

नयाँ वर्ष २०८३ सालको पावन अवसरमा शैलुङ गाउँपालिका वडा नं. ८ स्थित पहरीखर्क निवासी समाजसेवी, गीतकार एवं उप्रेती समाजसेवा समितिका अध्यक्ष शोभित उप्रेतीको तत्वावधानमा काठमाडौंमा रहेका वज्राचार्य समूहद्वारा शैलुङस्थित भीमसेनकाे तरवारमा विधिसम्मत पूजाआजा गरिएको छ ।
भीमसेनको तरवारलाई सम्मानस्वरुप पूजाआजा वरिष्ठ कलाकार मदनदास श्रेष्ठको उपस्थितिमा, काठमाडौं हनुमान ढोका, बसन्तपुर क्षेत्रमा रहनुहुने मुलगुरु गौतमरत्न वज्राचार्यको आतिथ्यमा गुरु लिलेन्द्र वज्राचार्यले तान्त्रिक दीक्षा मन्त्रका साथ गरिए ।
सो पुण्य कार्यका लागि कालिमाटी निवासी नविन शाही, स्थानीय गायक तथा संगीतप्रेमी शान्तबहादुर शाक्य, लाजिम्पाट निवासी दोलखाली चेली कल्पना श्रेष्ठका. समन्वयमा सो कार्यक्रम सम्पन्न भए । जुन कार्यका लागि शैलुङ निवासी रुद्र थपलियाले यातायात र बसोबासको व्यवस्थापन गरेका थिए ।

के कस्ताे छ त भीमसेन तरवार ?
शैलुङमा रहेको सो तरवारको शीला अंकित पत्थरमा हिन्दु र बौद्ध धर्मालम्बी दुबैले पूजाआजा र प्रार्थना गर्दछन् ।
दोलखा जिल्लाको पर्यटकीय स्थल शैलुङ टाकुरा पुग्ने मध्यमार्गमा भीमसेनको दुईवटा तरवार अंकित एउटा फराकिलो चारकुने पत्थररूपी शीला रहेको छ । जुन शीला शताब्दीऔँदेखि रहेको स्थानीयहरू बताउँछन् । भीमसेनको तरवार रहेको भनिएको सो पत्थरमा एउटा तरवारको चुच्चो पूर्वतिर फर्किएको छ भने अर्को चुच्चो भने ‘पृथ्वीको नाइटो’ रहेको थुम्का र टावरतिर फर्किएको छ । दुबै तरवारको बींड एकआपसमा खप्टिएको छ भने तरवारको धार भने बाटोतर्फ फर्काइएको देखिन्छ ।

भीमसेनको तरवार रहेको पत्थरको बीचभागमा टुक्रिएको छेकबार (ढाल) अंकित रहेको छ भने छेउछेउमा पहाडको आकृति र गुराँसका फूलको चित्र अंकित देखिन्छ । जुनकुरा चर्चामा रहेकाे छैन । तरवार त्याे स्थलमा रहनुकाे अर्थ भीमसेन देवता र उनका सहयोगी सेना या पथप्रदर्शक मित्रले विभिन्न स्थानको विशेष यात्राको क्रममा आफ्नो हतियार गदासहितको तरवार र ढाल लिएर हिँडेको र प्रकृतिमय पहाडले घेरिएको शैलुङमा वनस्पति, फूलहरूको सौन्र्दयमा रमाउँदै सो तरवार त्यही छाडेर जाँदा समयको अन्तरालमा डोब बसेको हाे कि भन्ने अनुमान लगाउन सकिन्छ ।
दाेलखा भीमेश्वर र शैलुङकाे भीमसेन तरवारः
दोलखामा साक्षात् भीमसेन देवता रहेको छ । जहाँ भीमसेनकाे शीलारूपी विचित्रकाे काला पत्थर छ । न मूर्ति छ न मुखाकृतिकाे प्रारूप । गदा भीमसेनकाे हतियार हाे भन्ने ग्रन्थमा उल्लेख त छ तर उक्त शीलासंग जाेडिएकाे कुनै प्रतीक छैन । जे जति छन् सबै मानव निर्मित मन्दिर, खम्बा, ताेरण, नागपाश मात्र । भन्ने नै हाे भने त्याे स्थानमा स्वउत्पत्ति भएकाे अलाैकिक चमत्कारिक देवता हुन् दाेलखा भीमसेन । जुन देवतालाई अनेकौँ रूपको वर्णनात्मक व्याख्या गरिएकाे छ । जसमा शाश्वत सत्य यही हाे भन्न सहजता छैन ।

दोलखा भीमसेनलाई भीमेश्वरको नामले पुजिन्छ , विगत केही दशक पहिलेसम्म ‘एक शीला तीन रूप (अवतार)’को परिभाषामा चर्चित रहेको थियो । जसको अर्थ आदीअनादि महादेव, भगवती र वलवान भीमसेन हो । तर पछिल्लो समयमा आएर दोलखा भीमसेनको अनेकोँ रूप रहेको भन्दै ‘सहश्र अवतार’को नाम दिएर व्याख्यात्मक टीकाटिप्पणी हुन थालेको छ । जुन कुनै ग्रन्थ, पुरान र अभिलेखमा प्रष्ट्याएको पाइँदैन । तथापि दोलखाका इतिहास तथा साँस्कृतिक अभियन्ता शान्तकृष्ण श्रेष्ठज्यूले दोलखा भीमसेनका अनेकन् प्रारूपबारेमा खोजमूलक कार्य अपनाउनु भएको छ । जसले दोलखा देखि थाइलैण्ड, भुटान, भारत र चीनसम्म भीमसेनको सम्बन्ध रहेको प्रमाणित गर्ने मार्ग खुल्नेमा आशा गरौँ ।
दोलखा भीमसेनको कुरा गर्नुपर्दा महाभारतमा उल्लेखित पाँचपाण्डवसंगको सम्बन्ध, रामायणमा भीमसेनको हनुमानसंगको सम्बन्ध, भारतको कर्णाटकमा रहेको बार्बरिकसंगको सम्बन्ध जस्तै चीन, बर्मा, थाइलैण्ड, बङ्गलादेश जस्तो ठाउँमा भीमसेनको सम्बन्ध रहेको कुरा पुष्टि भएमा दोलखाको भविष्य पक्कै पनि सुनौलो हुनेछ नै ।
उपसंहारः शैलुङमा भीमसेनको तरवार रहेको स्थानमात्र नभएर कालापानी कुवा, शैलुङे भर्याङ (ग्रेट वाल) डाँफे गुफा, महादेव गुफा, गोदावरी फुल्ने गुफा, धर्मद्वार, बुद्धको पाइलो, शैलुङेश्वर महादेव, गङ्गटो ढुङ्गा, बाघ ढुंगा, गाई ढुंगा लगायत बुद्धका अस्थायी बिहार, चैत्य र स्तुपा र अनेकन् थुम्काहरू रहेका छन् ।
हिउँ पर्ने बेलामा पूरै हिमाल जस्तै देखिने यो स्थलमा अनेक रंगका चिमाल, गुराँस, सुनगाभा, सुनाखरी फूलहरू र विविध जातिका सल्लाका वृक्षले भरिएको देखिन्छ । पुर्व–दक्षिण मोहडादेखि पश्चिमसम्म फैलिएको हिमशृंखला देखिने यो पर्वत दोलखाको स्वर्ग भन्दा फरक नपर्ला ।