Headlineसमाचार

सर्वोच्च अदालतमा नेपाली कांग्रेसबारे बहस

वि.सं. २०८३ बैशाख ४ गते – ने.सं. ११४६ चाैलागाक औँसी तिथि बिहिबार – १७ अप्रिल २०२६

काठमाडाैं – सर्वोच्च अदालतमा आज नेपाली कांग्रेसको आधिकारिकता विवाद र महाधिवेशन स्थगनसम्बन्धी दुवै रिटमाथि सुनुवाइ भइरहेकाे छ।

न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा देउवा पक्षको बहस सकिएपछि विपक्षी पक्षका कानुन व्यवसायीले जवाफ दिनेछन्।

निर्वाचन आयोगले माघ २ गते विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिएको थियो। त्यसपछि शेरबहादुर देउवा पक्षले उक्त निर्णय संविधान, प्रचलित कानुन र पार्टी विधान विपरीत भएको भन्दै रिट दायर गरेको हो।

देउवा पक्षले १५औं महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न माग गर्दै अर्को रिट पनि दायर गरेको छ। न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाकाे संयुक्त इजलासमा रिट निवेदक तर्फको बहस जारी छ त्यसपछि विपक्षी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन्।

बिहीबार बहस नसकिएपछि रिट हेर्दाहेर्दैमा राखिएको थियो, आज पुनः सुनुवाइ भइरहेको छ। सर्वोच्चले सुरुमा अन्तरिम आदेश दिन अस्वीकार गरी विपक्षी पक्षलाई कारण देखाउ आदेश गरेको थियो। विपक्षी पक्षको लिखित जवाफ सर्वोच्चमा पुगेको छ ।आजको सुनुवाइपछि अदालतले अन्तरिम आदेश वा निर्णयको दिशा तय गर्ने सम्भावना छ।

यदि देउवा पक्षको माग मानिएमा गगन थापा नेतृत्वको कांग्रेसको कार्यतालिका रोकिने सम्भावना छ। तर अदालतले आयोगको निर्णयलाई यथावत राखेमा थापा नेतृत्वले महाधिवेशन तयारी अघि बढाउने अधिकार कायम रहनेछ। यस विवादले कांग्रेस भित्रको संस्थापन र सुधारवादी धारबीचको शक्ति सन्तुलनमा दीर्घकालीन प्रभाव पार्ने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button