
काठमाडाैं वैशाख ७ – अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुर सोमबार बिहान काठमाडौं आइपुगेका छन्।
भारतीय मूलका कपुरको यो नेपाल भ्रमणलाई कूटनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिएको छ। उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान करिब सवा ६ बजे अवतरण गरेका हुन्।
तीन दिने बसाइका क्रममा उनले नेपाल सरकारका उच्च अधिकारी तथा केही मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। बालेन शाह नेतृत्वको नयाँ सरकारसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित उनको भ्रमण भएको बताइएको छ।
गत वर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कपुरलाई दक्षिण एशिया मामिला हेर्ने सहायक विदेशमन्त्रीमा नियुक्त गरेका थिए। त्यसअघि उक्त जिम्मेवारी डोनाल्ड लुले सम्हाल्दै आएका थिए।
बालेन नेतृत्वको सरकार बनेपछि काठमाडौं आउने उनी सबैभन्दा वरिष्ठ अमेरिकी कूटनीतिज्ञ मानिएका छन्।