चैत ६ गते २०८२ – ने.सं. ११४६ चाैलाथ्वक पारू (परेवा) तिथि शुक्रबार
प्रधानमन्त्री कार्कीको धन्यवाद कार्यक्रमः
जनकपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सफल बनाउन योगदान पुर्याउने सुरक्षा निकाय, कर्मचारी र मतदातालाई धन्यवाद दिइन्। उनले कठिन परिस्थितिमा पनि शान्तिपूर्ण निर्वाचन सम्पन्न भएकोमा गर्व व्यक्त गरिन्। सुरक्षा अधिकारीहरूले पनि यस्तो नेतृत्वसँग काम गर्न पाउनु गर्वको विषय भएको बताए।
नवनिर्वाचित सांसदहरूको शपथः
चैत १२ गते दिउँसो २ बजे संघीय संसद भवनमा शपथ हुने भएको छ। सांसदहरूलाई प्रमाणपत्र, नागरिकता प्रतिलिपि, फोटो सहित उपस्थित हुन आग्रह गरिएको छ। मातृभाषामा शपथ लिन चाहनेले अनुवाद तीन दिन अगावै बुझाउनुपर्नेछ।
रास्वपामा बालेन संसदीय दलको नेताः
रास्वपाले सर्वसम्मत सहमतिमा बालेन्द्र शाह (बालेन) लाई संसदीय दलको नेता चयन गरेको छ। अनुमोदनका लागि १२ गते बैठक बस्नेछ। चैत्र १३ गते प्रधानमन्त्रीको रूपमा शपथ लिने तयारी भएको छ।
नेपाली कांग्रेसको समीक्षा बैठकः
प्रतिनिधिसभा निर्वाचनमा पराजयपछि नेपाली कांग्रेसले सानेपामा केन्द्रीय समिति बैठक बसेर समीक्षा सुरु गरेको छ। उपसभापति विश्वप्रकाश शर्माले २७ बुँदे प्रतिवेदन पेश गर्दै चरम गुटबन्दी, वितृष्णा र जायज आवाजलाई बेवास्ता गर्नु पराजयको प्रमुख कारण भएको बताए। सभापति गगन थापाको राजीनामा अस्वीकृत गरिएको छ। सदस्यहरूले तत्कालीन कांग्रेस–एमाले गठबन्धन सरकारलाई पनि हारको कारण भनेका छन्। शर्माले नयाँ नेतृत्व आएको छोटो अवधिमा दिग्विजय अपेक्षा गर्नु अन्याय हुने बताए। बैठक आइतबार पुनः बस्ने तय भएको छ।
नारायणघाट–बुटवल सडकमा रोकः
दुम्कीबास–दाउन्ने–बर्दघाट सडक खण्डमा भारी वर्षाका कारण चिप्लो भई ठूला मालवाहक सवारी तीन दिन राति रोक लगाइएको छ। बेलुकी ७ बजे देखि बिहान ५ बजेसम्म ठूला ट्रकहरूलाई रोक्ने निर्णय गरिएको हो। यात्रुबहाक र आकस्मिक सवारीलाई प्राथमिकता दिइनेछ। आयोजनाले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। मर्मत सम्भार जारी रहेको सूचनामा उल्लेख छ।
एनआरएनए नेतृत्वको शिष्टाचार भेटः
नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए) टोलीले परराष्ट्र मन्त्री बालानन्द शर्मासँग भेट गरेको छ। भेटमा विश्वभरका नेपाली हितमा सहकार्य सुदृढ गर्ने छलफल भयो। मध्यपूर्वमा रहेका २० लाखभन्दा बढी श्रमिकको अवस्थाबारे सरकारलाई गम्भीर हुन आग्रह गरियो। एनआरएनएले संकटमा परेका नेपालीका लागि राहत कार्यक्रम अघि बढाएको जानकारी पनि दिएको छ।