रण
काठमाडाैं वैशाख १० – लागूऔषध कारोबार तथा सेवन, टोले गुण्डागर्दी, मापसे गरी होहल्ला गर्ने गतिविधि नियन्त्रणकाे सिलसिलामा जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको अप्रेसनमा १२२ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।
अप्रेसन वैशाख ९ गते राति ९ बजेदेखि १० गते बिहान ६ बजेसम्म पोखराका विभिन्न वडामा सञ्चालनमा करिब १०० जना प्रहरी परिचालन गरिएकाे थियाे ।
नियन्त्रणमा लिइएकामध्ये पोखरा–६ (लेकसाइड, ड्यामसाइड, गैराको चौतारा) बाट ३५ जना, वडा नं. ९ र १० (पृथ्वीचोक, रंगशाला, बुद्धचोक, अस्पतालचोक) बाट २० जना, वडा नं. १४ र १५ (एयरपोर्ट, फूलबारी, रामबजार) बाट १५ जना र वडा नं. २९ र ३० (भण्डारढिक, सैनिक बस्ती, पटनेरी) बाट १२ जना रहेका छन् ।
त्यस्तै अन्य स्थानहरू कसेरी, महेन्द्रपुल, लभ्लीडाँडा, बगालेटोल, तुलसीघाट, लामाचौर, चिसापानी, दिपाङताल, राजाचौतारा लगायतबाट पनि व्यक्तिहरू पक्राउ पर्दा माछापुच्छ्रे गाउँपालिकाबाट ३ जना र अन्नपूर्ण गाउँपालिका–१ नौ डाँडाबाट १ जना नियन्त्रणमा लिइएकाे स्राेतले जनाएकाे छ ।
समाजमा अशान्ति फैलाउने, लागूऔषध प्रयोग गर्ने, मापसे गरी होहल्ला गर्ने, ध्वनि प्रदूषण गर्ने गतिविधिमा संलग्न व्यक्तिमाथि कडा कारबाही हुने चेतावनीसहित प्रहरी प्रमुख नवीन कार्कीका अनुसार अप्रेशनलाई निरन्तरता दिइने बताइएकाे छ ।