
समय-सन्दर्भः
प्रथम महिला प्रधानन्यायाधीश तथा प्रधानमन्त्री सुशीला कार्कीको गम्भीर स्वभावयुक्त कदमले नेपालमा एक नयाँ राजनीतिक कायापलटको अध्याय सुरु भएको छ। आम जनमानसको मनमा बस्न सक्षम हुनुभएकी कार्कीले अनेकन बाधा र अड्चनका बाबजुद पनि अलिकति विचलित नभई जुन सराहनीय कदम चाल्नुभयाे, त्यो सायद अवर्णनीय छ। अतिरक्त जेनजी समूहको एकतर्फी अनावश्यक घेराबन्दी, धम्की, चेतावनीबाट हरेश नखाइकन निर्वाचन सम्पन्न गराउनु चानचुने कदम होइन, यो नेपालको लोकतान्त्रिक यात्रामा ऐतिहासिक मोड हो।

हालैको निर्वाचनमा रास्वपाले अप्रत्याशित रूपमा दुई–तिहाइ बहुमत हासिल गर्नु नेपाली राजनीतिमा अर्काे ऐतिहासिक मोड हो। यो परिणामले पुराना दलहरूको असफलता मात्र होइन, जनतामा नयाँ राजनीतिक संस्कृतिको चाहना स्पष्ट देखाएको छ। सुशीला कार्कीको नेतृत्वमा रहेकाे सरकारद्वारा सम्पन्न भएकाे निर्वाचनमा रास्वपाले दुई–तिहाइ बहुमत हासिल गरेर जनतामा पारदर्शिता, न्याय र सुशासनको आशा जगाएको छ।
रास्वपाको उदय र सुशीला कार्कीको नेतृत्वः
सुशीला कार्की, पूर्वप्रधानन्यायाधीशको रूपमा, न्यायिक सुधार र निडर निर्णयका लागि चर्चित व्यक्तित्व हुन्। उहाँले न्यायालयमा रहँदा भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्नुभएको थियो, जसले उहाँलाई “सक्षम र निर्भीक” नेताको छवि दिलायो। राजनीतिक यात्राकाे नेतृत्वमा प्रवेश गर्दा उहाँले पारदर्शिता, न्याय र सुशासनको आशा जगाउनुभयो।
२०८२ साल फागुन २१ काे निर्वाचनमा रास्वपाको सफलता केवल घोषणापत्र वा नीतिगत आकर्षण मात्र होइन, पुराना दलहरूको असफलताबाट जन्मिएको जनआक्रोशको परिणाम हो भन्दा फरक नपर्ला । युवाहरूले पुराना दलहरूको अवसरवाद र पदोलुप संस्कृतिबाट निराश भएर नयाँ दललाई समर्थन गर्नु नेपाली राजनीतिकाे अर्काे पाटाे हाे । प्रविधिसंग प्रत्यक्ष जानकारी भएकाे सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले पनि रास्वपालाई जनतासम्म पुर्याएकाे हाे भन्नुमा अनुपयुक्त नहाेला।
रास्वपामा लाेकप्रिय बन्दै गएका सभापति रवि लामिछाने र उहाँकै आग्रहमा वरिष्ठ नेता बन्न पुगेका काठमाडाैं महानगरका पूर्व नगरप्रमुख बालेन्द्र साहले यस निर्वचनमा जुन सफलता प्राप्त गरे त्यसकाे श्रेय जनता जनार्दनमा जान्छ । अब रास्वपाले देशमा भएका भ्रष्टाचार नियन्त्रण, उत्तरदायित्व, नागरिकमैत्री सेवा, र संगठनात्मक पारदर्शितामा ठोस कदम चाल्नुपर्नेछ। अवसर ठूलो छ, तर स्रोत अभाव, उच्च जनअपेक्षा, विपक्षी अवरोध, र संगठनात्मक कमजोरी चुनौतीका रूपमा उभिएकाे छ।
किन पुराना दलहरू पतन भए त
नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूकाे पदोन्मुखता, पदोलुपता, र पुस्तान्तरणमा कञ्जुस्याइ नै ती दलहरूकाे पतनको प्रमुख कारण बने। ती नेताहरूले युवालाई नेतृत्वमा ल्याउन अमान्य ठानेर समन्वयमा असफल हुँदा जनतामा निराशा बढ्यो र फागुन २१ गते उनीहरूका लागि अभिशाप बन्न पुग्याे र सामान्य दलमा खुम्चिन पुग्याे ।
नेकपा एमालेमा व्यक्ति र पार्टीबीचमा मतभिन्नता, संगठनात्मक कमजोरी, र नेताहरूबीच विश्वासको कमीले पार्टी कमजोर बन्नेछ भन्ने कुरामा ख्याल नहुनु, एकल निर्णय, मनगढन्ते अभिव्यक्ति, अशाेभनीय तर्कबाट आजित भएका नागरिकहरूले त्यसलाई मान्यता दिन चाहेनन् र परिणाम उल्टाइदिए ।
नेकपा (पूर्व माओवादी केन्द्र सहितकाे विभिन्न कम्युनिष्ट पार्टी सम्मिलित) भित्रकाे विचारधारात्मक असंगति, सत्ता–साझेदारीमा निर्भरता, र स्थायी संगठनात्मक आधार बनाउन असफलताले पनि रास्वपाप्रति जनमत बढेकाे देखिन्छ । त्यस्तै हिन्दु धर्म, संस्कृति, राजसत्ता र संघीयता हटाउने गतिविधिमा अग्रसर हुन चाहने राप्रपामा स्पष्ट नीति र दृष्टिकोणको अभाव, आन्तरिक कलह, र नेतृत्व विवादले यी दलहरू कमजोर बनेर नै पछि परेका हुन् । पुराना दलका नेताहरूले जनअपेक्षालाई सम्बोधन गर्नुभन्दा व्यक्तिगत महत्वाकांक्षा र सत्ता–साझेदारीमा ध्यान दिए। जनताले नेताहरूलाई “खेलाडी” मात्र ठाने। जसकाे फलस्वरुप उनीहरू शून्य नतिजामा पुगेका हुन् ।
जनमतको मनोविज्ञानः
जनताले पुराना दलहरूको असफलता देख्दा “नयाँ विकल्प” खोज्ने मानसिकता विकास गर्यो। भ्रष्टाचार, असमानता, बेरोजगारी, र राजनीतिक अस्थिरताले जनतामा निराशा बढायो। युवाहरूले नयाँ दललाई परिवर्तनको प्रतीकका रूपमा देखे। सामाजिक सञ्जालमार्फत युवाले आफ्नो आवाजलाई सशक्त बनाए। यसले रास्वपाको उदयलाई सहज बनायो। जनमतको मनोविज्ञानले देखाउँछ कि नागरिकले केवल दल परिवर्तन होइन, राजनीतिक संस्कृतिको रूपान्तरण चाहन्छन्।
रास्वपाका लागि अवसर र चुनौती
अब नयाँ राजनीतिक संस्कृतिको सुरुवात भएकाे छ । जनविश्वास पुनःस्थापना गर्ने अवसर प्राप्त भएकाे छ । सुशासनको अभ्यासका लागि सर्वसाधारणका साथै युवाको समर्थन मिलेकाे छ । तथापि ती सबै पार लगाउन चुनाेती पनि त्यत्तिकै छ । जस्ताे कि आर्थिक तथा जनस्रोत अभाव छ । जनअपेक्षा उच्च छ । विपक्षी दलहरूको अवरोध सिर्जना हुने मार्गहरू छन् । केही गरी संगठनात्मक कमजोरी भयाे भने रास्वपाका लागि राज्यसत्ता सञ्चालनमा कठिनाइ उन्पन्न हुनेछ । रास्वपाले अवसरलाई सदुपयोग गर्न सके नयाँ राजनीतिक संस्कृतिको सुरुवात सम्भव छ। तर चुनौतीलाई सम्बोधन गर्न असफल भए पुराना दलहरूको जस्तै जनविश्वास गुम्ने खतरा रहन्छ।
निष्कर्ष
नेपालको हालको राजनीतिक परिदृश्यले स्पष्ट देखाएको छ कि जनताले पुराना दलहरूको असफलताबाट निराश भएर नयाँ विकल्प रोजेका छन्। रास्वपाको उदयले जनतामा पारदर्शिता, न्याय र सुशासनको आशा जगाएको छ। जनमतको मनोविज्ञानले देखाउँछ कि नागरिकले केवल दल परिवर्तन होइन, राजनीतिक संस्कृतिको रूपान्तरण चाहन्छन्। दुई–तिहाइ बहुमतले ल्याएको जिम्मेवारी अझै ठूलो छ- भ्रष्टाचार नियन्त्रण, स्वास्थ्य सुधार, रोजगारी सिर्जना, र पारदर्शी शासन। अवसर र चुनौती दुवैलाई सन्तुलनमा राख्दै रास्वपाले ठोस सुधार गर्न सके नेपालको राजनीतिक भविष्य नयाँ दिशामा अघि बढ्नेछ। तर असफल भए जनविश्वास गुम्ने खतरा रहन्छ।
अन्तमा अबकाे जनतालाई पैसाकाे थैली देखएर, जागीरकाे प्रलाेभन देखाएर, असम्भव याेजनाकाे सपना जताएर पार्टी र राजनीति जाेगिन्छ भनेर नसाेच्दा हुन्छ । किनकि यसकाे मुल प्रभाव पैसा नै जनमत नभएको निर्वाचन २०८२को परिणामले देखाएकाे छ । अर्थात्, जनताको सचेत निर्णयले पैसाभन्दा जनमतको विजय सुनिश्चित गरेकाे छ ।